Logo
Logo

पूर्वमा बढारियो ओली गुट


- मिलन लिम्बू


  • मिलन लिम्बू

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा संवैधानिक इजलासले टुङ्गो लगाउने छ । संविधानलाई आधार मान्ने हो भने प्रतिनिधि सभा विघटनको निर्णय संवैधानिक इजलासलमार्फत खारेज हुनु पर्छ । तर, न्यायमूर्तीमा विचलन आए परिस्थिति असामान्य बन्ने छ । प्रतिनिधि सभा विघटनले निरन्तरता पाउँछ या पाउँदैन भन्ने विषयको टुङ्गो लाग्न लगभग दुई साता लाग्न सक्छ । तर, करिव दुईतिहाइ बहुमतसहित सरकारको नेतृत्व गर्दै आएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा भने तीव्रगतिमा विभाजन चल्दैछ । विभाजनका अनेक कारण छन् । तात्कालिन कारण प्रतिनिधिसभा विघटन हो । प्रतिनिधिसभा विघटन सिफारिसकर्ताको हैसियतमा वर्तमान परिस्थितिको नेतृत्वकर्ता प्रधानमन्त्री केपी शर्मा ओली हुन । असंवैधानिक कदमको पक्ष र विपक्षको आधारमा नेकपा विभाजन भयो । नेकपाका सबै संरचनामा विभाजन भइसकेको छ । सबैभन्दा ठूलो राजनीतिक दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधाव समूह र केपी ओली समूहको रुपमा विभाजित छ । नेकपा विभाजनको असर संघीय हुँदै प्रदेश सरकारमा पुगेको छ । संघीय र प्रदेश सरकार जस्तै स्थानीय सरकारमा समेत विभाजनको अवसर देखिन थालेको छ । संघ र प्रदेश जस्तै स्थानीय सरकारमा सरकार गठन र विघटनको खेल त हुने छैन । तर पार्टी विभाजनले स्थानीय सरकारको काम अधिक प्रभावित हुनेछ ।

१ नम्बर प्रदेशसभामा कुल ९३ सदस्य छन् । ९३ सांसदमध्ये नेकपाका ६७, कांग्रेसका २१, जनता समाजवादीका ३ तथा संघीय लोकतान्त्रिक मञ्च र राप्रपाका एक÷एक जना सांसद छन् । नेकपाका ६७ सांसद मध्ये पार्टी विभाजनपछि प्रचण्ड–माधव समूहको पक्षमा ४७ सांसद देखिए भने ओली समूहमा २० जना छन् ।

पार्टी विभाजनपछि संघीय सरकार मात्रै होइन प्रदेश सरकारहरु समेत संकटमा छन् । बागमती र १ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र शेरधन राईविरुद्ध अविश्वसको प्रस्ताव दर्ता भइसकेको छ । परिणाम आफ्नो पक्षमा पार्न दुवै समूहको प्रयत्नरत जारी छ । यस्तो अवस्थामा कुन पक्षको अवस्था कस्तो भन्ने मापन गर्न पार्टी शक्ति र संसद दुबै पक्षलाई आधार मान्नु पर्ने हुन्छ । यी दुई पक्षलाई आधार मानेर अध्ययन गर्दा सबै दृष्टिकोणबाट १ नम्बर प्रदेशमा प्रचण्ड–माधव पक्षको नेकपा बलियो र ओली नेतृत्वको नेकपा कमजोर देखिन्छ ।

प्रदेशसभामा अंक गणित

१ नम्बर प्रदेशसभामा कुल ९३ सदस्य छन् । ९३ सांसदमध्ये नेकपाका ६७, कांग्रेसका २१, जनता समाजवादीका ३ तथा संघीय लोकतान्त्रिक मञ्च र राप्रपाका एक÷एक जना सांसद छन् । नेकपाका ६७ सांसद मध्ये पार्टी विभाजनपछि प्रचण्ड–माधव समूहको पक्षमा ४७ सांसद देखिए भने ओली समूहमा २० जना छन् । दाबीअनुसार प्रचण्ड–नेपाल समूह बहुमतमा छ । प्रदेश १ मा सरकार बनाउन आवश्यक मत ४७ हो । जुन मत प्रचण्ड–नेपाल समूहसँग छ । तर, मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने क्रममा ३७ जना सांसदले मात्र हस्ताक्षर गरेका छन् । अविश्वासको प्रस्तावमा प्रचण्ड–माधव समूहको भनिएका बाँकी १० जना सांसदको हस्ताक्षर छैन ।

