Logo
Logo

नेपाली सेनाको विश्वभर उच्च प्रशंसा


डा. दीपेश केसी

441
Shares

रसुवा बाढीमा बचेका २१ भारतीय तीर्थयात्रीले भारतका विदेशमन्त्री एस.जयशंकरसँग नेपाली सेनाले बहादुरीका साथ गरेको उद्धारको अनुभव सुनाएको दृश्य यतिबेला चर्चामा छ । उनले ट्विटमा लेखेका छन्, ‘म नेपाली सेना र त्यहाँको सरकारप्रति उद्धारका लागि आभार प्रकट गर्दछु ।’ जयशंकरले तामिलनाडुका तीर्थयात्रीले नेपाली सेनाको प्रशंशा गरेको दृश्य समेत सामाजिक सञ्जालमा शेयर गरेका छन् ।

नेपालको इतिहासकै त्रासदीपूर्ण महाप्रकोपमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले सिमित साधन र स्रोतका बाबजुद जसरी उद्धारमा काम गरिरहेका छन् त्यो विश्वभर प्रशंसनीय बनेको छ । सेनासँग सहकार्य गरी उद्धारमा काम गर्नकै लागि छिमेकी मुलुकहरु भारत र चीनबाट ‘टनेल’ विशेषज्ञ टोली पनि आइपुगेका छन् । यसरी सेनासहितको सुरक्षाकर्मी अनि दुई छिमेकीको विशेष साथ र सहयोगमा नेपालले महाविपत्तिको संकटको सामना गरिरहेको छ अहिले ।

छिमेकीको चिन्ता
अहिले देश महाविपत्तिमा छ । विपत्तिका भयावह र कारुणिक दृश्यहरू विश्वका अरबौँ मानिसहरूले हेरिरहेका छन् । विश्वभरबाट सहानुभूतिका सुस्केराहरू सुनिएका छन् । तर, व्यवहारमा सहयोगको ओइरो छिमेकी भारत र चीनबाट नै सबैभन्दा बढी आइरहेको छ । बाढी गएकै दिन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र साहसँग टेलिफोन गरी विपत्तिमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता गरेसँगै हवाई मार्गबाट साँझपख नै त्यहाँबाट राहत सामाग्री आयो । त्यो क्रम चलिरह्यो ।

भारतीय जनता र संघसंस्थाबाट नेपालको बाढी प्रभावित क्षेत्रमा सहयोगको अभियान नै चल्यो । नेपालको पीडा हाम्रो पनि पीडा हो भन्ने भावनाका साथ सहयोग जुटिरहेको छ । भारतले ‘टनेल’ विशेषज्ञ र डीएनएस जाँचका लागि विशेषज्ञलाई आवश्यक उपकरणसहित पठाएको छ ।

उत्तरको छिमेकी चीन बाढीबाट आफै पनि प्रभावित छ । उसले पनि सहयोग सामाग्री हवाई मार्गबाट पठाइसकेको छ । साँढे ३० करोड नेपाली रुपैयाँको सहयोग हस्तान्तरण गरिसकेको छ । चिनियाँ प्रधानमन्त्री ली कियाङ बाढी प्रभावित क्षेत्रको नेपालको सीमा नजिकै केरुङसम्म आफै आइपुगेका छन् । उद्धारका लागि चीनको विज्ञ टोली पनि नेपालमा छ यतिबेला ।

यसरी दुई छिमेकीले विपत्तिमा यति धेरै सहयोग गरेर अप्ठ्यारोमा चाहिने छिमेकी नै हो भन्ने सिद्ध गरिदिए । छिमेक नै प्रथम हो र छिमेकसँगको सुमधुर सम्बन्धबाट नै देश उँभो लाग्छ । चाहे विपत्तिमा होस् या समृद्धिको यात्रामा नै किन नहोस् छिमेकी नै हाम्रो कूटनीतिको बलियो आधार हो । त्यसमाथि भारत र चीन जस्ता तीव्र आर्थिक विकास गरिरहेका देशको बीचमा रहेका भूपरिवेष्ठित देश नेपालका लागि छिमेकसँगको सम्बन्धबाट नै आर्थिक गति निर्धारण हुन्छ ।

