
रसुवा बाढीमा बचेका २१ भारतीय तीर्थयात्रीले भारतका विदेशमन्त्री एस.जयशंकरसँग नेपाली सेनाले बहादुरीका साथ गरेको उद्धारको अनुभव सुनाएको दृश्य यतिबेला चर्चामा छ । उनले ट्विटमा लेखेका छन्, ‘म नेपाली सेना र त्यहाँको सरकारप्रति उद्धारका लागि आभार प्रकट गर्दछु ।’ जयशंकरले तामिलनाडुका तीर्थयात्रीले नेपाली सेनाको प्रशंशा गरेको दृश्य समेत सामाजिक सञ्जालमा शेयर गरेका छन् ।
नेपालको इतिहासकै त्रासदीपूर्ण महाप्रकोपमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले सिमित साधन र स्रोतका बाबजुद जसरी उद्धारमा काम गरिरहेका छन् त्यो विश्वभर प्रशंसनीय बनेको छ । सेनासँग सहकार्य गरी उद्धारमा काम गर्नकै लागि छिमेकी मुलुकहरु भारत र चीनबाट ‘टनेल’ विशेषज्ञ टोली पनि आइपुगेका छन् । यसरी सेनासहितको सुरक्षाकर्मी अनि दुई छिमेकीको विशेष साथ र सहयोगमा नेपालले महाविपत्तिको संकटको सामना गरिरहेको छ अहिले ।
छिमेकीको चिन्ता
अहिले देश महाविपत्तिमा छ । विपत्तिका भयावह र कारुणिक दृश्यहरू विश्वका अरबौँ मानिसहरूले हेरिरहेका छन् । विश्वभरबाट सहानुभूतिका सुस्केराहरू सुनिएका छन् । तर, व्यवहारमा सहयोगको ओइरो छिमेकी भारत र चीनबाट नै सबैभन्दा बढी आइरहेको छ । बाढी गएकै दिन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र साहसँग टेलिफोन गरी विपत्तिमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता गरेसँगै हवाई मार्गबाट साँझपख नै त्यहाँबाट राहत सामाग्री आयो । त्यो क्रम चलिरह्यो ।
भारतीय जनता र संघसंस्थाबाट नेपालको बाढी प्रभावित क्षेत्रमा सहयोगको अभियान नै चल्यो । नेपालको पीडा हाम्रो पनि पीडा हो भन्ने भावनाका साथ सहयोग जुटिरहेको छ । भारतले ‘टनेल’ विशेषज्ञ र डीएनएस जाँचका लागि विशेषज्ञलाई आवश्यक उपकरणसहित पठाएको छ ।
उत्तरको छिमेकी चीन बाढीबाट आफै पनि प्रभावित छ । उसले पनि सहयोग सामाग्री हवाई मार्गबाट पठाइसकेको छ । साँढे ३० करोड नेपाली रुपैयाँको सहयोग हस्तान्तरण गरिसकेको छ । चिनियाँ प्रधानमन्त्री ली कियाङ बाढी प्रभावित क्षेत्रको नेपालको सीमा नजिकै केरुङसम्म आफै आइपुगेका छन् । उद्धारका लागि चीनको विज्ञ टोली पनि नेपालमा छ यतिबेला ।
यसरी दुई छिमेकीले विपत्तिमा यति धेरै सहयोग गरेर अप्ठ्यारोमा चाहिने छिमेकी नै हो भन्ने सिद्ध गरिदिए । छिमेक नै प्रथम हो र छिमेकसँगको सुमधुर सम्बन्धबाट नै देश उँभो लाग्छ । चाहे विपत्तिमा होस् या समृद्धिको यात्रामा नै किन नहोस् छिमेकी नै हाम्रो कूटनीतिको बलियो आधार हो । त्यसमाथि भारत र चीन जस्ता तीव्र आर्थिक विकास गरिरहेका देशको बीचमा रहेका भूपरिवेष्ठित देश नेपालका लागि छिमेकसँगको सम्बन्धबाट नै आर्थिक गति निर्धारण हुन्छ ।
बालेनको अपरिपक्व कूटनीति
