काठमाडौं । जेनजी आन्दोलनपछि काठमाडौँ लगायतका विभिन्न ठाउँबाट संकलित कवाडीका सामानहरु विना रोकटोक सीमापार तस्करी भएका छन् । मधेश प्रदेशका विभिन्न जिल्ला र नाकाहरुबाट राजश्व छली गरी भन्सार नाका छलेर कवाडीका सामानहरु तस्करी हुन थालेका हुन् । मधेश प्रदेशमा रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीकै मिलेमतोमा कवाडीका सामानहरु तस्करी गराइएको स्रोतले जनाएको छ । पर्सा, धनुषा, बारा, रौतहट, महोत्तरी र सर्लाहीका विभिन्न सीमावर्ती नाकाबाट हुने गरेको कवाडी तस्करीले पछिल्लो समय नयाँ रूप लिइरहेको स्थानीयले बताएका छन् ।

भारतबाट भन्सार छलेर नेपाल ल्याइने दैनिक उपभोग्य वस्तुदेखि नेपालबाट भारततर्फ जाने कबाडीजन्य सामग्री तथा लागुऔषधसम्मको अवैध कारोबारमा सीमा क्षेत्रमा खटिएका विभिन्न सुरक्षा तथा राजश्व निकायको भूमिकामाथि प्रश्न उठ्न थालेको छ । जेनजी आन्दोलनपछि निर्वाचित सरकारले सर्वसाधरणलाई १ सय रुपैयाँ भन्दा बढीका सामानहरु ल्याउन नपाइने नीति लिएपनि तस्करहरुले भने सुरक्षाकर्मीहरुको मिलेमतोमा कवाडीका सामानहरु भारततर्फ निकासी गरिरहेका स्रोतले जनाएको छ ।
स्रोतका अनुसार महोत्तरीका सीमावर्ती नाकाबाट भारततर्फ कबाडीजन्य सामग्री, चाइनिज स्याउ, खरबुजाको बीउ लगायतका वस्तु अवैध रूपमा निकासी हुने गरेको छ । पर्सा, बारा र सर्लाहीबाट पनि यसैगरी विभिन्न नाकाहरुबाट तस्करी हुने गरेको छ । त्यस्तै उदयपुर, सिन्धुली, खोटाङ, रामेछापलगायत पहाडी जिल्लाबाट बारा, पर्सा पुग्ने र सर्लाही रौतहट महोत्तरी हुँदै आउने अवैध गाँजा र अफिमजस्ता लागुऔषध भारततर्फ पुरÞ्याउने सञ्जाल समेत सक्रिय रहेको स्रोतले जनाएको छ । प्रहरीसँग लाइन नमिलेर बेला बेला प्रहरी र सशस्त्र प्रहरीले पक्राउ गर्ने तथ्याङ बाहिर आएपनि नेपाल प्रहरी भने यसको हिस्सेदार बनिरहेको स्रोतले जनाएको छ ।
उता भारतबाट चकलेट, बिस्कुट, कस्मेटिक सामग्री, किराना सामान, चामल, दाल, तेल, कपडा, हार्डवेयर तथा मोटर्स पाट्र्स लगायतका सामान भन्सार प्रक्रिया पूरा नगरी नेपाल ल्याउने गरिएको छ । मधेश प्रदेशका सीमावर्ती क्षेत्र केवल सामान ओसारपसार हुने मार्ग मात्र नभई दुई देशबिचको अवैध कारोबारस्थल भएको स्थानीयको भनाइ छ ।
सीमावर्ती क्षेत्रबाट हुने तस्करीमा एकातर्फ नेपालबाट बाहिरिने वस्तु छन् भने अर्कोतर्फ भारतबाट नेपाल भित्रिने सामान छन् । भन्सार छलेर नेपाल भित्रिने कपडा, किराना तथा उपभोग्य वस्तु स्थानीय बजारदेखि काठमाडौंसम्म पुग्ने गरेका छन् भने नेपालबाट संकलित कबाडीजन्य सामग्री सीमापार जाने गरेका छन् । यस्तै चीनबाट आयात हुने स्याउ, लसुन र तेस्रो देशबाट भन्सार तिरेर भित्रिने खरबुजाको बिउ भारततर्फ तस्करी हुने गरेका छन् । नेपालका विभिन्न जिल्लाबाट महोत्तरी हुँदै भारततर्फ लागुऔषध पुरÞ्याउने सम्भावित रुटबारे समेत सुरक्षा निकायकै सेटिङमा भारततर्फ निकासी हुने गरेको स्रोतको दाबी छ ।
मधेश प्रदेशका सीमामा नेपाल प्रहरीका सीमा चौकी, सशस्त्र प्रहरीका बीओपी, भन्सार कार्यालय तथा अन्य सम्बन्धित निकायको उपस्थिति भएपनि उनीहरुको भूमिकाबारे प्रश्न उठ्न थालेको छ । तस्करी नियन्त्रणमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका एसपीदेखि बीओपीमा कार्यरत अधिकारी, भन्सारका कर्मचारी, प्रहरीका सीमा चौकीका इन्चार्ज र घुमुवा प्रहरीसम्मको भूमिकामाथि प्रश्न उठाइएकाले गृह मन्त्रालयले समेत यो विषयमा चासो राखेको स्रोतले जनाएको छ । पछिल्लो समय मोटरसाइकलमार्फत् सानो–सानो परिमाणमा कपडा तथा अन्य सामान ओसारपसार गर्ने क्रम बढेका सन्दर्भमा दुवै प्रहरी मौन रहेको स्रोतको दाबी छ ।
प्रहरीलाई सूचना दिँदा पनि सेटिङमा चलेका सामानमाथि कारबाही नहुने तर सर्वसाधारणले व्यक्तिगत प्रयोजनका लागि ल्याउने दुईचार किलो चिनी, चामल जस्ता दैनिक उपभोग्य सामान भने तत्काल नियन्त्रणमा लिने गरिएको छ । भबिचन महतो उर्फ कालिया, बीरगञ्जका मदन गुप्ता उर्फ मदन रुन्चे, उनका छोरा मुकेश गुप्ता, बीरगञ्जकै रामेश्वर तिवारी, मदन रुन्चेका सदावहार पार्टनर मनोज कुमार साह कानु, ओजिर मियाँ र विष्णु भरियाले भिट्टामोड नाकाबाट भन्सार सेटिङमा ल्याउने अवैध सामान भने प्रहरीले नियन्त्रणमा नलिएको आरोप लागेको छ । यसअघि पनि घुमुवा प्रहरी परिचालन र प्रहरीको कार्यशैलीलाई लिएर पटक पटक विवाद हुने गरेको थियो ।













