Logo
Logo

रसुवागढी हाइड्रोका बेपत्ता कर्मचारीलाई जंगलमा खोज्न थालियो


0
Shares

काठमाडौं । रसुवागढी जलविद्युत् आयोजनाबाट सम्पर्कविहीन ९३ कर्मचारी तथा श्रमिकको खोजी कार्य क्षेत्र विस्तार गरिएको छ । आयोजनाको विद्युतगृहभन्दा बाहिर बाढीबाट जोगिन भागेको हुन सक्ने सम्भावित क्षेत्र र जंगलमा सम्पर्कविहीनको खोजी गर्न दक्ष तथा अनुभवी रक क्लाइम्बर टोली परिचालन गरिएको हो ।

कम्पनीले आफ्नै प्रयासमा नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनसँग सम्बन्धित दक्ष जनशक्ति परिचालन गरी घट्टेखोला क्याम्प तथा त्यस आसपासका जंगल क्षेत्रमा ग्राउन्ड सर्च गरिरहेको जनाएको छ । त्यसका लागि हिमालय समिट क्लब प्रालिको ८ सदस्यीय टोली परिचालन गरिएको छ ।

उक्त टोलीले टिमुरे क्षेत्रमा प्रारम्भिक खोजी गरेपछि हेलिकप्टर मार्फत घट्टेखोला क्षेत्रमा पुगेर खोजी गरेको थियो । शनिबार बिहान ७ः३० बजेदेखि टोलीले सम्भावित क्षेत्रमा खोजीलाई निरन्तरता दिएको थियो ।

बाढी आउँदा भागेर जंगलतिर गएकाहरु धेरैजसो सम्पर्कमा आएका छन् । तर, भाग्नेक्रममा चोटपटक लागेर हिँड्न नसक्ने अवस्थामा कोहि कतै अड्किएका छन् कि भनेर सर्च एरिया बढाइएको कम्पनीका सचिव नरनाथ न्यौपानेले जानकारी दिए ।

शनिबार नेपाली सेनाको उद्धार टोलीले विद्युतगृहमा समेत खोजी तथा उद्धार प्रयास गरेको थियो । तर, सम्पर्कविहीनको अवस्था पत्ता नलागेपछि कम्पनीले सम्भावित बाहिरी क्षेत्र, विशेषगरी जंगल तथा पहाडी भूभागमा खोजीलाई प्राथमिकता दिएको हो ।

प्रतिक्रिया दिनुहोस्