Logo
Logo

कविशिरोमणि लेखनाथ पौड्यालको १३७औँ जन्मजयन्ती मनाइयो


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ, १६ पुस । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा बुधबार कविशिरोमणि लेखनाथ पौड्यालको १३७औँ जन्मजयन्ती प्रज्ञा परिसरमा अवस्थित कविशिरोमणिको प्रतिमामा माल्यार्पण गरी श्रद्धाञ्जलि अर्पण गरेर मनाइयो ।

कार्यक्रममा बोल्दै कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाली कवितासाहित्यको श्रीवृद्धिमा कविशिरोमणि लेखनाथ पौड्यालले महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो । कुलपति उप्रेतीले भन्नुभयो- “नेपाली कवितासाहित्यको आधुनिकीकरण गर्ने कार्यमा कविशिरोमणि पौड्यालको विशिष्ट योागदान छ । जीवनलाई प्रकृतिसँग जोड्ने कार्य उहाँले कवितामार्फत् गर्नुभयो । यसकारण नेपाली कविताका क्षेत्रमा उहाँको योगदान अतुलनीय छ ।”

उपकुलपति डा. जगमान गुरुङले कविशिरोमणि पौड्याल र उहाँकी धर्मपत्नी सत्यदेवी सापकोटा पौड्यालको नाममा उहाँको जन्मस्थल कास्कीमा एक प्रतिष्ठान स्थापना गरी उहाँको योगदानलाई जीवन्त राख्नुपर्ने आवश्यकता औँल्याउनुभयो । कार्यक्रममा कुलपति र उपकुलपतिलाई कविशिरोमणि पौड्यालकी कान्छी छोरीपट्टिकी नातिनी डा. प्रतिमा पाण्डेले पौड्यालकी धर्मपत्नी सत्यदेवीको तस्बिर हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा प्राज्ञ डा. देवी नेपालले कविशिरोमणिका कविता तरुण तपसी र कालमहिमा पाठ गर्नुभएको थियो । सो अवसरमा कलाकारहरू विकासनाथ योगी, सुरेशराज बज्राचार्य र रमेश अधिकारीले मङ्गलधुन प्रस्तुत गर्नुभएको थियो ।

वि.सं. १९४१ पुस १५ गते कास्की जिल्लाको अर्घौंअर्चलेमा पौष शुक्ल एकादशीका दिन जन्मिनुभएका पौड्यालको निधन २०२२ साल फागुन ७ गते ८१ वर्षको उमेरमा चितवनको देवघाटमा भएको थियो । उहाँका ऋतुविचार (खण्डकाव्य), वुद्धिविनोद (कविताकृति), सत्यकलि संवाद (कविताकृति), सत्यस्मृति, मेरो राम, त्याग र उदयको सन्देश, गीताञ्जली (कविताकृति), तरुण तपसी (नव्यकाव्य), लक्ष्मीपूजा (नाटक), गौरीगौरव (नाटक), लालित्य (कविता कृति दुई भागसम्म) आदि प्रकाशित छन् ।

कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्याय, प्राज्ञपरिषद् सदस्यहरू प्रा. दिनेशराज पन्त, प्रा.डा. योगेन्द्रप्रसाद यादव, प्रा.डा. हेमनाथ पौडेल, प्रा.डा. उषा ठाकुर, माया ठकुरी, प्रा.डा. गोपीन्द्र पौडेल, लक्ष्मी माली र डा. देवी नेपाल उपस्थित हुनुहुन्थ्यो । यसै गरी प्रज्ञा–प्रतिष्ठानका पूर्व सदस्य सचिव प्रा.डा. जीवेन्द्रदेव गिरी, साझा प्रकाशनका अध्यक्ष, नेपाल बैँक लिमिटेडका अध्यक्ष वासुदेव अधिकारी कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो । कार्यक्रमको सञ्चालन बुद्धि तिमल्सिनाले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्