Logo
Logo

‘वाम आन्दोलन अब नयाँ शिराबाट सुरु गर्नुपर्छ’ (भिडियोसहित)


राम कार्की, वामपन्थी नेता

0
Shares

नेपालको वामपन्थी आन्दोलन लामो समयदेखि वैचारिक विचलन, सांगठनिक विघटन र नेतृत्वको सत्तामोह जस्ता गम्भीर संकटबाट गुज्रिरहेको छ । कम्युनिस्ट पार्टीहरूले मजदुर र किसानसँगको सम्बन्ध कमजोर बनाएको तथा माक्र्सवादको मौलिक मर्मलाई आत्मसात गर्न नसकेको जनगुनासो तीव्र रूपमा उठिरहेको छ । यिनै समसामयिक राजनीतिक मुद्दाहरूलाई केन्द्रमा राखेर दृष्टिका लागि हिरेन्द्र शाहीले नेपालको कम्युनिस्ट आन्दोलनको वर्तमान अवस्था, यसको विघटनका आन्तरिक कारण, माक्र्सवादको अपरिहार्यता, संसदीय राजनीतिका सीमा, र वाम आन्दोलनको भावी पुनर्गठनका दिशाबारे वामपन्थी चिन्तक तथा नेता राम कार्कीसँग गरेको कुराकानीः

नेपालको वाम आन्दोलनको भविष्यलाई कसरी हेर्नुभएको छ ?
कम्युनिस्टहरुको पहिलो दायित्व इतिहासको अध्ययन गर्ने र वर्तमानको विश्लेषण गर्ने हो । यसपछि मात्रै भविष्यको लागि नीति, कार्यक्रम बनाउन सकिन्छ । अहिलेको वर्तमान परिस्थितिको अध्ययन तथा विश्लेषण नै माक्र्सवादी ढंगले भईरहेको छैन भन्ने मेरो गुनासो छ । जति पनि नाम कहलिएका माक्र्सवादीहरु छन्, उनीहरुले सतही मात्रै कुरा गरिरहेका छन् । घटनाको बारेमा गहिराईमा गएर कारणहरु खोतल्ने काम भएको छैन । वर्तमान परिस्थितिको यथार्थ अध्ययन तथा विश्लेषण गर्न सबैको ध्यान जानु आवश्यक छ । नेपालमा ठुला र पुराना भनिएका पार्टीहरुले यो काम गरेका छैनन् । उनीहरु अझैपनि तिलस्मी कथा बुनेर बसिरहेका छन् । देशमा जुनखालको राजनीतिक परिवर्तनहरु भइरहेका छन्, यसलाई विदेशीले गरिदियो भनिरहेका छन् । हामी त राम्रो थियौँ । असल थियौँ भनिरहेका छन् । विगत १५, २० वर्षमा पार्टीहरुले जुन व्यवहार गरे, जसरी सिद्धान्तमा विचलन देखा प¥यो । कम्युनिस्ट आन्दोलनमा अहिले देखा परेको समस्या त्यसैको परिणाम हो ।

मेरो अर्को निष्कर्ष के हो भने, कम्युनिस्ट पार्टीहरु विघटित भएका छन् । कम्युनिस्ट पार्टीको विघटन दुई तरिकाले भयो । एउटा, जुन माक्र्सवादको ‘फन्डामेन्टल’ मान्यता छ, त्यसबाट टाढिए । मजदुर, किसानसँगको सम्बन्ध पनि चुडियो । जब मासपेशी हड्डीबाट अलगिन्छ, र छाला मासपेशीबाट अलगिन्छ त्यो शरिर मृत हुन्छ । कम्युनिस्ट पार्टीलाई मृत भयो भनेर म भन्दिनँ । तर विघटित छ । यद्यपि, समाजमा कम्युनिस्टहरु छन् । कतिपय तिनै कम्युनिस्ट पार्टीको तल्लो तहमा छन् र कतिपय बाहिर पनि छन् । अहिलेको नेपाली समाज कम्युनिस्टहरु भएको तर कम्युनिस्ट आदर्श बोकेको पार्टी नभएको समाज हो ।

