काठमाडौं । काठमाडौंको माइतीघर मण्डलामा मंगलबार साँझ एक महिलाले आत्मदाहको प्रयास गरेकी छन्। गोरखा घर भएकी ३० वर्षीया लक्ष्मीदेवी बस्नेतले आफ्नो शरीरमा प्रज्वलनशील पदार्थ खन्याएर आगो लगाएकी हुन्।

आगो दन्किनासाथ प्रहरी र प्रत्यक्षदर्शीले तत्काल उद्धार गरी उनलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर पुर्याएका छन्।
काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार आगो सल्किनासाथ प्रहरी टोलीले नियन्त्रणमा लिएर उद्धार गरेको थियो । युवतीले प्रज्वलनशील पदार्थ खन्याएर आगो लगाएको देखेपछि तत्काल उद्धार गरी ट्रमा सेन्टर पठाइएको छ ।
मण्डलामा धर्ना दिइरहेका प्रत्यक्षदर्शी महिलाहरूका अनुसार बस्नेत केही समयअघि मात्रै उनीहरूको टेन्टमा आएर बसेकी थिइन्। प्रहरीले उनलाई त्यहाँ बस्न नदिन भनेपछि आफूहरूले सम्झाएको प्रत्यक्षदर्शीहरूको भनाइ छ।
आन्दोलनकारी महिलाहरूका अनुसार साँझ मौनधारण गर्न र मैनबत्ती किन्न आफूहरू सडकपारि पुगेको मौकामा बस्नेतले शरीरमा आगो सल्काएकी थिइन्।
बस्नेतले कुन माग वा समस्याका कारण आत्मदाहको प्रयास गरिन् भन्नेबारे खुल्न सकेको छैन। प्रत्यक्षदर्शीले उनी कुनै अभियानमा संलग्न अभियन्ता भएको सुने पनि उनको व्यक्तिगत माग र आबद्धताबारे आफूहरूलाई जानकारी नभएको बताएका छन्।
घटनाबारे काठमाडौं प्रहरीले विस्तृत छानबिन सुरु गरेको छ















