काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षक तथा कर्मचारीमाथि प्रचलित कानुनअनुसार कारबाही गर्न निर्देशन दिएका छन् ।

सामाजिक सञ्जालमार्फत शिक्षकहरू राजनीतिक कार्यक्रममा सहभागी भएको विषय सार्वजनिक भएपछि मन्त्री पोखरेलले देशभरका विद्यालयमा शिक्षकको राजनीतिक गतिविधिमाथि निगरानी गर्न पनि निर्देशन दिएका हुन् ।
यसैबीच, शिक्षा विकास तथा समन्वय एकाइ बैतडीले जिल्लाका १० वटै स्थानीय तहलाई पत्राचार गर्दै विद्यालयमा कार्यरत शिक्षकहरू राजनीतिक दलका कार्यक्रममा सहभागी भए–नभएको निगरानी गर्न आग्रह गरेको छ । शिक्षक आचरण तथा प्रचलित शिक्षा ऐन र नियमावलीविपरीत गतिविधि पाइएमा कानुनअनुसार आवश्यक कारबाही गर्न पनि भनिएको छ ।
यस्तै, शिक्षा विकास तथा समन्वय एकाइ सिन्धुलीले दुधौली नगरपालिका, सुनकोशी गाउँपालिका र तीनपाटन गाउँपालिकालाई पत्राचार गर्दै सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारी राजनीतिक दलका कार्यक्रममा सक्रिय रूपमा सहभागी भएको पाइए कारबाही गर्न आग्रह गरेको छ ।
सिन्धुलीको पत्रमा सामाजिक सञ्जालमा प्रकाशित सामग्रीका आधारमा प्रेमप्रसाद भट्टराई, सर्वेश्वर कोइराला, अर्जुनकुमार गौतम र यतिराज तिमल्सिनाको नाम उल्लेख गरिएको छ । शिक्षा नियमावली, २०५९ को दशौँ संशोधनसहितको व्यवस्थाविपरीत गतिविधि पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरी त्यसको जानकारी शिक्षा विकास तथा समन्वय एकाइलाई गराउन सम्बन्धित स्थानीय तहलाई भनिएको छ ।













