काठमाडौं । असोज ३ गते शनिबार संविधान दिवस । बिहान टुडिखेलमा आयोजित संविधान दिवसलाई सम्बोधन गरेर अपरान्ह ३ बजे राष्ट्रपति रामचन्द्र पौडेलले आयोजना गरेको चियापान समारोहमा सरिक हुन प्रधानमन्त्री बालेन साह समयमै शितल निवास पुगेका थिए । कार्यक्रम एक घण्टा ढिलो सुरु भएकोले प्रधानमन्त्री बालेन र सभामुख डिपी अर्यालबिच लामै कुराकानी भएको थियो ।

उक्त कार्यक्रममा पार्टी सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लगायतका नेताहरुको पनि उपस्थिति थियो ।
कार्यक्रमको समापनपछि विदेशी कुटनीतिक नियोगका अधिकारीहरुसँग राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना आदान प्रदानको कार्यक्रम राखिएको थियो । विदेशीहरु सँगको भेटघाट सकिन साथ प्रधानमन्त्री बालेन कोही पनि नेताहरुसँग भेटघाट नै नगरी लुरुलुरु आफ्नो बाटो लागे भने पार्टी सभापति लामिछाने, प्रचण्ड, माधव र गगन बिच केहीबेर वार्तालाप भयो ।
संविधान दिवस भनेको औपचारिकता मात्र नभएर मुलुकको वर्तमान अवस्थामा सबै दलहरु मिलेर कसरी अगाडि बढ्ने भन्ने कुरा छलफल गर्ने बेला पनि हो । पार्टी, पार्टी र नेता, नेता बिचको गहिरो सम्बन्धले मात्र मुलुकको समस्या समाधान गर्न सकिन्छ ।
यो कुरालाई प्रधानमन्त्री साहले हेक्का राखेको देखिएन । औपचारिक कार्यक्रम समापन सँगै प्रधानमन्त्री साह कसैसँग नभेटेरै बाहिरिनुलाई धेरैले गैर राजनीतिक चरित्र भनेर टिप्पणी गरेका थिए । जबकी, अन्य नेताहरुले उपस्थित कुटनीतिक नियोगका व्यक्ति, पत्रकार, कानूनविद् लगायतका व्यक्ति हरुसँग भेटघाट गरेका थिए ।
भोटेकोशी बाढी पहिरोले देश आक्रान्त भइरहेको र प्रधानमन्त्री साह न्युयोर्क भ्रमणमा जाने समय भएकोले पनि सबै दलका शीर्ष नेताहरुसँग भेट्ने, सुझाव लिने त्यो राम्रो अवसर थियो । तर कार्यक्रम सकिनासाथ आफ्नो पार्टीका सभापति लामिछानेलाई समेत जान्छु है भन्दै बिदा नहुनु एकलकाटे संस्कृति हो ।
यस्तो प्रवृत्ति र संस्कृतिले सहकार्यको वातावरण बन्न सक्दैन । त्यसो त उनको राष्ट्रपतिसँग पनि नियमित भेटघाट छैन । उनको ठाउँमा पार्टी सभापति लामिछानेले पटकपटक राष्ट्रपतिसँग भेटेर छलफल गर्ने गरेका छन् ।













