Logo
Logo

लुम्बिनीमा प्रचण्ड–माधव समूह बलियो


- दृष्टि न्युज/संवाददाता


लुम्विनी, १४ पुस । प्रतिनिधिसभा विघटनसँगै सत्तारुढ पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता कार्यकताहरू विभाजित भएका छन् । ओली, प्रचण्ड–माधव गुटले आफ्नो गुटलाई बलियो बनाउन जिल्ला–जिल्लाका नेता कार्यकर्ताहरूलाई आफूतिर तान्ने कामलाई तीव्र बनाएका छन् । लुम्विनीमा मध्यमार्गी नेताहरू कता लाग्ने भन्ने कुरामा अन्योलमा छन् ।

लुम्विनी प्रदेशमा ओली गुटमा माओवादीका प्रभावशाली नेताहरू छन् भने दाहाल–माधव गुटमा त शीर्ष नेतृत्व संलग्न छ । ओली समूहले आफूलाई बलियो देखाउन बाटो बाटोबाट टिपेर केन्द्रीय सदस्यमा नियुक्ति गरेपछि विवाद भएको छ । कतिपय नयाँ मनोनित केन्द्रीय सदस्यले राजीनामा समेत दिएका छन् । लुम्बिनी प्रदेशमा एक दर्जन भन्दा बढीले ओली पक्षद्वारा थपिएको केन्द्रीय सदस्य पद त्यागेको नेता अनुप बरालले बताए ।

उनले अझै केही नेताहरूले पनि पद त्याग्ने अवस्था रहेको दाबी गरेका छन् । उनले भने, ‘विना सोधपुझ केन्द्रीय सदस्य बनाएपछि विवाद हुने राजीनामा दिने मात्रै होइन, ओली समूहले आत्मसम्मानमा चोट पु¥याएको छ ।’ उनले लुम्बिनी प्रदेश सभामा आफूहरू बलियो रहेकोले सरकारको नेतृत्व परिर्वतन हुने पनि दाबी गरेका छन् ।

यता ओली गुटले भने लुम्बिनी प्रदेशलाई सबैभन्दा बलियो जनाधार भएको क्षेत्र भएको बताएको छ । ओली समूहका महासचिव विष्णु पौडेलदेखि अर्को समूहबाट आएर मन्त्री बनेका प्रभावशाली नेता टोपबहादुर रायमाझीको क्षेत्र भएकोले लुम्बिनी प्रदेशमा आफूहरूको वहुमत रहेको समूहको दाबी छ । तर प्रदेश राजधानी दाङको भालुवाङ सार्ने निर्णयले महासचिव पौडेलको प्रभाव कम भएको छ । राजधानी सार्ने कुराले पौडेलप्रति व्यापक असन्तुष्टि छ ।

लुम्बिनी प्रदेशका नेताहरू को कता ?
दाहाल–नेपाल समूह
घनश्याम भुसाल–रुपन्देही
कृष्णबहादुर महरा–दाङ
वर्षमान पुन–रोल्पा
गोकर्ण विष्ट–गुल्मी
वेदुराम भुसाल–अर्घाखाची
सोमप्रसाद पाण्डे –पाल्पा
चक्रपाणि खनाल–कपिलवस्तु
गणेशमान पुन–रुकुम पूर्व

ओली समूह
महामन्त्री विष्णु पौडेल–रुपन्देही
मुख्यमन्त्री शंकर पोख्रेल–दाङ
टोप वहादुर रायमाझी–अर्घाखाची
प्रदिप ज्ञवाली–गुल्मी
दलबहादुर राना–पाल्पा
बलराम अधिकारी–कपिलवस्तु
मणि थापा–प्यूठान
हृदयेश त्रिपाठीको ओलीलाई समर्थन छ भने वामदेव गौतम अझै पार्टी एकताको पक्षमा भएकोले उनको गुट तटस्थ देखिन्छ ।

नेकपा औपचारिकरूपमा मात्र विभाजन हुन बाँकी रहँदा लुम्बिनीका प्रभावशाली नेताहरू केपी शर्मा ओली र पुष्पकमल दाहाल–माधव नेपाल समूहमा आफूलाई उभ्याइसकेका छन् । लुम्बिनी प्रदेशमा धेरैजसो नेताहरू प्रचण्ड–माधव समूहमा छन् । जो ओली गुटमा छन्, तिनीहरु पदको लोभले गर्दा ओलीलाई समर्थन जनाउन बाध्य भएका हुन् । ओली गुटमा लाग्नेहरु लुम्विनी प्रदेशका विष्णु पौडेलले बाहेक अन्यले आगामी निर्वाचनमा जमानतसमेत जोगाउन सक्ने छैनन् ।

ओली समूहका विश्वास पात्र विष्णु पौडेल र शंकर पोखरेलदेखि दाहाल–नेपालका विश्वासपत्र वर्षमान पुन, घनश्याम भुसाल पनि यसै प्रदेशबाट प्रतिनिधित्व गर्छन् । कुनै समूहमा नखुलेका नेकपाका उपाध्यक्ष वामदेव गौतम पनि यसै प्रदेशका हुन् । यसले नेकपामा विभाजनपछि प्रदेशमा कुन समूहले ‘लिड’ गर्छ भन्ने निकै चासोपूर्वक हेरिएको छ । प्रदेशका १२ वटै जिल्लाका प्रभावशाली नेताहरू दुई खेमामा विभाजित भइसकेका छन् ।

