Logo
Logo

आन्तरिक विषय चुहाउनेलाई रास्वपाले कारबाही गर्ने


441
Shares

काठमाडौं । सरकारको कार्यशैली र अभिव्यक्तिलाई लिएर सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रैका नेता तथा सांसदहरूले सार्वजनिक रूपमा असन्तुष्टि जनाउन थालेपछि पार्टीभित्र तीव्र हलचल उत्पन्न भएको छ ।

सरकारका कामकारबाही तथा आन्तरिक असन्तुष्टिलाई लिएर सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट पार्टीका नेता तथा सांसदहरूले असन्तुष्टि पोख्न थालेपछि रास्वपामा हलचल उत्पन्न भएको हो ।

विवादित धर्मगुरुहरूको सहभागिता, अभिव्यक्ति स्वतन्त्रतामा गृहमन्त्री सुधन गुरुङले दिएको धम्कीपूर्ण अभिव्यक्ति जस्ता विषयमा सचेतक क्रान्तिशिखा धिताल, महामन्त्री विपिनकुमार आचार्य, र संगठन विभाग प्रमुख प्रमोद न्यौपाने लगायतका नेताहरूले सामाजिक सञ्जाल तथा सार्वजनिक मञ्चबाटै सरकार र आफ्नै नेतृत्वको आलोचना गरेका हुन् ।

गृहमन्त्री गुरुङ र सचेतक धितालबिच ह्वाट्सएप ग्रुपमै भनाभन हुनेसम्मको स्थिति सिर्जना भएको छ । र सांसदहरूले सरकारको निरन्तर आलोचना गरेपछि प्रधानमन्त्री बालेन शाहले समेत रास्वपा सभापति रवि लामिछानेसँग गुनासो पोखेका छन् ।

यसरी आन्तरिक गुटबन्दी र असन्तुष्टि मिडिया तथा सामाजिक सञ्जालमा छताछुल्ल हुन थालेपछि रास्वपा संसदीय दलका मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीले पार्टीका गोप्य तथा आन्तरिक विषय बाहिर चुहाउने नेता तथा सांसदहरूमाथि कडा कदम चालिने चेतावनी दिएका छन । असन्तुष्टि वा गुनासो भए पार्टी, संसदीय दल वा टेलिफोन र लिखित रूपमा दर्ता गराउने आन्तरिक विधि हुँदाहुँदै बाहिर ल्याइनु अनुशासनहीनता भएको बुर्लाकोटीको भनाइ छ ।

पार्टी र सरकारबिचको द्वन्द्व व्यवस्थापन गर्न सभापति लामिछानेले प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नुका साथै आरोप–प्रत्यारोपमा नउत्रिन सचेत गराएका छन् भने प्रधानमन्त्री कार्यालयले सांसदहरूका समस्या समाधानका लागि संयन्त्रसमेत बनाएको छ । तथापि, अनुशासन उल्लङ्घन गरी आन्तरिक कुरा बाहिर ल्याउनेहरूलाई आगामी दिनमा मौखिक वा लिखित रूपमै स्पष्टीकरण सोध्ने र कारबाहीको दायरामा ल्याउने तयारी रास्वपाले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्