निवर्तमान आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोको भनाइलाई आधार मान्ने हो भने हतारमा अविश्वासको प्रस्ताव दर्ता गर्नु पर्दा केही सांसदको हस्ताक्षर छुटेको हो । तर, वास्ताविकता त्यो भन्दा फरक देखिन्छ । रामबहादुर थापा ‘बादल’ ओली गुटमा रहेपछि प्रदेश १ का केही सांसदले मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर नगरेका हुन । बादल ओली गुटमा गए पनि आफूहरु प्रचण्ड–माधव पक्षमै रहेको बताउने केही सांसद पछिल्लो समय प्रलोभनमा परेको प्रचण्ड–माधव पक्षको विश्वलेषण छ । उनीहरुलाई मन्त्री बनाउने आश्वासन दिइएको छ ।

कसरी बन्छ सरकार ?

माघ ७ गतेदेखि प्रदेश नं १ को हिउँदे अधिवेशन सुचारु हुने छ । जुन अधिवेशनमा मुख्मन्त्री राईले अविश्वास प्रस्तावको सामना गर्ने छन् । तीन साता लामो समयमा दुबै समूहले आफ्नो पक्षमा माहोल बनाउन प्रयसा गर्ने छन् । आफ्ना २० सांसद सहित कांग्रेस, जसपा, राप्रपा र संघीय लोकतान्त्रिक मञ्चको साथ लिन सके ओली पक्षमा ४६ मत हुनेछ । बहुमत पु¥यान १ मत आवश्यक हुन्छ । जुन मत प्रचण्ड–माधव समूहबाट तान्नु पर्ने हुन्छ । तर, यो समिकरण बनाउन ओली गुटलाई सहज छैन । ओली गुट र कांग्रेस मात्र मिलेर सरकार बन्न सक्ने अवस्था छैन । ओली गुटलाई जसपा र संघीय लोकतान्त्रिक मञ्चको साथ मिल्ने सम्भावना कम छ ।

भीम आचार्यलाई मुख्यमन्त्रीको रुपमा प्रस्ताव गर्दै प्रचण्ड–नेपाल समूहले शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन । आफ्ना पक्षका सांसद जोगाउन सके प्रचण्ड–माधव समूहलाई सरकार बनाउन कसैलाई गुहार माग्नु पर्ने आवस्था होइन । तर, सांसद सत्ता प्रलोभवनमा परे प्रचण्ड–माधव समूहलाई पनि अरुको साथ आवश्यक पर्नेछ । प्रचण्ड–माधव समूहलाई जसपा र संघीय लोकतान्त्रिक मञ्चको साथ मिल्ने सम्भावना छ । ठूलो संख्यामा आफ्ना सांसद ओली समूहमा गए कांग्रेससँग प्रचण्ड–माधव समूहले समिकरण बनाउनु पर्ने देखिन्छ ।

पार्टी र स्थानीय सरकारको अवस्था

प्रस्तुत तथ्यले १ नम्बर प्रदेशको प्रदेशसभामा कसको अवस्था के भन्ने प्रस्ट हुन्छ । सामान्य कोसिसमै प्रचण्ड–माधव समूहको नेतृत्वमा आगामी सरकार गठन हुने देखिन्छ । तर, पार्टीमा को बलियो र को कमजोर भनेर संसदको गणितले मात्र यकिन हुँदैन । पार्टीको अवस्था बुझ्न जिल्ला पार्टी र स्थानीय सरकारको आँकडाले सहयोग गर्न सक्छ । जिल्ला पार्टी र स्थानीय सरकारमा प्रचण्ड–नेपाल र ओली गुट नेकपाको अस्था यसरी हेर्न सकिन्छ ।

