Logo
Logo

वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँ : मन्त्री मेहता


126
Shares

The current image has no alternative text. The file name is: nisha-maheta.jpg

काठमाडौं ।  स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले वर्षाको जोखिमलाई मध्यनजर गर्दै मन्त्रालय उच्च सतर्कतासहित तयारी अवस्थामा रहेको बताएकी छन् । 
 
आज एक श्रव्यदृश्य सन्देश जारी गर्दै मन्त्री मेहताले हाल देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा भइरहेको र वर्षाका कारण बाढी, पहिरो तथा डुबानलगायतका विपद् सिर्जना हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै मन्त्रालय उच्च सतर्कतासहित तयारी अवस्थामा रहेको बताइन् । उनले देशभरका अस्पताल तथा स्वास्थ्य संस्थालाई आवश्यक जनशक्ति, औषधि तथा स्वास्थ्य सामग्री तयारी अवस्थामा राख्न, आकस्मिक स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न र विपद्को अवस्था सिर्जना भए तत्काल स्वास्थ्यकर्मी परिचालन हुनसक्नेगरी आवश्यक व्यवस्था गरिएको जानकारी दिइन् ।
 
मन्त्री मेहताले मन्त्रालयले प्रदेश तथा स्थानीय तहका स्वास्थ्य निकायबीच निरन्तर समन्वय कायम गर्न तथा प्रदेश स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रलाई चौबिसै घण्टा तयारी अवस्थामा राखी सूचना सङ्कलन, समन्वय र प्रतिकार्य व्यवस्थापन गरिरहेको जानकारी दिइन् ।

सम्भावित जोखिमयुक्त क्षेत्रमा आवश्यक औषधि तथा स्वास्थ्य सामग्री, सर्पदंशविरुद्धको औषधि, जीवनजललगायत अत्यावश्यक सामग्री पर्याप्त मौज्दात राख्न तथा द्रुत प्रतिकार्य टोलीलाई तयारी अवस्थामा राख्नसमेत व्यवस्था मिलाइएको मन्त्री मेहताले बताइन् । उनले विशेषगरी प्रसूतिको सम्भावित समय नजिक रहेका गर्भवती, दीर्घरोगी तथा नियमित औषधि सेवन गरिरहेका नागरिकलाई आवश्यक सावधानी अपनाउन र नियमित सेवन गर्ने औषधि पर्याप्तमात्रामा साथमा राख्न अनुरोध गरिन् । 

“स्वास्थ्य मन्त्रालय नागरिकको स्वास्थ्य सुरक्षाका लागि आवश्यक सबै संयन्त्रसहित तयारी अवस्थामा छ”, मन्त्री मेहताले भनिनन् । 

प्रतिक्रिया दिनुहोस्