बालेनको अपरिपक्व कूटनीति
रसुवा बाढीको महाविपत्ति जति अनुमानभन्दा फरक रह्यो, बालेनको कूटनीतिक सम्बन्धका आकलन पनि अनुमानभन्दा बिलकुल फरक रह्यो । छिमेकप्रति मित्रभाव भन्दा प्रतिद्वन्द्वी भाव दर्साएर लोकप्रियता बटुल्नमै लागिरहे उनी । टाइम म्यागाजिनले उनलाई मोदी र सी चिनफिङभन्दा लोकप्रीय देखाएकै थियो । उनले प्रधानमन्त्री नहुँदै काठमाडौंको मेयर हुँदा छिमेकी देशहरू भारत र चीनलाई चिढ्याउने गतिविधि गरेका थिए । मेयर हुँदा कार्यकक्षमा भारतको वर्तमान भूभागसहित ग्रेटर नेपालको नक्सा झुन्ड्याएका थिए ।

चिनियाँहरूलाई उनीहरूको नववर्षमा सांस्कृतिक कार्यक्रम गर्न अवरोध खडा गरिदिएका थिए । प्रधानमन्त्री बनेपछि उनले भारत र चीनका राजदूतहरूको भेट गर्ने अनुरोधलाई लत्त्याएका थिए । रसुवा बाढीपछि भारत र चीनबाट विज्ञ टोलीको सहयोग लिन बालेन सरकारले सुरुमा आनाकानी गरेको थियो । यसमा पनि बालेनको अपरिपक्व कूटनीति झल्कियो ।

उद्धार र राहतमा सैन्य कूटनीतिको सक्रियताले विज्ञ टोलीहरू नेपाल आइपुगे । सुरुङ विशेषज्ञ नेपाली सेनासँग र ‘फोरेन्सिक’ विशेषज्ञ नेपाल प्रहरीसँग सहकार्य गरी कार्य गर्न थाले । सहकार्यको आवश्यकता र अनिवार्य दुवै थियो । यसले शासकहरूलाई छिमेकसँग कस्तो सम्बन्ध हुनुपर्छ र त्यो सम्बन्ध कति महत्त्वपूर्ण हुन्छ भन्ने चेत आउनै पर्छ ।

सुखमा सबै साथमा हुन्छन् तर दुःखमा साथ दिने मात्र वास्तविक मित्र हुन्छन् । महाविपत्तिमासाथ र सहयोग दिने नै वास्तविक मित्र हुन् । विगतमा छिमेकलाई चिढ्याउने गतिविधि गरेपनि प्रधानमन्त्रीका रूपमा बालेन साहले आफूलाई सच्याउँदै लाने हुन् कि होइनन् ? भविष्यले देखाउला । उनले सामाजिक सञ्जालमा भारत र चीनबाट प्राप्त सहयोगबारे समेत उल्लेख गरेका छन् । जसमध्ये शव व्यवस्थापनका लागि भारत र चीनबाट २ हजार ब्याग प्राप्त भएको लेखेका छन् । भारत र चीन दुवैसँग बेली ब्रिज सहयोगका लागि अनुरोध गरिएको उल्लेख गरेका छन् । दुवै देशले सहयोगको प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

उद्धारमा सामरिक चुनौती
रसुवा बाढीमा उद्धारका लागि हवाई सहयोगका लागि भारत, चीनलगायत देशहरू तयार छन् । नेपालमा २०७२ सालमा आएको महाभूकम्पमा पनि त्यस्ता सहयोगहरू आएका थिए । तर, तिब्बतसँग सीमा जोडिएको क्षेत्र दोलखामा अमेरिकी हेलिकोप्टर रहस्यमय तरिकाले र्दुघटनामा परेपछि आशंका पैदा भए । त्यसपछि नेपाल आउन लागेका बेलायती हेलिकोप्टरले पनि अनुमति पाएनन् ।

तेस्रो देशहरुबाट आउने सैन्य विमान होस् या उद्धारका लागि आएका हेलिकोप्टर नै किन नहुन् त्यसमा भारत र चीनको चासो हुने गरेको छ । संवेदनशील सीमा क्षेत्रमा त्यस्ता विमान पुगेमा ती देशहरू झस्किने गरेका छन् । यसकारण पनि उद्धारका लागि हेलिकोप्टरहरू ल्याउन सुरक्षाका दृष्टिले पनि अनुमति दिन नमानेको देखिन्छ ।

सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी नेपालमै रहेका हेलिकोप्टरलाई उद्धारमा प्रयोग गरिएको छ अहिले । सेनाका हेलिकोप्टरहरू बाढी प्रभावित क्षेत्रमा निकै खटिएका छन् । जसका कारण उद्धारमा बाह्य देशका हेलिकोप्टरलाई वञ्चित गरिएको छ । बरु राहत र उद्धारका सामाग्री र आवश्यक जनशक्ति स्वीकार गरेको छ सरकारले ।

