
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले असोज १६ गते हुने महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन पूर्वसभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् । बिहीबार पार्टीको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै उनले उक्त दिन देउवाले अधिवेशनको उद्घाटन गरिदिंदा आफूहरूका लागि सम्मानको विषय हुने बताए ।
उनले भनेका छन्, ‘मेरो आदरणीय नेता पूर्व सभापति शेरबहादुर देउवालाई आग्रह गर्न चाहन्छु, कतिपय साथीहरूले भन्नुभएको छ । अधिवेशनको दिनमा पूर्व पार्टी सभापतिले अधिवेशनको उद्घाटन गरिदिने कुरा हाम्रा निम्ति सम्मानको विषय हुन्छ ।’
पार्टी विधानले पनि अब देउवालाई सभापति बन्न नदिने गगनले स्मरण गराए । ‘पार्टीको विधानले पनि त्यही भन्छ । उहाँ अब पार्टीको सभापति बन्ने होइन,’ उनले भने ।
उनले थप भनेका छन्, ‘असोज १६ गते खुलामञ्चमा अधिवेशन प्रारम्भ गर्छौं । तीन र ४ गते वडा अधिवेशन हुन्छ । त्यसपछि बीचमा नगरको अधिवेशन हुन्छ । त्यसपछि बीचमा नगर अधिवेशन हुन्छ । जिल्ला र प्रदेशको अधिवेशनका लागि हामीसँग चाप रह्यो । पार्टीका साथीहरूसँग थप छलफल गर्ने वातावरण बन्छ भन्ने पनि हो । सकेसम्म पार्टीको एकताका लागि हामी उभिनुपर्छ ।’
गत पुसमा विशेष महाधिवेशन गरेर गगन–विश्वप्रकाश शर्मा समूहले देउवाको सभापति पद खोसेका थिए । त्यसयता कांग्रेसभित्रको विवाद बढ्दै जाँदा पार्टी फुटको संघारमा पुगेको छ । संस्थापन पक्षले असोजमा १५औं महाधिवेशन गर्दैछ भने देउवा समूहले मंसिरमा महाधिवेशन गर्ने निर्णय गरेको छ ।















