काठमाडौं । नेपाल राष्ट्र बैंक कर्मचारी संगठनले रसुवा र भोटेकोशीसहित बाढी प्रभावित क्षेत्रका पीडितलाई राहत तथा पुनःस्थापनाका लागि १ लाख ५५ हजार ५५५ रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।

संगठनले चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडितको सहयोगका लागि उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।
संगठनका केन्द्रीय अध्यक्ष कृष्ण के.सी. र सचिव हरि प्रसाद अर्यालले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा गत भदौ १० गते बुधबार बिहान आएको बाढीबाट रसुवासहित नुवाकोट, धादिङ, गोरखा र चितवनका नदीतटीय क्षेत्रमा भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गरिएको छ ।
विपद्का कारण ज्यान गुमाउने नागरिकप्रति संगठनले श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । साथै, बाढी प्रभावितहरूको तत्काल उद्धार, राहत वितरण तथा पुनःस्थापनाका लागि सरकार र सम्बन्धित सबै पक्षसँग आवश्यक सहकार्य र समन्वय गर्न आफूहरू प्रतिबद्ध रहेको जनाएको छ ।
संगठनले बाढीबाट नागरिकसँगै बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी तथा विद्यार्थीसमेत प्रभावित भएको जनाएको छ ।
विपद्पछि प्रभावित क्षेत्रमा खाद्यान्न अभाव, महँगी तथा सम्भावित महामारीको जोखिम बढ्न सक्ने भन्दै संगठनले त्यसतर्फ समयमै आवश्यक पूर्वतयारी गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।
संगठनले विपद्को यस कठिन घडीमा प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनुका साथै दीर्घकालीन पुनःस्थापनाका लागि सरकार तथा सरोकारवाला निकायलाई प्रभावकारी रूपमा अघि बढ्न आग्रहसमेत गरेको छ ।














