काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले संयुक्त राष्ट्रसङ्घको महासभामा गाजामा नरसंहार भएको आरोपलाई अस्वीकार गर्दै त्यसलाई ‘शताब्दीकै सबैभन्दा ठूलो झुट’ बताएका छन् ।

नेतन्याहू महासभाको मञ्चमा पुगेलगत्तै विभिन्न देशका ठूलो सङ्ख्यामा प्रतिनिधि बैठकबाट बाहिरिएका थिए । केही स्थानमा ताली र कतिपय ठाउँमा विरोधको आवाज सुनिएको थियो। त्यस क्रममा महासभा कक्षका धेरैजसो सिट खाली भएका थिए ।
नेतन्याहूले बहिर्गमन गर्ने प्रतिनिधिहरूलाई ‘नैतिक रूपमा कायर’ भन्दै आलोचना गरेका थिए । उनले गाजामा इजरायलमाथि लगाइएका नरसंहारका आरोप अस्वीकार गर्दै आफ्नो सैन्य कारबाही आत्मरक्षाका लागि भएको दाबी गरेका थिए ।
उनले इरानविरुद्ध इजरायलले गरेको सैन्य कारबाहीको पनि बचाउ गर्दै इजरायलले आफ्नो सुरक्षासँगै अन्य देशको सुरक्षाका लागि समेत काम गरिरहेको दाबी गरेका थिए ।
यसअघि प्यालेस्टिनी पक्षले नेतन्याहूको भाषणका क्रममा सामूहिक रूपमा बैठकबाट बाहिरिन विभिन्न देशका प्रतिनिधिलाई आग्रह गरेको थियो ।
प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले भने प्यालेस्टिनीहरू आफ्नो मातृभूमि नछाड्ने बताएका थिए। उनले गाजा र पश्चिम किनारमा भइरहेको विनाश रोक्न अन्तर्राष्ट्रिय समुदायले ठोस कदम चाल्नुपर्ने माग गरेका थिए ।
गाजा युद्धलाई लिएर इजरायलमाथि अन्तर्राष्ट्रिय दबाब बढिरहेका बेला नेतन्याहूको भाषण भएको हो । इजरायल र हमासबीचको युद्ध २०२३ अक्टोबर ७ मा सुरु भएको थियो। त्यसयता गाजामा ठूलो मानवीय क्षति र भौतिक विनाश भएको छ ।














