काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकमा आइपरेको प्राकृतिक विपद् सामना गर्न सरकारसँग स्रोत र साधनको अभाव नहुने प्रतिबद्धता व्यक्त गरेका छन् । बिहीबार सिंहदरबारमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँगको बैठकपछि उनले तत्काल उद्धार, राहत तथा दीर्घकालीन पुनर्निर्माणका लागि आन्तरिक र बाह्य बजेट सुनिश्चित भएको जानकारी दिए ।

राष्ट्रिय सङ्कटमा सबै दल एकजुट हुनु नेपाली राजनीतिको सकारात्मक पक्ष भएको उल्लेख गर्दै उनले सरकार, दल, नागरिक समाज र निजी क्षेत्र एकीकृत रूपमा अघि बढ्नुपर्नेमा जोड दिए । घटनालगत्तै विश्व बैंकसँगको समन्वयमा करिब २५ अर्ब रुपैयाँ आर्थिक सहायता सुनिश्चित भएको छ ।
चीन, भारत, जापान, एसियाली विकास बैङ्क र रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घबाट पनि सहयोगको प्रतिबद्धता आएको छ । चालु आर्थिक वर्षको बजेटमा विपद् व्यवस्थापनका लागि १० अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ अर्ब ३४ करोड र गृह मन्त्रालयको कोषमा १ अर्ब १७ करोड सुरक्षित रहेकाले तत्काल राहतमा कमी नहुने उनले स्पष्ट पारे ।















