Logo
Logo

टिचिङ, ट्रमा र वीरमा रसुवा बाढीका ४६ घाइते उपचाररत


0
Shares

काठमाडौं । रसुवा बाढीमा परेर घाइते भएकाहरुको काठमाडौंका विभिन्न अस्पतालहरूमा हाल ४६ जना उपचाररत छन् । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा ल्याइएका कुल ७७ जनामध्ये हाल ३० जना उपचाररत छन् ।

त्यस्तै, ४२ जना डिस्चार्ज भइसकेका छन् भने एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २५ वर्षीय कुशल मगर रहेका छन् । चार जना अन्य अवस्थामा छन् ।

अस्पतालले बिहीबार सार्वजनिक गरेको विवरणमा उपचाररत बिरामीहरू एचडीयू, न्यूरोसर्जरी, अर्थोपेडिक, आईसीयू, प्लास्टिक सर्जरी र बर्ने वार्डमा छन् । केही बिरामी अब्जर्भेसनमा पनि रहेका छन् ।

अस्पताल प्रशासनका अनुसार बाढीपहिरोमा घाइते भएका बिरामीको उपचार निरन्तर भइरहेको छ । त्यस्तै, बिहिबारसम्म राष्ट्रिय ट्रमा सेन्टरमा भर्ना भएका ५० जनामध्ये ३६ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

हाल १२ जना घाइते अस्पतालमा उपचाररत छन । तीमध्ये तीन जना उच्च निगरानी कक्ष (एचडीयू)मा र नौ जना आपत्कालीन कक्ष तथा अन्य वार्डमा छन् । एक जनालाई थप उपचारका लागि अन्यत्र रिफर गरिएको छ भने उपचारका क्रममा एक जनाको मृत्यु भएको छ ।

ट्रमा सेन्टरमा हाल उपचाररत घाइतेहरूमा टाउको, छाती, हातखुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको अस्पतालले जनाएको छ । बाढी प्रभावित क्षेत्रबाट उद्धार गरी ल्याइएका घाइतेहरूको स्वास्थ्य अवस्थालाई निरन्तर निगरानीमा राखेर उपचार भइरहेको राष्ट्रिय ट्रमा सेन्टरले जनाएको छ ।

यता, वीर अस्पतालमा उद्धार गरी ल्याइएका १९ जनामध्ये हाल ४ जना मात्र उपचाररत छन् भने बाँकीलाई घर पठाइएको छ । तीनै अस्पतालमा बाढी प्रभावित क्षेत्रबाट उद्धार गरी ल्याइएका घाइतेहरूको स्वास्थ्य अवस्था नियमित रूपमा जाँच गरी आवश्यक उपचार दिइँदै आएको छ ।

अस्पताल प्रशासनले घाइतेहरूको अवस्थाअनुसार विशेष निगरानी र थप उपचारको व्यवस्था मिलाएको जनाएका छन् । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीले ठूलो जनधनको क्षति पु¥याएको थियो ।

घाइतेहरूलाई उद्धार गरी काठमाडौंका विभिन्न अस्पतालमा ल्याइएकोमा हालसम्म धेरैजसो बिरामी डिस्चार्ज भए पनि गम्भीर घाइतेहरू अझै उपचाररत रहेका छन् । भदौ १० गते भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट र धादिङ लगायत जिल्लामा ठूलो धनजनको क्षति गरेको छ ।

प्रतिक्रिया दिनुहोस्