Logo
Logo

शहीद सम्झिने मञ्चमा विवादित अनुहार, जेनजीको बलिदानमाथि नै प्रश्न !


693
Shares

काठमाडौं । जेनजी आन्दोलनको एक वर्ष पूरा भएको दिन मंगलबार नयाँ बानेश्वरस्थित पुरानो संसद् भवनअगाडि शहीदहरूको सम्झनामा स्मृति सभा आयोजना भयो । एक वर्षअघि यही सडकमा जेनजी विद्रोह सुरु भएको थियो ।

मंगलबार त्यही पुस्ताका शहीद सम्झिन मञ्च तयार भयो । शहीद परिवार थिए, घाइते थिए, जेनजी अगुवा थिए, सांसद थिए, मन्त्री थिए । गृहमन्त्री सुधन गुरुङ प्रमुख अतिथिका रूपमा उपस्थित थिए । कानुनमन्त्री सोबिता गौतम, मन्त्री महावीर पुन, सुनिल लम्साल, रास्वपा सांसद तथा पूर्वगृहमन्त्री ओमप्रकाश अर्याललगायतको पनि उपस्थिति थियो ।

तर, शहीदको स्मृति र जेनजीको बलिदानभन्दा एउटा अर्को दृश्यले बढी प्रश्न जन्मायो। त्यो दृश्य थियो– विवादित विगत बोकेका दुई पात्रको मञ्चमा भएको विशेष उपस्थिति ।

जेनजी शहीद परिवार र घाइतेहरूको बीचमा आफूलाई धर्मगुरुका रूपमा प्रस्तुत गर्दै आएका विजय भण्डारी र श्रीनिवास आचार्य पनि कार्यक्रममा पुगे । उनीहरू दर्शकदीर्घामा बसेर कार्यक्रम हेर्न आएका मात्र थिएनन्, मञ्चको अग्रभागमै आसन ग्रहण गरेका थिए ।

अझ रोचक त के भने, गृहमन्त्री र भौतिक पूर्वाधारमन्त्रीसँगै उनीहरू अगाडिको पंक्तिमा बसेका देखिए, जबकि मन्त्री, सांसद र पूर्वगृहमन्त्रीसमेत उनीहरूभन्दा पछाडि थिए । शहीदको स्मृतिमा आयोजित कार्यक्रममा कसलाई कहाँ राखियो भन्ने कुरा सामान्य प्रोटोकलको विषय मात्र होइन । त्यो आफैंमा एउटा राजनीतिक सन्देश हो । त्यसैले प्रश्न उठेको छ– जेनजीले जुन सत्ता संस्कारविरुद्ध विद्रोह गरेको थियो, त्यही सत्ताले शहीदकै स्मृति सभामा विवादित पात्रलाई यस्तो सम्मान किन दियो ?

विजय भण्डारी अर्थात् बालयोगेश्वर विजय कृष्णमूर्तिको विगत विवादमुक्त छैन । २०८१ साउनमा पशुपतिमा एक महिनासम्म चलेको कोटिहोममा उनी एकल आयोजक थिए । त्यहाँ संकलित रकमलाई लिएर ठूलो विवाद भयो । कार्यक्रमको रिपोर्टिङ गर्न पुगेका पत्रकारलाई प्रवेशमा रोक लगाइएको र आक्रमणसमेत भएको आरोप लाग्यो ।

यसअघि पोखरामा आयोजित महायज्ञ पनि विवादबाट अछुतो रहेन । महायज्ञका नाममा सडक तथा ऐतिहासिक चौतारीमा रहेका रुखका हाँगाबिँगा काटिएपछि उनी आलोचनामा तानिए । धार्मिक कार्यक्रमको नाममा ठूलो भीड जम्मा गर्ने र रकम संकलन गर्ने उनको शैलीमाथि त्यतिबेलादेखि नै प्रश्न उठ्दै आएको थियो ।

भण्डारीमाथि विगतमा ठगीसम्बन्धी मुद्दासमेत चलेका थिए । मानव कल्याण आध्यात्मिक परोपकार संघ नामक संस्था बनाएर धार्मिक कार्यक्रमको आवरणमा विभिन्न व्यक्तिलाई अमेरिका पठाइदिने भन्दै रकम उठाएको आरोपमा उनीविरुद्ध जाहेरी परेको थियो ।

२०६८ सालदेखि रकम उठाउने क्रम चलेको र कसैसँग एक लाख रुपैयाँसम्म बैना तथा कतिपयसँग १० लाख रुपैयाँसम्म रकम लिएको आरोप थियो। पीडितको जाहेरीपछि प्रहरीले छाउनी हाउजिङस्थित उनको निवासमा छापा मार्दा रजिस्टर, चेक, चन्दा रसिदलगायतका कागजात बरामद गरेको थियो । काठमाडौं प्रहरीले उनलाई एक करोड २७ लाख रुपैयाँ ठगीको आरोपमा पक्राउ गरी अदालतमा पेस गरेको थियो। उनले अदालतमा रकम लिएको स्वीकार गरे पनि त्यो रकम दानस्वरूप लिएको दाबी गरेका थिए ।

