
काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगर र नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापाले प्रतिनिधि सभा बैठकमा राखेका शब्दहरु संसदको अभिलेखबाट हटाइएको छ ।
प्रतिनिधि सभाको सोमवारको बैठकमा सभामुख डोलप्रसाद अर्यालले सांसद रानाले बोलेका ३ र नेता थापाले प्रयोग गरेका ४ अमर्यादित शब्दहरु अभिलेखबाट हटाउन निर्देशन दिएसँगै संसद सचिवालयको रेकर्डबाट हटाइएको हो ।
सभामुख अर्यालले भदौ १ गतेको सभाको बैठकमा इन्दिरा राना मगरले बोल्ने क्रममा प्रयोग गरेका ‘भालु’, ‘वेश्या’ र ‘साइबर सेना’ भन्ने अमर्यादित तथा अनावश्यक शब्दहरु संसदको रेकर्डबाट हटाउन निर्देशन दिए । साथै भदौ ३ गते एमाले संसदीय दलका नेता थापाले प्रयोग गरेका ‘नागरिकहरुको बली’, ‘पाकिस्तानी मोडल, ‘नर्थ कोरिया मोडल’ र ‘अमेरिका’ भन्ने शब्दहरु अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिएका हुन् ।
उनले भने, ‘मिति २०८१ भदौ १ गतेको बैठकमा इन्दिरा राना मगरले बोल्ने क्रममा प्रयोग गर्नुभएका ‘भालु’, ‘वेश्या’ र ‘साइबर सेना’ भन्ने अमर्यादित तथा अनावश्यक शब्दहरु एवं मिति २०८३ भदौ ३ गतेको बैठकमा माननीय सदस्य रामबहादुर थापाले प्रयोग गर्नुभएका ‘नागरिकहरुको बली’, ‘पाकिस्तानी मोडल, ‘नर्थ कोरिया मोडल’ र ‘अमेरिका’ भन्ने शब्दहरु अभिलेखबाट हटाउन सचिवालयलाई निर्देश गर्दछु ।’
सभामुख अर्यालले छिमेकी मित्रराष्ट्रको शासकीय अभ्यासको विषयहरुलाई गलत अर्थ लाग्नेगरी नोपलको शासकीय अभ्यासको सन्दर्भसँग जोडेर उल्लेख नगर्न समेत सांसदहरुको ध्यानाकर्षण गराए ।