कम्युनिस्ट पार्टीहरुमा कार्यकर्तालाई किन आलोचनात्मक बन्न दिइदैन ?
नेपालको कम्युनिस्ट आन्दोलनको संगठनात्मक प्रश्नमा आदर्शवादी एकतत्ववाद हाबी थियो । माक्र्सवादीहरुले दर्शनमा भौतिकवादी एकतत्ववादलाई मान्छन् । नेपालको कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टी एकढिक्का हुनुपर्छ । एउटै सोच हुनुपर्छ, भन्ने खालको सोच छ । अहिले विघटित पार्टीलाई जोडजाड गर्ने जुन कसरतहरु भइराखेको छ, जबसम्म बिचार, सोँच र कार्यपद्धती फेरिदैन त्यसको उत्पादन पुनः पुरानै तरिकाको हुने हो । पार्टी कमजोर हुँदा जनवाद लाग्ने, सबै बराबर जस्तो लाग्ने तर पार्टी शक्तिशाली भइसकेपछि केन्द्रीयता हाबी हुने । नेता परमेश्वर बन्ने अरु भक्त बन्ने कुरा नै दोहोरिन्छ ।

अब नयाँ आन्दोलन उठाउनका लागि, नयाँ पार्टी बनाउनका लागि दर्शन, सिद्धान्त, संगठनात्मक सिद्धान्तसम्म छलफल गर्नुपर्छ । अहिले हामी धेरै पछाडिसम्म नगएपनि लेनिन र एलेक्जेन्डर बोग्दानोभसम्म जानुपर्छ । एकजनाको ‘इम्पेरियो क्रिटिसिज्म्’, र अर्कोको ‘इम्पेरियो मोनोलिज्म्’ दुई दार्शनिक रचना छन् । नेपालका धेरै कार्यकर्ताहरुलाई एलेक्जेन्डर बोग्दानोभ बारे थाहै छैन । जो बोल्सेभिक पार्टीका नेता थिए । लेनिन र उनको दर्शनमा ठुलो ‘डिबेट’ थियो । त्यसलाई एकचोटी पढ्नुप¥यो । यसको अर्थ मैले लेनिनको सबै योगदानलाई उल्ट्याएर बोग्दानोभलाई स्थापित गर्नुपर्छ भनेको होइन । तर उनको रचना कुन परिस्थितिमा आयो ? उनी संघर्षमा भएको बेलामा लेनिनवादको विकास भएको छ । छलफल त्यहाँसम्म जानुप¥यो । माक्र्सवादीहरु जसले सबैले राज्यसत्ता कब्जा गरेनन् होला तर राजनीतिक, वैचारिक क्षेत्रमा जसले धेरै योगदान गरेका छन् । त्यसको अध्ययन, मनन गर्नुपर्छ ।

मैले ‘इन्टर आइडोलोजिकल फर्टिलाइजेशन’ को कुरा गर्छु । एउटा विचारलाई अर्को विचारको विरुद्धमा जुधाउने मात्रै होइन । लेनिनको लेनिनवाद किन र कसरी आयो अध्ययन गर्नुप¥यो । लेनिनले अग्रदस्ता, अग्रदस्ताको नेतृत्वमा सशस्त्र क्रान्ति र सर्वहाराको अधिनायकत्व भनेका छन् । नेपालका कम्युनिस्टहरुले सर्वहाराको अधिनायकत्व लागु नगर्ने । सशस्त्र फौज पनि नबनाउने । अनि पार्टीको सिद्धान्त चाहिँ लेनिनवाद भन्ने गरेका छन् । लेनिनको प्रणालीबाट एउटा कुरा झिकेर लेनिनवाद भन्न मिल्दैन । त्यसो गर्नु पञ्चायतले संसारका राम्रा व्यवस्थाहरुबाट हामीले राम्रा कुरा ल्याएका छौँ भनेजस्तै सारसंग्रहवादी कुरा हो ।