रसुवा बाढीको महाविपत्ति जति अनुमानभन्दा फरक रह्यो, बालेनको कूटनीतिक सम्बन्धका आकलन पनि अनुमानभन्दा बिलकुल फरक रह्यो । छिमेकप्रति मित्रभाव भन्दा प्रतिद्वन्द्वी भाव दर्साएर लोकप्रियता बटुल्नमै लागिरहे उनी । टाइम म्यागाजिनले उनलाई मोदी र सी चिनफिङभन्दा लोकप्रीय देखाएकै थियो । उनले प्रधानमन्त्री नहुँदै काठमाडौंको मेयर हुँदा छिमेकी देशहरू भारत र चीनलाई चिढ्याउने गतिविधि गरेका थिए । मेयर हुँदा कार्यकक्षमा भारतको वर्तमान भूभागसहित ग्रेटर नेपालको नक्सा झुन्ड्याएका थिए ।
चिनियाँहरूलाई उनीहरूको नववर्षमा सांस्कृतिक कार्यक्रम गर्न अवरोध खडा गरिदिएका थिए । प्रधानमन्त्री बनेपछि उनले भारत र चीनका राजदूतहरूको भेट गर्ने अनुरोधलाई लत्त्याएका थिए । रसुवा बाढीपछि भारत र चीनबाट विज्ञ टोलीको सहयोग लिन बालेन सरकारले सुरुमा आनाकानी गरेको थियो । यसमा पनि बालेनको अपरिपक्व कूटनीति झल्कियो ।
उद्धार र राहतमा सैन्य कूटनीतिको सक्रियताले विज्ञ टोलीहरू नेपाल आइपुगे । सुरुङ विशेषज्ञ नेपाली सेनासँग र ‘फोरेन्सिक’ विशेषज्ञ नेपाल प्रहरीसँग सहकार्य गरी कार्य गर्न थाले । सहकार्यको आवश्यकता र अनिवार्य दुवै थियो । यसले शासकहरूलाई छिमेकसँग कस्तो सम्बन्ध हुनुपर्छ र त्यो सम्बन्ध कति महत्त्वपूर्ण हुन्छ भन्ने चेत आउनै पर्छ ।
सुखमा सबै साथमा हुन्छन् तर दुःखमा साथ दिने मात्र वास्तविक मित्र हुन्छन् । महाविपत्तिमासाथ र सहयोग दिने नै वास्तविक मित्र हुन् । विगतमा छिमेकलाई चिढ्याउने गतिविधि गरेपनि प्रधानमन्त्रीका रूपमा बालेन साहले आफूलाई सच्याउँदै लाने हुन् कि होइनन् ? भविष्यले देखाउला । उनले सामाजिक सञ्जालमा भारत र चीनबाट प्राप्त सहयोगबारे समेत उल्लेख गरेका छन् । जसमध्ये शव व्यवस्थापनका लागि भारत र चीनबाट २ हजार ब्याग प्राप्त भएको लेखेका छन् । भारत र चीन दुवैसँग बेली ब्रिज सहयोगका लागि अनुरोध गरिएको उल्लेख गरेका छन् । दुवै देशले सहयोगको प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
उद्धारमा सामरिक चुनौती
रसुवा बाढीमा उद्धारका लागि हवाई सहयोगका लागि भारत, चीनलगायत देशहरू तयार छन् । नेपालमा २०७२ सालमा आएको महाभूकम्पमा पनि त्यस्ता सहयोगहरू आएका थिए । तर, तिब्बतसँग सीमा जोडिएको क्षेत्र दोलखामा अमेरिकी हेलिकोप्टर रहस्यमय तरिकाले र्दुघटनामा परेपछि आशंका पैदा भए । त्यसपछि नेपाल आउन लागेका बेलायती हेलिकोप्टरले पनि अनुमति पाएनन् ।
तेस्रो देशहरुबाट आउने सैन्य विमान होस् या उद्धारका लागि आएका हेलिकोप्टर नै किन नहुन् त्यसमा भारत र चीनको चासो हुने गरेको छ । संवेदनशील सीमा क्षेत्रमा त्यस्ता विमान पुगेमा ती देशहरू झस्किने गरेका छन् । यसकारण पनि उद्धारका लागि हेलिकोप्टरहरू ल्याउन सुरक्षाका दृष्टिले पनि अनुमति दिन नमानेको देखिन्छ ।
सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी नेपालमै रहेका हेलिकोप्टरलाई उद्धारमा प्रयोग गरिएको छ अहिले । सेनाका हेलिकोप्टरहरू बाढी प्रभावित क्षेत्रमा निकै खटिएका छन् । जसका कारण उद्धारमा बाह्य देशका हेलिकोप्टरलाई वञ्चित गरिएको छ । बरु राहत र उद्धारका सामाग्री र आवश्यक जनशक्ति स्वीकार गरेको छ सरकारले ।
नेपालले भोगेको त्रासदीपूर्ण बाढीमा सहयोग सँगै स्वार्थ पनि जोड्ने शक्तिहरू हुन्छन् । भारत र चीनबिच हुनु नेपालका लागि जति अवसर हो उत्ति नै चुनौती पनि हो । नेपालका मित्र शक्ति भएपनि यी देशका प्रतिस्पर्धी देशहरूले नेपाली भूमिबाट चुनौती खडा गर्ने रणनीति बनाउन सक्छन् ।
विश्व राजनीतिमा यस्ता खेलहरू चल्दै आएका छन् । नेपालको संवेदनीश भूराजनीतिमा शक्तिराष्ट्रहरुको उपस्थिति जति खुल्ला रूपमा छ त्योभन्दा बढी छद्म रूपमा छ । त्यस्ता छद्म भूमिकाले यहाँको राजनीतिक र अर्थतन्त्रमा ठूलो असर पार्ने घटनाहरू हुँदै आएका छन् ।
विपत्तिमा सहयोगको हात बढाएर निहित स्वार्थ पूरा गर्न खोज्ने त्यस्ता शक्तिहरूको रणनीतिप्रति सचेत रहनुपर्ने आवश्यकता उत्तिकै छ । भूकम्पमा हवाई उद्धारमा सहयोग गर्ने प्रतिस्पर्धामा बलिया देशहरूको हेलिकोप्टर धमाधम उड्न थाले त्यतिबेला । त्यसले समस्या नै ल्याउने अवस्था बनिसकेको थियो । तत्कालीन सैन्य नेतृत्वले रणनीतिक चार्तुयताले कतिपय बलिया देशका हेलिकोप्टर छिर्नै दिएन । त्यस्तो चार्नुयता अहिले पनि उत्तिकै आवश्यक छ ।
सेनाको सक्रियताबाट देशभरका हेलिकोप्टरहरू उद्धारमा केन्द्रित पारिएका छन् । तर, त्यस्ता हेलिकोप्टरहरू सत्तारुढ दलका नेताहरूबाट नै दुरुपयोग भएका घटना बाहिर आएका छन् । हवाई उद्धारमा सेनासहित सुरक्षाकर्मीबाहेक अरूको आवश्यकता नै पर्दैन । हवाई उद्धारमा बाह्य सहयोग समेत आवश्यक नरहेको सन्देश दिएको सेनाले गैरसैनिकहरुको आवश्यकता किन देख्दथ्यो ? विपत्तिको यो घडीमा उद्धारमा सेनासहित सुरक्षाकर्मी नै मुख्य हो । उनीहरूले नै परिपक्व कूटनीतिबाट उद्धार, राहत र बाह्य सहयोगको आवश्यकताको कुशलतापूर्वक व्यवस्थापन गर्न सक्छन् । नत्र महाविपत्तिमा शक्तिराष्ट्रहरुको रणनीतिक स्वार्थले नयाँ प्रतिस्पर्धा निर्माण हुनसक्छ ।
महाभूकम्पले नेपाललाई पाठ सिकाइसकेको छ । विभिन्न शक्तिहरूले स्वार्थको रोटी सेकाउन थालेको इतिहास साक्षी छ । तेस्रो देशमा मुकाम बनाएका शक्तिहरूबाट धर्मान्तरगणको धन्दासमेत चलाइए त्यतिबेला । देशमा कुनै पनि खाले विपत्ति आइपर्दा छिमेक नै चाहिन्छ । छिमेकको सहयोग लिन पनि छिमेकीसँग राम्रो सम्बन्ध चाहिन्छ । सहयोगमा सामरिक स्वार्थहरू नै चिन्ने र सुँघ्ने क्षमता पनि सरकारको नेतृत्वकर्ताहरूमा हुनुपर्छ । स्टन्टबाजी र क्षणिक लोकप्रियताको हल्लाले आकाशमा क्षणभर तैरिन त सकिएला, जमिनको यथार्थलाई व्यवस्थापन गर्न सकिँदैन । जमिन खोतलेर जीवन जोगाउनुपर्ने चुनौती झन् कठिन हुन्छ । कूटनीतिक अपरिपक्वता र जमिनको यथार्थसँग तारताम्य मिलाउन नसक्दा बालेन साह यसरी नै पटकपटक चुक्दै गइरहेका छन् ।














