काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी नदीमा ठूलो बाढी आएका कारण भोटेकोशी, त्रिशूली र नारायणी नदीका किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

रसुवा, धादिङ, नुवाकोट, गोरखा, चितवन र तनहुँ जिल्लाका नदी किनारमा बसोबास गर्ने परिवारलाई सुरक्षित स्थानमा जान तथा उद्धारका लागि टोल फ्रि नम्बर १००, १२३४ र १११४ मा सम्पर्क गर्न भनिएको छ ।
साथै, पृथ्वी राजमार्ग, गल्छी-नुवाकोट-रसुवा-स्याफ्रुबेसी सडक र मुग्लिङ-नारायणगढ सडकमा यात्रा नगर्न र त्यहाँ पूर्ण रूपमा आवतजावत रोक लगाउन स्थानीय तह र प्रशासनलाई अनुरोध गरिएको छ। प्राधिकरणले विपद्पछि खोज, उद्धार तथा राहत कार्यमा सहयोग गर्न सबैलाई अपिल गरेको छ ।














