Logo
Logo

जलवायु क्षतिको दाबी गर्न ‘वैज्ञानिक तथ्याङ्क’ बलियो बनाऊ : धनञ्जय रेग्मी


0
Shares

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा.धनञ्जय रेग्मीले जलवायु परिवर्तनका कारण नेपालमा भइरहेको क्षतिबारे अन्तर्राष्ट्रिय समुदायसँग बलियो रूपमा प्रस्तुत हुन वैज्ञानिक तथ्याङ्कलाई एकीकृत र प्रमाणित गर्नुपर्ने बताएका छन् । 

The current image has no alternative text. The file name is: dhanan-jaya.jpg

बिहीबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै रेग्मीले यस्तो बताएका हुन् । नेपालमा विभिन्न सरकारी निकाय, विश्वविद्यालय, अनुसन्धान संस्था र अन्तर्राष्ट्रिय संस्थाले गरेका अध्ययन तथा अनुसन्धान पर्याप्त भएपनि ती छरिएर रहेका कारण अन्तर्राष्ट्रिय मञ्चमा नेपालको एउटै आधिकारिक र विश्वसनीय तथ्याङ्क प्रस्तुत गर्न कठिनाइ भइरहेको बताए । उनले संयुक्त राष्ट्र सङ्घको महासभा तथा जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप) मा नेपालले जलवायु परिवर्तनको प्रभाव र ‘लस एण्ड ड्यामेज’ का विषय उठाउँदा राजनीतिक नाराभन्दा वैज्ञानिक प्रमाणलाई आधार बनाउनुपर्नेमा जोड दिए  । रेग्मीले नेपालमा डाटाको अभावभन्दा पनि भएका तथ्याङ्क र अनुसन्धानलाई एकीकृत गर्ने संयन्त्रको अभाव प्रमुख समस्या रहेको  बताए । 

उनले सरकारले एउटा वैज्ञानिक संयन्त्र बनाएर विभिन्न संस्थाका अध्ययनलाई समीक्षा र वर्गीकरण गर्नुपर्ने प्रस्ताव गर्नुभयो । रेग्मीकाअनुसार वर्षाको ढाँचा र कुनै निश्चित विपद् घटनामा वर्षाको प्रत्यक्ष भुमिका निर्धारण गर्ने विषय भने तुलनात्मक रूपमा जटिल छ । उनले  सबै विपद्लाई एउटै कारणसँग जोड्नुभन्दा प्रत्येक घटनाको वैज्ञानिक विश्लेषण आवश्यक रहेको बताए । 

भोटेकोशीमा भएको विनाशकारी घटनालाई नेपालका लागि गम्भीर चेतावनीका रूपमा लिनुपर्ने रेग्मीको भनाइ छ । उनले घटनाको क्षतिको यकिन विवरण निकाल्न घटनाअघिको र घटनापछिको स्याटेलाइट तस्बिर प्रयोग गर्न सकिने बताउनु भयो । त्यसबाट प्रभावित क्षेत्रमा कति घर, कृषि भूमि र अन्य संरचना थिए तथा घटनापछि कति क्षति भयो भन्ने तथ्याङ्क निकाल्न सकिने उनको भनाइ छ । भूमि उपयोगसम्बन्धी सरकारी तथ्याङ्कलाई समेत विपद् क्षतिको अध्ययनमा प्रयोग गर्न सकिने उनले बताए ।  

प्रतिक्रिया दिनुहोस्