
काठमाडौं । भोटेकोशी बाढीपछि भेटिएका एक हजार १४३ शवबाट डीएनएका लागि नमुना संकलन गरिएको छ ।
प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार, बिहीबारसम्म पहिचान नभएका सबै शवबाट नमुना संकलन गरिएको हो । ती शवको पहिचान खुलाउन ६५१ जना सम्पर्कविहीनका आफन्तको पनि नमुना संकलन गरिएको छ ।
सबै गरेर एक हजार ७९४ वटा डीएनएको नमुना संकलन गरिसकिएको प्रहरीले जानकारी दिएको छ । सम्पर्कविहीन आफन्तलाई नमुना संकलनका लागि जिल्ला प्रहरी कार्यालय वा प्रहरी अस्पताल महाराजगन्जमा सम्पर्क गर्न पनि प्रहरीले अनुरोध गरेको छ ।
१० भदौमा भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका एक हजार २५२ जनाको शव फेला परेको छ । तर ती शव कसका हुन् भन्ने पहिचान हुन सकेको छ । बाढीले चिन्नै नसकिने अवस्थामा रहेकाले शव पहिचानका लागि डीएनएको नमुना संकलन गर्न लागिएको हो ।
पहिचान नखुलेका ८९७ वटा शव काठमाडौं, पोखरा, चितवन लगायतका जिल्लामा व्यवस्थित तरिकाले पुरिएको छ । डीएनए परीक्षण गरेर पहिचान भएपछि जमिनबाट निकालेर आफन्तलाई दिने गरी शव सुरक्षित पुरिएको हो ।
शव राख्न पहिले नै संकेत नम्बर कायम गरिएको छ । सोही नम्बरका आधारमा शव निकालेर आफन्तलाई बुझाउने सरकारको योजना छ ।