झापा

नेकपा फुट्दा एउटा समूहको नेतृत्वकर्ता ओली गुट गृहजिल्ला झापामा बलियो छ । पार्टी अध्यक्ष चिन्तन पाठक ओली पक्षमा छन् भने सचिव विजय साम्पाङ राई प्रचण्ड–माधव समूहमा छन् । १५ स्थानीय सरकारमध्ये झापामा नेकपाले ८ वटा स्थानीय तह जितेको हो । जसमध्ये ७ स्थानीय सरकार प्रमुख ओली गुटका हुन् भने १ स्थानीय सरकार प्रमुख प्रचण्ड–माधव समूहमा छन् ।

इलाम

पूर्वप्रधानमन्त्री झलनाथ खनाल र संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङको जिल्ला इलाममा दुवै पक्ष बराबर देखिन्छ । पार्टी अध्यक्ष राम राना ओली गुटमा छन भने सचिव सोममाया राई प्रचण्ड–माधव समूहका नेता हुन । नेकपाले १० मध्ये ६ स्थानीय तह जितेको हो । ६ स्थानीय सरकार प्रमुख मध्ये ३ जना प्रचण्ड–माधव र ३ जना ओली गुटका हुन् ।

पाँचथर

वर्तमान भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्बाङको जिल्ला पाँचथरमा पार्टी अध्यक्ष राजकुमार भण्डारी ओली गुटका हुन भने सचिव सूर्य जबेगु प्रचण्ड–माधव समूहका हुन । ८ मध्ये ५ स्थानीय तह नेकपाले जितेको हो । जसमा तीन स्थानीय सरकार प्रमुख प्रचण्ड–माधव र दुई ओली गुटका हुन् ।

ताप्लेजुङ

निवर्तमान पर्यटनमन्त्री योगेश भट्टराईको गृह जिल्ला ताप्लेजुङमा ओली गुटको अवस्था शून्यजस्तै छ । प्रतिनिधिसभा र प्रदेशसभामा ओली गुटका एक सदस्य पनि छैनन् । त्यस्तै पार्टीको केन्द्रीय समितिमा पनि ताप्लेजुङका कोही पनि ओली गुटमा छैनन् । पार्टी अध्यक्ष विजय किरात र सचिव बलबहादुर साम्बोहाङ प्रचण्ड–माधव पक्षका हुन् । ताप्लेजुङमा ९ मध्ये ५ स्थानीय तह नेकपाले जितेको हो । जसमध्ये ४ स्थनीय सरकार प्रमुख प्रचण्ड–नेपाल र एक ओली गुटका हुन् ।

मोरङ

मोरङमा पनि ओली समूह कमजोर देखिन्छ । पार्टी अध्यक्ष ऋषिकेश पोखरेल ओली गुटमा छन् भने, सचिव गणेश उप्रेती प्रचण्ड–माधव समूहका हुन । प्रदेशसभामा कजमोर ओली गुट स्थानीय सरकारमा समेत कमजोर छ । मोरङमा नेकपाले ६ स्थानीय तह जितेको हो । ६ मध्ये तीन स्थानीय सरकार प्रमुख प्रचण्ड–माधव समूहका हुन भने दुई ओली गुटका हुन । ओली गुटका नेता तथा वर्तमानमन्त्री भानुभक्त ढकाल र नेता घनश्याम खतिवडालगायतको जिल्ला भए पनि मोरङमा ओली गुट कमजोर छ ।

सुनसरी

सुनसरीमा पनि प्रचण्ड–माधव समूह बलियो देखिन्छ । पार्टी अध्यक्ष योगन्द्र मण्डल र सचिव रमेश वस्नेत दुबै प्रचण्ड–माधव समूहका नेता हुन । स्थानीय तहको निर्वाचनमा कमजोर नेकपाले २ ठाउँमा मात्र जितेको हो । दुई स्थानीय सरकार प्रमुख दुवै एक÷एक समूहका हुन ।