नेपालले भोगेको त्रासदीपूर्ण बाढीमा सहयोग सँगै स्वार्थ पनि जोड्ने शक्तिहरू हुन्छन् । भारत र चीनबिच हुनु नेपालका लागि जति अवसर हो उत्ति नै चुनौती पनि हो । नेपालका मित्र शक्ति भएपनि यी देशका प्रतिस्पर्धी देशहरूले नेपाली भूमिबाट चुनौती खडा गर्ने रणनीति बनाउन सक्छन् ।

विश्व राजनीतिमा यस्ता खेलहरू चल्दै आएका छन् । नेपालको संवेदनीश भूराजनीतिमा शक्तिराष्ट्रहरुको उपस्थिति जति खुल्ला रूपमा छ त्योभन्दा बढी छद्म रूपमा छ । त्यस्ता छद्म भूमिकाले यहाँको राजनीतिक र अर्थतन्त्रमा ठूलो असर पार्ने घटनाहरू हुँदै आएका छन् ।

विपत्तिमा सहयोगको हात बढाएर निहित स्वार्थ पूरा गर्न खोज्ने त्यस्ता शक्तिहरूको रणनीतिप्रति सचेत रहनुपर्ने आवश्यकता उत्तिकै छ । भूकम्पमा हवाई उद्धारमा सहयोग गर्ने प्रतिस्पर्धामा बलिया देशहरूको हेलिकोप्टर धमाधम उड्न थाले त्यतिबेला । त्यसले समस्या नै ल्याउने अवस्था बनिसकेको थियो । तत्कालीन सैन्य नेतृत्वले रणनीतिक चार्तुयताले कतिपय बलिया देशका हेलिकोप्टर छिर्नै दिएन । त्यस्तो चार्नुयता अहिले पनि उत्तिकै आवश्यक छ ।

सेनाको सक्रियताबाट देशभरका हेलिकोप्टरहरू उद्धारमा केन्द्रित पारिएका छन् । तर, त्यस्ता हेलिकोप्टरहरू सत्तारुढ दलका नेताहरूबाट नै दुरुपयोग भएका घटना बाहिर आएका छन् । हवाई उद्धारमा सेनासहित सुरक्षाकर्मीबाहेक अरूको आवश्यकता नै पर्दैन । हवाई उद्धारमा बाह्य सहयोग समेत आवश्यक नरहेको सन्देश दिएको सेनाले गैरसैनिकहरुको आवश्यकता किन देख्दथ्यो ? विपत्तिको यो घडीमा उद्धारमा सेनासहित सुरक्षाकर्मी नै मुख्य हो । उनीहरूले नै परिपक्व कूटनीतिबाट उद्धार, राहत र बाह्य सहयोगको आवश्यकताको कुशलतापूर्वक व्यवस्थापन गर्न सक्छन् । नत्र महाविपत्तिमा शक्तिराष्ट्रहरुको रणनीतिक स्वार्थले नयाँ प्रतिस्पर्धा निर्माण हुनसक्छ ।

महाभूकम्पले नेपाललाई पाठ सिकाइसकेको छ । विभिन्न शक्तिहरूले स्वार्थको रोटी सेकाउन थालेको इतिहास साक्षी छ । तेस्रो देशमा मुकाम बनाएका शक्तिहरूबाट धर्मान्तरगणको धन्दासमेत चलाइए त्यतिबेला । देशमा कुनै पनि खाले विपत्ति आइपर्दा छिमेक नै चाहिन्छ । छिमेकको सहयोग लिन पनि छिमेकीसँग राम्रो सम्बन्ध चाहिन्छ । सहयोगमा सामरिक स्वार्थहरू नै चिन्ने र सुँघ्ने क्षमता पनि सरकारको नेतृत्वकर्ताहरूमा हुनुपर्छ । स्टन्टबाजी र क्षणिक लोकप्रियताको हल्लाले आकाशमा क्षणभर तैरिन त सकिएला, जमिनको यथार्थलाई व्यवस्थापन गर्न सकिँदैन । जमिन खोतलेर जीवन जोगाउनुपर्ने चुनौती झन् कठिन हुन्छ । कूटनीतिक अपरिपक्वता र जमिनको यथार्थसँग तारताम्य मिलाउन नसक्दा बालेन साह यसरी नै पटकपटक चुक्दै गइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्