Logo
Logo

नयाँ ट्यारिफमा अमेरिकालाई क्यानडाको काउन्टर


0
Shares

काठमाडौं । अमेरिका र क्यानडाबीच व्यापार सम्झौता गर्ने अन्तिम प्रयास असफल भएपछि दुई छिमेकी मुलुकबीचको व्यापार विवाद थप चर्किएको छ । वार्ता असफल भएलगत्तै अमेरिकाले क्यानडाबाट आयात हुने करिब २० अर्ब डलर बराबरका वस्तुमा ५० प्रतिशत नयाँ ट्यारिफ लागू गरेको छ, जुन क्यानडाको कुल निर्यातको करिब ५ प्रतिशत हो । जवाफमा क्यानडाले सेप्टेम्बर ८ देखि जवाफी कर लगाउने घोषणा गरेको छ ।

क्यानडेली प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी कदमलाई ‘गलत’ भन्दै यसले क्यानडालाई आर्थिक रूपमा कमजोर र विभाजित बनाउने उद्देश्य राखेको आरोप लगाएका छन् । दुई देशबीच ‘व्यापार युद्धको अवस्था’ सिर्जना भएको उनको भनाइ छ । स्टिल, इलेक्ट्रोनिक्स, डेरी उत्पादन र घरेलु उपकरणजस्ता अमेरिकी सामानमा क्यानडाले जवाफी कर लगाउने बताइएको छ ।

नयाँ ट्यारिफले मदिरा, डेरी, सिमेन्ट, कपडालगायतका उत्पादनलाई असर गर्ने भए पनि ऊर्जा, पोटास र माछा भने यसबाट बाहिर राखिएका छन् । क्यानडाले अमेरिकाले अन्तिम समयमा अनुचित सर्त राखेको आरोप लगाउँदा अमेरिकाले भने क्यानडाले भेदभाव गरेको दाबी गर्दै आफ्नो कदमको बचाउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्