नेपालका कम्युनिस्ट पार्टीहरुमा भइरहेका दुई लाइन संघर्षलाई हामी कसरी बुझ्न सक्छौँ ?
सिद्धान्तलाई र माक्र्सवादलाई अंगिकार गर्ने बेलामै कमजोरी रह्यो । लामो कालसम्म राजनीति ‘प्लुरल’ नै रहन्छ है ‘मोनिस्ट’ हुँदैन भन्ने सैद्धान्तिक कुरा हाम्रो आन्दोलनले बुझेन । माक्र्सवाद भन्ने कुरा पछिको कुरा हो, त्यसअघि त संस्कारको कुरा छ । हामी यस्तो जब्बर संस्कारबाट आएका छौँ, जहाँ देउरालीमा एउटा बांगो ढुंगो राखेर गयो भने एकछिनपछि कसैले त्यो ढुंगोमा सिन्दुर लगाएर जान्छ । १५ दिनपछि त्यो बाटो फर्केर आउँदा त्यो ढुंगोमा मेला लाग्ने स्थिति भइसक्छ । यस्तो ठाउँमा बारम्बार वैचारिक संघर्ष, दुई लाइन संघर्ष नगर्दासम्म त्यहाँ जनवाद बाँच्न सक्दैन । अहिले सम्झिदापनि आङ जिरिङ्ग गर्नेगरी एकमनावाद भोगेर आयौँ । म पनि पार्टीको माथिल्लो कमिटीमा थिएँ । त्यहाँ अधिकांश ९० प्रतिशत कामरेडहरु जसले जीवनमा संघर्ष गरे, जेल गए । ठुलो–ठुलो यातना भोगे । तर यस्तो अवसर कुरेर बस्ने कि, के बोल्दा आज हाम्रो अध्यक्ष पुलकित हुन्छन् ? खुशी हुन्छन् ? त्यस्तो परिस्थिति भोगेर आइयो । म त्यसका विरुद्ध बोले तर घोर अल्पमतमा परेँ । अन्तत्ः म आफैँ बाहिरिए । मैले बारम्बार भनेको थिएँ कि यो पार्टी अब विघटन हुन्छ । कोही स्वीकार गर्न तयार थिएन । अहिले पार्टीको यस्तो हालत भइसक्दा पनि स्वीकार गर्न सकेका छैनन् ।

त्यसो भए अब कम्युनिस्ट पार्टीहरुको भविष्य छैन त ?
हामी के पढ्थ्यौँ भने कम्युनिस्ट पार्टी भनेको सबै अंगमा न्युक्लियस भएको अमिवा जस्तै हो । जसलाई जति टुक्राएपनि सजिव भैहाल्छ । एउटा प्रमुख नेता हेलिकप्टरमा चढेर भाग्नासाथ, सेनाको क्याम्पमा शरण लिन जानसाथ सिंगो पार्टी पंक्ति कोमामा जाने के हो ? पार्टी संयन्त्र परिचालित नै हुन नसक्ने के हो ? माओवादी वा एमाले कार्यालयमा ५०० जना प्रतिवद्ध कार्यकर्ता उभिएर यहाँ को आउन सक्छ ? भनेर लौरो लिएर बसेको भए सबै जोगिन्थ्यो । आगो लाउने उपद्रो गर्न १५, २० जना गएका थिए । अरु त केही पनि नहुने रहेछ भनेपछि हेर्न गएका थिए । यस्तो बेला पनि कम्युनिस्ट पार्टी छ भन्छन् । यस्तोमा संकटको बेलामा पनि पार्टीको पक्षमा उभिन नसक्ने, आफ्नो सजिवता प्रमाणित गर्न नसक्ने कम्युनिस्ट पार्टी कसरी छ भन्ने ? विघटित भएको कुरा स्वीकार्नुपर्छ ।

