
काठमाडौं । मधेस प्रदेशसभा सदस्य जैनब खातुनको निधन भएको छ । रौतहटको फतुवा विजयपुर नगरपालिका–५ सन्तपुर दोस्तियाकी ६५ वर्षीया प्रदेशसभा सदस्य खातुनको आज निधन भएको हो ।
बुधबार साँझ उच्च रक्तचाप र मधुमेह बढेर बेहोस भएकी सांसद खातुनलाई तत्काल उपचारका लागि वीरगञ्जस्थित नेशनल मेडिकल अस्पताल लगिएको थियो । तर, आज उनको निधन भएको फतुवा विजयपुर नगरपालिकाका उपप्रमुख अमबेय खातुनले जानकारी दिए ।
खातुन नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट समानुपातिकतर्फ प्रदेशसभा सदस्य थिइन् । यसैबीच मधेस प्रदेशसभाका सभामुख रामआशिष यादवले मधेस प्रदेशसभा सदस्य खातुनको निधनप्रति दुःख व्यक्त गरेका छन् । सभामुख यादवले आज शोक वक्तव्य जारी गर्दै सांसद खातुनप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन्।















