Logo
Logo

अस्पतालबाहिर प्रसूति घटना- ड्युटीमा रहेका स्वास्थ्यकर्मीलाई कारबाही सिफारिस


252
Shares

काठमाडौं । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको गेटबाहिर एक महिलाले बच्चा जन्माउनुपरेको घटनामा ड्युटीमा रहेका स्वास्थ्यकर्मीलाई कारबाही सिफारिस भएको छ ।

नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा. सुप्रभात श्रेष्ठको संयोजकत्वमा गठित छानविन टोलीले भदौ २५ देखि २७ गतेसम्म स्थलगत अध्ययन गरी तयार पारेको प्रतिवेदन स्वास्थ्य मन्त्रालयमा बुझाउँदै अस्पताल प्रशासन, ड्युटीमा रहेका जनशक्ति र नीतिगत कार्यान्वयनमा गम्भीर कमजोरी औंल्याएको हो ।

गत २५ भदौमा प्रसूति सेवाका लागि अस्पताल पुगेकी बबिता पासवान प्रयोगशाला परीक्षणका लागि रकम मागिएपछि आर्थिक अभावका कारण उपचार नपाउने ठानेर बाहिरिएकी थिइन् । जसका कारण उनले सडक पेटीमै बच्चा जन्माउनुपर्ने परिस्थिति बनेको थियो ।

अस्पताल पुगिसकेकी बिरामीलाई रोकेर आवश्यक परामर्श दिन नसक्नु, २–३ घण्टासम्म बाहिर रहँदा समेत खोजतलास नगर्नु र अस्पतालबाट बाहिरिने वातावरण सिर्जना हुनुमा ड्युटीमा रहेका चिकित्सक, नर्स, प्यारामेडिक्स तथा सुरक्षागार्डको लापरवाही रहेको समितिको निष्कर्ष छ ।

यसका साथै, छानबिन समितिले अस्पतालका क्लिनिकल जनशक्तिमै ‘आमा सुरक्षा कार्यक्रम’ सम्बन्धी पर्याप्त जानकारी नभएको र सेवाग्राही र स्वास्थ्यकर्मीबीच सही सञ्चार हुन नसकेको औंल्याएको छ । प्रसूति सेवा निःशुल्क भएपनि ल्याब परीक्षणमा शुल्क माग्दा विपन्न बिरामीहरू सेवाबाट वञ्चित हुने गरेको भन्दै समितिले कार्यविधिमै सम्पूर्ण परीक्षण तथा सेवाको दायरा स्पष्ट र व्यवहारिक रूपमा निःशुल्क बनाउन नीतिगत सुधारको सुझाव समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्