Logo
Logo

‘आपत्कालीन समन्वय केन्द्र’ ले विपद् व्यवस्थापन तथा उद्धारमा कसरी काम गर्दैछ ?


126
Shares

काठमाडौं । भदौ १० गतेको भोटेकोशी बाढी र त्यसपछिको विपद्का घटनालाई दृष्टिगत गर्दै नेपाल प्रहरीले प्रधान कार्यालयमा ‘आपत्कालीन समन्वय केन्द्र’ स्थापना गरी कार्य शुरु गरिरहेको छ । 

The current image has no alternative text. The file name is: nepal-police-1.jpg

प्रहरी महानिरीक्षकको प्रत्यक्ष निर्देशनमा स्थापित यस केन्द्रको नेतृत्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) सुदर्शनप्रसाद कोइरालाले गरिरहनुभएको छ । नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक अविनारायण काफ्लेकाअनुसार यस केन्द्रले विपद्का घटनामा परेका व्यक्तिको खोजतलास, शव व्यवस्थापन र उद्धार कार्यमा अन्तर निकाय समन्वयको मुख्य भूमिका निर्वाह गरिरहेको छ । केन्द्रमा विभिन्न डेस्कहरू स्थापना गरी अस्पतालहरूमा संकलन भएका शवहरूको विवरण, तस्बिर तथा भिडियो संकलन गर्ने र पीडित पक्षसँग समन्वय गरी पहिचान खुलाउने कार्य भइरहेको छ । 

प्रवक्ता काफ्लेकाअनुसार केन्द्रले देशभरबाट बेपत्ता भएका व्यक्तिहरूको विवरण संकलन गरी त्यसको व्यवस्थित ‘डकुमेन्टेसन’ गरिरहेको छ। सङ्कलित फोटो तथा भिडियोहरूलाई बेपत्ता व्यक्तिको विवरणसँग भिडान (म्याचिङ) गरी पहिचान गर्ने कार्यलाई प्राथमिकता दिइएको छ । उद्धार कार्यका लागि मेडिकल असिस्टेन्स र आवश्यक जनशक्ति परिचालनमा समेत यसै केन्द्रबाट समन्वय भइरहेको छ । 

अन्तर्राष्ट्रिय विमानस्थलमा समेत प्रहरी उपरीक्षक (एसपी) को नेतृत्वमा समन्वय अधिकृत तोकिएको छ । केन्द्रले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्र र राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणसँग निरन्तर समन्वय गरिरहेको छ । 

प्रहरीको पछिल्लो तथ्याङ्कअनुसार विपद्का कारण हालसम्म ६ सय ६९ वटा शव (अङ्गहरू समेत गरी) फेला परेका छन् । जसमा १४८ महिला, २६८ पुरुष, २२ बालिका, २० बालक र २११ वटा मानव अङ्ग रहेका छन् । फेला परेका शवमध्ये हालसम्म २० वटा पहिचान खुलेर आफन्तलाई हस्तान्तरण गरिएको छ । 

बेपत्ता हुनेहरूको सङ्ख्या २,३६२ पुगेको छ । जसमा १,५९१ स्वदेशी पुरुष, २६४ स्वदेशी महिला रहेका छन् भने ५२३ जना विदेशी नागरिक (२२३ पुरुष र ३०० महिला) बेपत्ता छन् । विपद्को समयमा २६ जना प्रहरी कर्मचारी समेत हराइरहेको केन्द्रले जनाएको छ ।

प्रहरीले हालसम्म २,३०१ जनाको घाइते अवस्थामा उद्धार गरेको छ । नुवाकोटमा ९ वटा होल्डिङ सेन्टर स्थापना गरी १ हजार जनालाई राखिएको छ भने धादिङमा पनि होल्डिङ सेन्टरहरू सञ्चालनमा ल्याइएको छ । 

नेपाल प्रहरीले हराएका र फेला परेका व्यक्तिहरूको विवरण नेपाल प्रहरीको आधिकारिक वेबसाइटमा उपलब्ध गराएको छ । नागरिकहरूले वेबसाइटमा राखिएका फोटो तथा भिडियोहरू हेरेर आफ्ना आफन्तको पहिचान गर्नसक्ने र त्यसपछि कानूनी प्रक्रिया पूरा गरी शव हस्तान्तरण गरिने प्रवक्ता काफ्लेले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्