अहिले विभिन्न पार्टी बनाउने प्रयास भएका छन्, तर म भन्न चाहान्छु, कसैले पार्टी बनाउने हो भने माक्र्सवादबाट नभाग्नुस् । अहिले उत्पीडितहरुको आवाज दिने अर्को दर्शन आइसकेको छैन । कुनै पनि बाहानामा माक्र्सवाद पुरानो भयो नभन्नुस् । माक्र्सवादको सयौँ व्याख्या छन् । कतिपय पुराना साथीहरु माक्र्सवादबाट बांगिन थालेका छन् । संसारको सातै महादेशमा कुनै पनि समुदायमा स्वतन्त्रता पुगेको छ भने पक्का त्यहाँ माक्र्सवाद पुगेको छ । माक्र्सवाद बाहेक कुनै अर्को दर्शन र सिद्धान्तले स्वतन्त्रतालाई बोकेको छैन ।

कुपोषणले मर्न लागेका नानीहरुको बिचमा दुधको बोतलको ग्यारेन्टी समाजवादले नै ग¥यो । अशिक्षाको घोर अन्धकारमा वर्णमालाको ज्योति कम्युनिस्टहरुले नै पु¥याए । उत्पीडितहरुको लागि, भोकको विरुद्ध लड्न माक्र्सवाद विरुद्ध अर्को दर्शन अहिले आएको छैन । त्यसकारण माक्र्सवादलाई नछोडौँ । त्यहाँ कसले कुन परिस्थितिमा के भनेका थिए भनेर अध्ययन गरेर नेपालमा समाजवादका लागि के कार्यक्रम बन्न सक्छ ? त्यतातिर जाउँ ।

कम्युनिस्ट पार्टीहरु भित्र नेतृत्व परिवर्तन र युवा नेतृत्वको विषयहरु उठिरहेका छन् । के वाम आन्दोलनलाई अगाडि बढाउन युवा नेतृत्व आवश्यक छ ?
मेरो सन्दर्भमा म नेतृत्व गर्छु तिमीहरु पछि आउ भनेर भन्नु नाजायज होइन । भन्न सकिने कुरा हो । अहिले जेनजी भन्ने हल्ला चलाइएको छ । जेनजी भन्ने अवधारणा पश्चिमले बोकाइदिएको अवधारणा हो । जबकी संसारका हरेक क्रान्तिमा युवाहरुको भुमिका छ । हिजो गोर्खाली फौजले नेपाल एकीकरण गर्ने बेलामा पनि १५, १६ वर्षका युवाहरु लडिरहेका थिए । क्रान्तिमा युवाको जहिले पनि भुमिका हुन्छ । पुरानो व्यवस्थालाई समाप्त गर्न कम्युनिस्टहरुले ध्वंस अथवा हिंसाको नकारात्मक काम गर्नुपर्दो रहेछ । यो ५ हजार वर्षमा नेपाली समाजमा कति हिंसा भयो ? त्यो बिर्सिने, महिला, दलितले भोगको हिंसा बिर्सेर कम्युनिस्टहरुको हिंसाको मात्रै कुरा गर्नु हुँदैन । कम्युनिस्टले बाध्यताले गरेको हिंसा हो । युवाहरुले पार्टी बनाउनुपर्छ । हामी उमेर र स्वास्थ्यले कार्यकारी भुमिका गर्न सक्दैनौँ । नत्र बुढापाकाले कम्युनिस्ट पार्टीको नेतृत्व गर्नु हुँदैन भन्ने कुरा होइन । युवा पनि हुनुपर्छ तर युवाले क्षमता विकास गरेर आउनुप¥यो । युवालाई तिव्र रुपमा क्षमता विकास गराउनुप¥यो । सैद्धान्तिक, राजनीतिक र वैचारिक रुपमा युवाले हामीलाई प्रतिस्थापन गर्नुप¥यो । युवाहरुले आफ्ना पुर्वजहरुलाई भन्ने बेला भयो, तपाईहरुको युग समाप्त भयो । मैले युवाहरुलाई हामीलाई ढाल्ने तरिका यो हो भनेर सिकाइरहेको छु ।

