Logo
Logo

लोपोन्मुख थारू लोकभाकाहरूको सङ्कलन


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ, १२ पुस । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सङ्गीत विभाग प्रमुख प्राज्ञ अशोक राईले दाङ जिल्लाका थारू समुदायमा प्रचलित तर लोपोन्मुख अवस्थामा रहेका विभिन्न लोकभाकाहरूको स्थलगत अध्ययन–अनुसन्धान तथा सङ्कलन गरेका छन् ।

प्राज्ञ राईले थारू समुदायले दसैँका अवसरमा गाउने थरपैँया, माघे संक्रान्तिको अघिल्लो रात गाउने ढङरु र विभिन्न भेटघाट तथा विशेष अवसरहरूमा गाउने हुरडुङ्या भाकाको स्थलगत अध्ययन, अनुसन्धान र सङ्कलन गरिएको बताए । प्राज्ञ राईले दसैँका अवसरमा बजाइने बाइस् ख्वाट अर्थात २२ ओटा मादलका तालको भिडियो समेत लिएको सुनाए ।

ढङरु भाका सङ्कलनमा घोराही–७ का बेझलाल चौधरीले हुरडुङग्या भाका, शान्ति नगर गाउँपालिका विष्णुदास चौधरीले धनौरा र थरपैँया भाका र बाइस् ख्वाट (२२ मादलका ताल)को संयोजन घोराही–१० का चन्द्रप्रकाश चौधरीले गरेका थिए ।

लोकभाका अध्ययन, अनुसन्धान तथा सङ्कलन सम्बन्धी कार्यको स्थानीय संयोजन कुलवीर चौधरीले गरेका थिए । उक्त लोकभाकाहरू सम्बन्धी आलेखन थारू लोकगीत अध्येता डा. गोविन्द आचार्यले गरिरहेका छन् । यसै गरी प्राज्ञ सभा सदस्य चाँदनी मल्लको संयोजनमा दार्चुला जिल्लामा बसोबास गर्ने सौका जातिमा प्रचलित तीन ओटा लोकभाकाहरूको स्थलगत अध्ययन, अनुसन्धान तथा सङ्कलन कार्य सकिएको र चाँडै नै ती सबै लोकभाकाहरूको रेकर्डिङ गरिने प्राज्ञ राईले जानकारी गराए ।

यसअघि प्राज्ञ राईले ताप्लेजुङको ओलाङचुङगोलामा पुगेर वालुङ जातिका लोकभाकाहरूको स्थलगत अध्ययन, अनुसन्धान र सङ्कलन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्