Logo
Logo

चार विधेयक संसदीय समितिमा पठाइए


0
Shares

काठमाडौं । प्रतिनिधि सभाले चार विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित संसदीय समितिमा पठाएको छ । सोमबार बसेको प्रतिनिधि सभाको बैठकले विधेयकमाथि प्राप्त संशोधन र सैद्धान्तिक छलफलपछि दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको हो ।

बैठकमा प्रधानमन्त्री वालेन शाहको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको सर्त र सुविधा सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

त्यस्तै, परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि समितिमा पठाउन गरेको प्रस्ताव पनि बैठकले स्वीकृत गरेको छ । महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा सामाजिक सुरक्षामन्त्री सीता वादीले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनेर प्रस्ताव प्रस्तुत गरेकी थिइन्।

यसैगरी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गरेकी थिइन्। चारै प्रस्तावलाई प्रतिनिधि सभाको बैठकले स्वीकृत गरेको हो । अब चार वटै विधेयकमाथि सम्बन्धि समितिमा दफावार छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्