भण्डारीविरुद्धको ठगी मुद्दा लामो समय अदालतमा चल्यो । पाँच वर्षसम्म सर्वोच्च अदालतमा विचाराधीन रहेको मुद्दा ११ कात्तिक २०८१ मा पीडितलाई रकम फिर्ता गर्ने सहमतिसहित मिलापत्रबाट टुंगिएको थियो। तर त्यसअघि पनि उनीमाथि विवादको श्रृंखला रोकिएको थिएन ।

२०७५ सालमा गुल्मीको एक विद्यालय भवन निर्माणका लागि महायज्ञ आयोजना गरेर करिब ५० लाख रुपैयाँ संकलन भएको र विद्यालय व्यवस्थापन समितिलाई जानकारी नै नदिई रकम लिएर गएको आरोप पनि उनीमाथि लागेको थियो । वैदेशिक रोजगारसम्बन्धी कसुरमा समेत उनीविरुद्ध मुद्दा चलेको थियो ।

धार्मिक कार्यक्रममा सहभागी गराउने भन्दै तीन जनाबाट १२ लाख रुपैयाँ लिएको तर रकम फिर्ता नगरेको आरोपमा वैदेशिक रोजगार न्यायाधीकरणले २०७५ जेठ २७ गते उनलाई डेढ वर्ष कैद र डेढ वर्ष जरिबानाको फैसला सुनाएको थियो । उनी २०६८, २०७१ र २०७६ सालमा पटकपटक थुनामा परेको विवरणसमेत सार्वजनिक भएका छन् ।

तर यिनै विवाद र मुद्दाको इतिहास बोकेका भण्डारी एक वर्षअघि जेनजी आन्दोलनले रगत बगाएको ठाउँको स्मृति सभामा भने सम्मानित अतिथिका रूपमा देखिए । यतिसम्म कि गृहमन्त्री गुरुङले पानसमा बत्ती बाल्ने क्रममा उनले समेत सहयोगका लागि हात बढाए ।

दृश्य सामान्य देखिन सक्छ, तर यसको राजनीतिक अर्थ सामान्य छैन । किनकि यो कुनै धार्मिक समारोह थिएन । यो त्यही पुस्ताका शहीद सम्झिने कार्यक्रम थियो, जसले राज्यसँग जवाफ मागेको थियो । त्यसैले प्रश्न उठ्छ– जसको सार्वजनिक विगत नै पटकपटक विवादमा तानिएको छ, उसलाई जेनजीको शहीद स्मृति सभामा अतिथिको हैसियत दिने निर्णय कसले गर्‍यो ? र किन गर्‍यो ?

मञ्चमा देखिएका अर्का पात्र श्रीनिवास आचार्य पनि विवादबाट टाढा छैनन् । २०७५ सालमा आफैंमाथि गोली चलाउन लगाएर साम्प्रदायिक तनाव फैलाउन खोजेको आरोपमा उनी पक्राउ परेका थिए । प्रहरी अनुसन्धानअनुसार हिन्दु राष्ट्रको आन्दोलनलाई उग्र बनाउन आफूमाथि गोली हान्न माधव चौधरीलाई लगाइएको खुलेपछि उनीविरुद्ध हातहतियार तथा खरखजनासम्बन्धी मुद्दा चलेको थियो । चौधरी र लक्ष्मीराज अधिकारी पक्राउ परेपछि घटनाको अनुसन्धानबाट श्रीनिवासको संलग्नता खुलेको प्रहरीको दाबी थियो ।

त्यसपछि पनि श्रीनिवास विवादबाट बाहिर निस्किएनन् । गौहत्या गर्नेलाई हत्या गर्ने भन्दै उग्र अभिव्यक्ति दिएको आरोपमा २०८० असोजमा उनी सुनसरीबाट पक्राउ परे । सार्वजनिक शान्तिविरुद्धको कसुरमा उनीविरुद्ध मुद्दा चल्यो । त्यसको केही समयपछि उनी फेरि पक्राउ परे।

दुर्गा प्रसाईं नेतृत्वको आन्दोलनका क्रममा गौशालामा भएको प्रदर्शनमा समर्थकसहित सहभागी भएर उत्तेजक अभिव्यक्ति दिएको तथा त्रिशूलसहित प्रदर्शनमा सहभागी भएको घटनामा उनी पक्राउ परेका थिए । पटकपटक पक्राउ पर्ने, मुद्दा खेप्ने र छुट्ने विवादित इतिहास भएका यी पात्रहरू नै आज जेनजी शहीदको स्मृति सभामा मञ्चको अग्रभागमा देखिए ।