राष्ट्रिय राजनीतिका प्रभावशाली नेता एवं रूपन्देही (बुटवल)बाट निर्वाचित सांसद तथा अर्थमन्त्री विष्णु पौडेल प्रधानमन्त्री ओलीका विश्वासपात्र हुन् । रूपन्देहीबाटै अर्का प्रभावशाली नेता घनश्याम भुसाल अर्को समूहमा छन् ।
आफ्नो क्षेत्रमा उनको पनि कम आंकलन गर्न हुँदैन । प्रतिनिधिसभा विघटनपछि कृषि तथा पशुपन्छी मन्त्रीबाट राजीनामा दिँदै भुसाल दाहाल–नेपाल समूहमा रहे । गुल्मीमा दुई जना प्रभावशाली नेताहरू प्रदीप ज्ञवाली र गोकर्ण विष्ट छन् । ज्ञवाली ओली समूहमा र विष्ट दाहाल–नेपाल समूहमा छन् । परराष्ट्रमन्त्री ज्ञवालीलाई ओली समूहले पार्टी प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई प्रवक्ता बनाइसकेको छ ।

दाङबाट ओली र प्रचण्डका नजिकका नेताहरू दुई खेमामा विभाजित छन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल ओली र पूर्वसभामुख कृष्णबहादुर महरा अर्को समूहमा छन् । महरा हालै राष्ट्रिय राजनीतिमा फर्किएका छन् । महरा प्रतिनिधिसभा र पोखरेल सोही क्षेत्रबाट प्रदेश सभामा निर्वाचित भएका थिए । पोखरेल नेकपा लुम्बिनी प्रदेश इञ्चार्ज पनि हुन् ।
पाल्पाबाट लगातार तीनपटक निर्वाचन जितेका पूर्वउद्योगमन्त्री सोमप्रसाद पाण्डे दाहाल–नेपाल समूहमा लागेका छन् भने पूर्वभूमिसुधार मन्त्री दलबहादुर राना ओली समूहमा छन् । पाण्डे माधवकुमार नेपालका आफन्त पनि हुन् । नेकपाको गुटमा पूर्वएमाले र पूर्वमाओवादी घुलमिल भएपछि समस्या सिर्जना भएको हो । ओली गुटमा माओवादीका प्रभावशाली नेताहरू मिसिएका छन् भने दाहाल–माधव गुटमा त शीर्ष नेतृत्व मिसिएको छ ।

कपिलवस्तुका दुई नेताहरू चक्रपाणि खनाल र बलराम अधिकारी दुई समूहमा लागेका छन् । प्रचण्ड प्रधानमन्त्री हुँदा राजनीतिक सल्लाहकार र पूर्वकृषिमन्त्री खनाल दाहाल–नेपाल र संविधानसभा सदस्य अधिकारी ओली समूहमा लागेका छन् ।

रोल्पाबाट प्रतिनिधित्व गर्ने निवर्तमान ऊर्जामन्त्री वर्षमान पुन र पूर्वसभामुख ओनसरी घर्ती दुवै दाहाल–नेपाल समूहमा छन् । नेकपा प्रदेश अध्यक्ष रहेकी घर्ती र पुन श्रीमान श्रीमती पनि हुन् । रोल्पामा प्रभावशाली धेरै नेता दाहाल–नेपाल समूहमा रहेकाले ओली समूह कमजोर देखिन्छ । रुकुम पूर्वका नेता पूर्वआपूर्तिमन्त्री गणेशमान पुन र पूर्वखेलकूद मन्त्री कमला रोका दाहाल–नेपाल समूहमा र नेकपा केन्द्रीय सदस्य खेममान खड्का ओली समूहमा लागेका छन् ।

कुनै समय एकीकृत माओवादी हुँदा बाबुराम भट्टराईका विश्वासपात्र अर्घाखाँचीका नेता टोपबहादुर रायमाझी माओवादी विभाजन भएपछि दाहाल निकट हुँदै नेकपा विभाजन हुँदा ओली समूहमा पुगेका छन् । पार्टीको सैद्धान्तिक पक्षमा दख्खल राख्ने नेकपाका पाका नेता वेदुराम भुसाल दाहाल–नेपाल समूहमा छन् । प्युठानका दाहाल निकट प्रभावशाली नेता मणि थापा ओलीतिर लागेका छन् । त्यस्तै प्रदेश सभाका प्रभावशाली नेता कृष्णध्वज खड्का दाहाल निकट नेता हुन् । पश्चिम नवलरासीवाट संघीय सरकारका सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठी ओली समूहमा लागेका छन् ।

जिल्ला अध्यक्ष को कता ?
लुम्बिनी प्रदेशमा केपी गुटको पक्षमा पाँच जना छन् भने सात जना दाहाल–नेपाल पक्षमा छन् ।
रोल्पा : सुरेन्द्र घर्ती, दाहाल–नेपाल समूह
रुकुमपूर्व : मेघबहादुर श्रेष्ठ, दाहाल–नेपाल समूह
प्यूठान – तुलसीराम शर्मा, दाहाल–नेपाल समूह
नवलपरासी (पश्चिम) : भविश्वर तिवारी, दाहाल–नेपाल समूह
दाङ : टीकाराम खड्का, दाहाल–नेपाल समूह
बाँके : आईपी खरेल, दाहाल–नेपाल समूह
बर्दिया : भवनकुमार थारु, दाहाल–नेपाल समूह
रुपन्देही : शिवराज सुवेदी, ओली समूह
कपिलवस्तु : झविलाल पोख्रेल, ओली समूह
अर्घाखाँची : चेतनारायण आचार्य, ओली समूह
गुल्मी : मधुकृष्ण पन्त, ओली समूह
पाल्पा : नारायण आचार्य, ओली समूह

प्रतिक्रिया दिनुहोस्