Logo
Logo

नयाँ डिजाइनको १ हजार रुपैयाँको नोट आजदेखि चलनचल्तीमा


0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले नयाँ डिजाइन तथा विशेषतासहितको १ हजार रुपैयाँ दरको बैंकनोट आजदेखि चलनचल्तीमा ल्याएको छ । राष्ट्र बैङ्कको मुद्रा व्यवस्थापन विभागले बिहीबार सूचना जारी गर्दै १ हजार रुपैयाँ दरको ‘सिरिज २०२५’ बैंकनोट साबिककै आकारमा रङ परिवर्तन गरी चलनचल्तीमा ल्याइएको जनाएको हो । नोटमा बैजनी रङ्गको घेराभित्र फिक्का हरियो रङ्ग प्रयोग गरिएको छ । 

The current image has no alternative text. The file name is: 1000.jpg

नयाँ नोटको अग्रभागमा सगरमाथाको चित्र, लालीगुराँसको पानीछाप तथा ‘१०००’ अङ्कित पानीछाप राखिएको छ । त्यस्तै, दृष्टिविहीन व्यक्तिले स्पर्शबाट नोट पहिचान गर्न सक्ने गरी रोमन अक्षर ‘एम’ तथा तेर्सा रेखाहरू राखिएका छन् ।

नोटमा सीधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिने भगवतीको चित्र तथा सीधा हेर्दा रातो र ढल्काउँदा हरियो देखिने चलायमान विशेषतायुक्त सुरक्षण धागो राखिएको छ । नोटमा नेपाल राष्ट्र बैंकका गभर्नर प्रा। डा। विश्वनाथ पौडेलको दस्तखत रहेको छ ।

नोटको पृष्ठभागमा चितवन जिल्लास्थित सरकारी हात्तीसारमा देवकली नामक हात्तीबाट जन्मिएका दुर्लभ मानिने राम र लक्ष्मण नामका जुम्ल्याहा हात्तीको चित्र राखिएको छ । त्यस्तै, नेपालको सातवटा प्रदेशलाई जनाउने गरी सातवटा लालीगुराँसको चित्र तथा हनुमानढोकास्थित ल्होँचोकमा रहेको ऐतिहासिक थामको आकृति राखिएको राष्ट्र बैङ्कले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्