काठमाडौं । रसुवाबाट आएको बाढीका कारण धादिङको त्रिशूली नदी र अन्य खोला किनारका बस्तीहरू जोखिममा परेपछि प्रशासनले धमाधम सुरक्षित स्थानमा सार्न थालेको छ । बाढी गल्छी क्षेत्रसम्म आइपुगेकाले तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई सुरक्षित ठाउँमा लैजाने कामलाई तीव्र पारिएको हो ।

धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमका अनुसार बाढीले गल्छीमा एउटा झोलुङ्गे पुल बगाइसकेको छ । बाढीको सतह निरन्तर बढ्दै गएकाले मलेखु र गल्छी क्षेत्रका खोला किनारमा रहेका बस्तीहरूलाई प्राथमिकताका साथ खाली गराउन थालिएको छ । मानवीय क्षति हुन नदिन सुरक्षा निकायका सबै टोलीहरू फिल्डमै खटिएका छन् ।
बाढीको जोखिम बढेपछि पृथ्वी राजमार्गमा गुड्ने सवारी साधनहरूलाई पनि सुरक्षित स्थानमा होल्ड गरिएको छ । राजमार्गमा हुन सक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै गाडीहरूलाई अगाडि बढ्न रोक लगाइएको प्रशासनले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी गौतमले सुरक्षा निकाय र विपद् व्यवस्थापनको टोली उच्च सतर्कताका साथ खोला किनारमै परिचालन भएको बताएकी छिन् । स्थानीय पालिकाहरूसँग समन्वय गरी जोखिममा रहेका मानिसहरूलाई सुरक्षित स्थानमा पुर्याउने कार्य भइरहेको छ । अहिलेको मुख्य प्राथमिकता नागरिकको ज्यान जोगाउनु रहेकोले प्रशासनले उच्च सतर्कता अपनाएको छ ।