त्यसैले यो प्रश्न केवल विजय भण्डारी र श्रीनिवास आचार्य कार्यक्रममा किन पुगे भन्नेमा सीमित छैन। असली प्रश्न त त्योभन्दा गहिरो छ– जेनजी आन्दोलनले आखिर के बदल्यो ? एक वर्षअघि सडकमा एउटा पुस्ताले सत्ताको अहंकार, राजनीतिक संरक्षण र राज्यको जवाफदेहितामाथि प्रश्न उठाएको थियो ।

रास्वपाकी सचेतक क्रान्तिशिखा धितालले पनि यही दृश्यप्रति असन्तुष्टि जनाएकी छन् । उनले सरकारबाट जेनजी शहीद र घाइतेको अपमान महसुस भएको टिप्पणी गरेकी छन् । कार्यक्रममा गृहमन्त्रीसँगै विवादित पात्रहरू देखिएको प्रसंग उठाउँदै उनले त्यो मञ्च कसरी तयार भयो, त्यहाँ उपस्थित धर्मगुरुको भूमिका के थियो र त्यसले शहीद परिवारको पीडा कसरी सम्बोधन गर्‍यो भन्ने प्रश्न गरेकी छन्।

उनले भनेकी छन्- ‘मलाई थाहा छैन त्यो स्टेज कसरी खडा गरियो ? त्यहाँ भएका धर्मगुरुको अर्थ के थियो ? त्यो कार्यक्रमले ती परिवारको पीडा कसरी सम्बोधन गर्‍यो ? मलाई कताकता लाग्यो हामीले जेनजी सहिद र घाइतेहरूको अपमान गरिरहेका छौँ ।’

सत्ताको उग्रताविरुद्ध जेनजी आन्दोलन भए पनि त्यसको जगमा बनेको सरकार पनि विनम्र हुन नसकेको उनको टिप्पणी छ । ‘हामीले राज्यलाई प्रश्न गरेका थियौँ। सत्तालाई विनम्र हुन भनेका थियौँ। अहिले हामीमाथि प्रश्न गर्नेहरूलाई किन हामी धम्की र चेतावनीको भाषा बोल्दै छौँ ? त्यो के आज हामी अभिव्यक्ति स्वतन्त्रतालाई बल पुग्ने काम गर्दैछौं ? कि हामी बाँकी अधिकारको पनि तेजोबध गर्न उद्धत छौँ ?’ धितालको प्रश्न छ ।

यो प्रश्न गम्भीर छ, किनकि जेनजी आन्दोलन सत्ताको अनुहार फेर्न मात्र भएको थिएन । त्यो सत्ताको चरित्र फेर्नका लागि भएको दाबी गरिएको थियो । तर यदि सत्ता फेरियो, अनुहार फेरियो, कुर्सी फेरियो, भाषण फेरियो तर मञ्चमा कसलाई सम्मान दिने भन्ने संस्कार फेरिएन भने परिवर्तनको अर्थ के रह्यो ?

एक वर्षअघि सडकमा जेनजीको रगत बगेको थियो। आज त्यही रगतको सम्झनामा मञ्च सजाइएको छ। मञ्चमा फूल छन्, श्रद्धाञ्जली छन्, भाषण छन् र शहीदको नाममा भावुक शब्दहरू छन्। तर त्यही मञ्चमा विवादित विगत भएका पात्रहरूलाई विशेष स्थान दिइन्छ भने शहीदको फोटोले एउटा असहज प्रश्न गरिरहेको देखिन्छ—हामीले दिएको बलिदान यति छिट्टै बिर्सियौँ ?

जेनजीले सत्तालाई प्रश्न गरेको थियो- कसलाई अगाडि राख्ने, कसलाई सम्मान दिने र कसको आवाज सुन्ने अधिकार आखिर कसको हो ? एक वर्षपछि त्यही प्रश्न सत्ताको मञ्चमै फर्किएको छ। फरक यत्ति हो, यसपटक प्रश्न गर्नेहरू सडकमा छैनन् । प्रश्न उनीहरूकै स्मृतिको अगाडि उभिएको छ।

त्यसैले अब प्रश्न विजय भण्डारी र श्रीनिवास आचार्य मञ्चमा किन पुगे भन्ने मात्र होइन। प्रश्न यो हो- जेनजीको रगतले सत्ता परिवर्तन गर्‍यो कि सत्ताको संस्कार पनि ? यदि उत्तर दोस्रो होइन भने, एक वर्षपछि पनि जेनजीको सबैभन्दा ठूलो प्रश्न जस्ताको तस्तै छ- सत्ता फेरियो, तर सत्ता चलाउने चरित्र फेरियो त ?

प्रतिक्रिया दिनुहोस्