धनकुटा

स्थानीय तह निर्वाचनमा तत्कालिन नेकपा एमालेले ‘क्लिन स्वीप’ गरेको धनकुटामा प्रचण्ड–माधव समूहको अवस्था बिजोग छ । पार्टी अध्यक्ष राजेन्द्र राई मुलत बामदेव गौतम पक्षका हुन् । तर पछिल्लो समय ओली गुट निकट छन् । सचिव ऋषीराम ढुङ्गाना माधव–प्रचण्ड समूहका हुन् । ७ वटा स्थानीय सरकार प्रमुखमध्ये ५ ओली र २ प्रचण्ड–माधव समूहका हुन ।

तेह्रथुम

तेह्रथुममा ओली समूह कमजोर छ । पार्टी अध्यक्ष लक्ष्मण तिवारी र सचिव इन्द्र इम्सङ दुबै प्रचण्ड–माधव समूहका हुन । जितेको ६ स्थानीय सरकार मध्ये चार सरकार प्रमुख प्रचण्ड–माधव र एक ओली गुटका हुन् ।

उदयपुर

उदयपुरमा पनि प्रचण्ड–माधव पक्ष बलियो देखिन्छ । पार्टी अध्यक्ष बिनोद कटुवाल र सचिव ईश्वरमणि राउत दुवै प्रचण्ड–माधव समूहका हुन् । जितेको सात स्थनीय सरकारमध्ये प्रचण्ड–माधव समूहमा ५ स्थानीय सरकार प्रमुख छन् । दुई सरकार प्रमुख ओली गुटका हुन् ।

भोजपुर

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको जिल्ला भोजपुरमा दुबै पक्ष बराबर देखिन्छ । पार्टी अध्यक्ष प्रेमकुमार राई ओली गुट र सचिव बिमल खड्का प्रचण्ड–माधव पक्षका हुन । जितेको पाँच स्थानीय सरकार मध्ये तीन सरकार प्रमुख ओली र दुई प्रचण्ड–माधव पक्षमा छन् ।

खोटाङ

खोटाङमा प्रचण्ड–माधव समूहको अवस्था राम्रो छ । पार्टी अध्यक्ष पृथ्वी किराती र सचिव रामप्रसाद दंगाल दुवै प्रचण्ड–माधव समूहका हुन् । जितेको ६ स्थानीय सरकारमध्ये तीन÷तीन स्थानीय तहमा दुवै पक्षका सरकार प्रमुख छन् ।

ओखलढुङ्गा

ओखलढुङ्गामा ओली गुट कमजोर छ । पार्टी अध्यक्ष मोहनकुमार खड्का प्रचण्ड–माधव समूहका हुन् भने सचिव ओली गुटका हुन । जितेको पाँच स्थानीय तहमध्ये चार स्थानीय सरकार प्रमुख प्रचण्ड–माधव र एक ओली गुटका हुन् ।

सोलुखुम्बु

सोलुखुम्बुमा दुबै समूहको अवस्था बराबर देखिन्छ । पार्टी अध्यक्ष मानबीर राई ओली गुटका हुन भने सचिव गोम्बु शेर्पा प्रचण्ड–माधव समूहका हुन । चार स्थानीय सरकार प्रमुख प्रचण्ड–माधव समूहका हुन भने तीन प्रमुख ओली गुटका हुन् ।

संखुवासभा

संखुवासभामा पनि दुबै समूह बराबर देखिन्छन् । पार्टी अध्यक्ष हेमराज घिमिरे र सचिव कृष्ण जिमि दुबै प्रचण्ड–माधव समूहका हुन । जितेको पाँच गाउँपालिका सबै ओली गुटका छन् । स्थानीय सरकारमा प्रचण्ड–माधव समूह शून्य छन् भने प्रदेशसभामा ओली गुट शून्य छन् ।

प्रतिक्रिया दिनुहोस्