
काठमाडौं । बागमती प्रदेश सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित अभिभावकविहीन बालबालिकालाई आवास सुविधासहित अध्ययन गराउने निर्णय गरेको छ ।
प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले बाढी प्रभावित अभिभावकविहीन बालबालिकाको लागि आवाससहित कक्षा १२ सम्म निःशुल्क अध्ययन गराउने निर्णय गरेको हो ।
मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै प्रदेश सरकारका प्रवक्ता भरत केसीले रसुवा, नुवाकोट, धादिङ र चितवनलगायत क्षेत्रका बाढी प्रभावित र अभिभावक गुमाएका बालबालिकालाई प्रदेश सरकारले जिम्मा लिने निर्णय गरेको बताए ।
बाढीका कारण कति बालबालिकाले अभिभावक गुमाएका छन् भन्ने तथ्यांक निकालेर उनीहरूलाई आवाससहित शिक्षा प्रदान गर्ने निर्णय गरिएको उनको भनाइ छ ।
यस्तै, बागमती प्रदेशको विपत् व्यवस्थापन कोष परिचालनसम्बन्धी कार्यविधिलाई संशोधन गर्ने निर्णय गरेको प्रवक्ता केसीले जानकारी दिए । उनका अनुसार विपत् व्यवस्थापनका लागि जिल्ला र स्थानीय तहलाई नै रकम निकासा गर्नेगरी कार्यविधि संशोधन गरिएको छ ।