तपाईहरुको पुस्ताले विचार, नीति र व्यवहार एकै ठाउँमा जोडेर जानुपर्ने अवसरलाई गुमाएको हो ?
पार्टीमा जनवादी केन्द्रीयता लागु भएको छैन भन्ने कुरा मैले ३० औँ वर्षदेखि उठाउँदै आएको छु । तर यसलाई बिजातिय ठानियो । मेरो कुरालाई गैरमाक्र्सवादी कुरा गरिरहेको भनियो । मेरो त्यति बेलाको नेताले मलाई सार्वजनिक रुपमै अराजकतावादी कुरा ग¥यो भनेर भनियो ।

म मन्त्री पनि भएँ । त्यहाँ मैले नेपालको स्याटेलाइटलाई प्राथमिकता दिए । तर मन्त्रिपरिषद् र प्रधानमन्त्री ‘कन्भिन्स्’ हुनुभएन । २०, २२ देशका विभिन्न कम्पनीहरुले अध्ययन गरिदिन्छौँ भनेर इच्छा व्यक्त गरेका थिए । स्याटेलाइट बनायौँ भने बेच्नपनि सकिने रहेछ । त्यतातिर कसैको ध्यान छैन । तत्कालै ठेक्का लगाइहाल्ने फाइलमा सबैको ध्यान छ । त्यस्तो स्थितिमा म एक नम्बर नेता भएको भए भन्ने सोच आउँदो रहेछ तर त्यो सोच गलत हो । म प्रधानमन्त्री भएको भए गर्थे भन्ने लाग्दोरहेछ । तर जब एक नम्बर नेता बन्ने दौडमा लाग्छु, मेरो पनि यसैगरी भ्रष्टिकरण भइसक्थ्यो । त्यसकारण हामीले प्रजातान्त्रिक निर्णय कसरी बनाउने भन्ने कुरा महत्वपूर्ण रहेछ । राजनीतिको यो कोर्स बदल्नु आवश्यक छ ।

संसदीय व्यवस्थाको विरोध गरेर पुनः संसदमै फर्किने राजनीति गरेर तपाईहरुले कम्युनिस्ट आन्दोलनलाई सक्नुभयो भन्ने आरोप छन् नि ?
संसदको आफ्ना सीमा छन् । संयुक्त राष्ट्रसंघ अमेरिकाको बाउन्सर भएजस्तै संसद पनि पुँजीपतिको बाउन्सर जस्तै भयो । मैले त हेटौँडा महाधिवेशनमा एउटा दस्तावेज नै पेश गरेको थिएँ । अब निःशस्त्र तर जुझारु संघर्ष गर्नुपर्छ भनेर । सशस्त्र संघर्षतिर जानु हुँदैन । तर हामी निःशस्त्र हुनुको मतलव संसदमै डुब्ने, सबै कुरा छोड्ने र लडाँइ गर्दाको हाम्रो ‘भ्यालु’ छोड्ने होइन । मुख्य ध्यान सडकमा हुनुपर्छ । संसद सहायक हुनुपर्छ भनेको थिएँ ।


तर मुल नेतृत्व संसदमा गएपछि सडक खालि हुँदोरहेछ । उनैको पछि लागेर सबै कुद्दा रहेछन् । अब बन्ने पार्टीको कोर टिम सडकमै बस्नुपर्छ । शक्तिशाली टिम सडकमै बस्नुपर्छ । राजनीतिक सत्ता भनेको संसदीय वहशमा, संविधानको धारा, उपधारामा होइन संगिनमा अडिएको हुन्छ । जेनजी आन्दोलनमा पनि परोक्ष रुपमा संगिन नै प्रयोग भएर सबै उपद्रोहरु भयो । सिपाईको, सेनाको ब्यारेकलाई संयमित र मर्यादित तुल्याउने सडकले हो । त्यहि सडकबाट उठेको करले उनीहरु बाँचेको हुन्छन् । त्यही सडकमा उठ्ने झन्डाहरुले उनीहरुलाई संयमित बनाइदिन्छ ।

