
काठमाडौं । रसुवा बाढीले बगाएको काठमाडौं धादिङबेंसी जोड्ने फुर्केखोला पुललाई तत्काल सञ्चालमा ल्याउन कठिन देखिएको छ ।
सडक विभागले बाढीले धादिङको सदरमुकाम जोड्ने फुर्केखोलाको पुल बगाएपछि धादिङवेशी जाने वैकल्पिक सडकमार्ग खोजिएको जानकारी दिएको छ । फुर्केखोलामा तत्काल बेलीब्रिज राख्न सक्ने स्थिति नदेखिएको सडक विभागका महानिर्देशक डा. विजय जैसीले जानकारी दिए ।
उनकाअनुसार बाढीले ११८ मिटर लामो स्टिल प्लेट गर्डर पुलसँगै एउटा पियरसमेत बगाएको छ । पुलको स्थलगत अनुगमन गर्दै उनले फुर्केखोलामा तत्काल बेलीब्रिज राखेर सडक सञ्चालन गर्न समस्या रहेको बताए । तत्कालका लागि बेलीब्रिज राख्ने सम्भावनाबारे अध्ययन भइरहेको भएपनि पुलको लम्बाइ र एउटा पियर बगाएको कारण उपलब्ध बेलीब्रिजले नदीको दूरी पूरा गर्न नसक्ने उनको भनाई छ । यद्यपी पुल सञ्चालनको लागी विभिन्न वैकल्पिक उपायहरुका बारेमा सडक विभागले अध्ययन गरिरहेको उनले जानकारी दिए ।
विभागले पुलको विस्तृत मापन गर्न प्राविधिक टोली खटाउने उनले बताए । प्राविधिक अध्ययनपछि मात्रै पुल कसरी र कति समयमा सञ्चालनमा ल्याउन सकिन्छ भन्ने टुंगो लाग्नेछ । उनकाअनुसार उपलब्ध संरचनालाई प्रयोग गरेर नयाँ डेक निर्माण गर्ने वा हालको पुलसँग जोडेर नयाँ पुल निर्माण गर्नुपर्ने विकल्पमा विभागले अध्ययन गर्नेछ ।
पुरानै संरचनालाई प्रयोग गरेर नयाँ डेक माथि राखेर संरचना जोड्न पनि सकिने उनको भनाई छ । तर त्यसो गर्न नसकिएमा नयाँ पुल पनि बनाउनुपर्ने हुन सक्ने उनको भनाई छ । स्थायी पुल निर्माणका लागि प्राविधिक अध्ययनपछि आवश्यक प्रक्रिया अघि बढाइने उनले जानकारी दिए ।
बाढीले पुल बगाएपछि प्रभावित क्षेत्रमा वैकल्पिक मार्गबाट यातयात सञ्चालनमा ल्याएको उनले जानकारी दिए । जैसीकाअनुसार मासटारतर्फको पुल सुरक्षित रहेकाले फुर्केखोलाबाट मासटारसम्मको सडकलाई वैकल्पिक मार्गको रुपमा प्रयोग गरिएको छ । उक्त सडकलाई तत्काल ग्राभेल गर्ने र सडक आवागमन सहज बनाउने विभागको तयारी रहेको उनले बताए ।















