काठमाडौँ। तिब्बत क्षेत्रबाट रसुवा हुँदै आएको भीषण बाढीले त्रिशूली नदी तटीय क्षेत्रमा रहेका ३०० मेगावाटभन्दा बढी क्षमताका जलविद्युत् आयोजनाहरूमा ठूलो क्षति पुर्याएको ऊर्जा मन्त्रालयको प्रारम्भिक अनुमान छ। यस बाढीबाट निर्माणाधीन र सञ्चालनमा रहेका दुवै प्रकारका आयोजनाहरू प्रभावित भएका छन्।

प्रारम्भिक आकलन अनुसार प्रभावित जलविद्युत् आयोजनाका विद्युत्गृह (पावरहाउस) र सबस्टेसनहरू ध्वस्त भएका छन्। मन्त्रालयका अनुसार रसुवागढी (१११ मेगावाट), चिलिमे (२२ मेगावाट), त्रिशूली ३ ए (६० मेगावाट), त्रिशूली ३ बी (३७ मेगावाट), मैलुङ (१४ मेगावाट) र त्रिशूली-बेनीघाट (३५ मेगावाट) आयोजनाहरूमा क्षति पुगेको छ।
यसैगरी, बाढीले ५७ मेगावाटका माथिल्लो (अप्पर) साञ्जेन र साञ्जेन जलविद्युत् आयोजनामा समेत गम्भीर क्षति पुर्याएको मन्त्रालयले जनाएको छ।