अब बन्ने कम्युनिस्ट पार्टीले संसदलाई उपयोग गर्नुपर्छ । संसदमा जानुपर्छ । बोल्नुपर्छ । यो निरर्थक छ, यहाँ बोलेर केही हुँदैन भनेर पनि बोल्नुपर्छ । तर यो सोचेर बोल्नु हुँदैन कि यहाँ बोलेपछि जनतालाई मैले बोेले नि तपाईहरुका लागि भनेर सुनाउनका लागि मात्रै होस् । संसदीय व्यवस्थाको निरर्थकता साबित गर्नका लागि त्यहीँ बोल्नुपर्छ । भोलि अर्को खालको जिवन्त संसद बनाउनका लागि पनि त्यसको उपयोग गर्नुपर्छ । तर सडक छोड्नु हुँदैन ।


पार्टीभित्र सामुहिक भावना कमजोर भइरहेको छ भनिन्छ, के कम्युनिस्ट पार्टीहरु भित्र साँच्चै नै सामुहिकताको भावना कमजोर बन्दै गइरहेको छ ?
पार्टी भित्र सामुहिक भावना भएको भए यस्तो स्थिति बन्दैन थियो । ३०, ३५ वर्षदेखि एउटै कमिटीमा छौँ । तर एकअर्काको दुःख, सुख कहिल्यै बाँड्दैनौ । औपचारिक सम्बन्ध मात्रै छ । एउटै गुटमा हुँदा अलिअलि खासाकखुसुक चल्छ । तर मलाई पाँच हजार रुपैयाँ चाहियो भने फुपुको छोरा खोज्दै हिड्छु । कम्युनिस्ट पार्टीभित्रको आपसी सम्बन्ध त्यति निर्जिव भइसकेको थियो । कम्युनिस्ट पार्टीभित्र रागात्मक सम्बन्ध हुनुपर्छ । रिदम हुनुपर्छ । एकअर्कालाई देख्नासाथ खुशी हुने हुनुपर्छ । प्रेम हुने हुनुपर्छ ।

यस्तो सम्बन्ध हाम्रो जीवन पारदर्शी हुँदा बन्छ । नेताहरुलाई मज्जाले भन्न सकियोस्, पहिले बसमा झुन्डिएर हिड्थे । दुःख पाएका थिए । अहिले कारमा हिडेका छन् । सबैले गरेको सहयोगले नेता कारमा हिडेको अवस्था होस् । त्यो कुरा गर्वसाथ भन्न पाइयोस् । कम्युनिस्ट पार्टीमा ६५ वर्ष पुरा भएपछि एउटा कार र डाइभर पार्टीले दिन्छ भन्न पाइयोस् । हामीकहाँ अपारदर्शी जीवनशैलीका बारेमा चर्चा नै नहुने । जीवन संस्कृतिको बारेमा चर्चा नै नहुने स्थिति भयो ।

नेताको भाषण सुनेर गएपछि कार्यकर्ताले जीवनभर अनुकरण गथ्र्यो । विपी कोइराला, पुष्पलाल, मोहनविक्रम, निर्मल लामाहरुले प्रेरणा प्रदान गर्थे । उत्साह भर्थे । अहिलेका नेतालाई कसैले कोसेली चढाउँदा तुरुन्तै भेटवार्ता दिइहाल्छ । पुराना नेता, कार्यकर्तालाई बाहिर राखेर प्रहरीले धकेलिरहेको छ । यस्ता प्रवृत्तिले अपसंस्कृति जन्माएको छ ।

माओवादी आन्दोलनले नेपाली समाजमा के रुपान्तरण ग¥यो ?
म त्यसको कार्यकर्ता भएको हिसाबले भन्छु, माओवादी आन्दोलन बेकार भएको छैन । संघर्ष खेर गएको छैन । २०६४ साल यस्तो एउटा मोड थियो, त्यतिबेला बास्तविक नेताहरुको परिक्षा भयो । नेताहरुले सशस्त्र संघर्ष छोडेपछि नयाँ बाटो पहिल्याउनुपथ्र्यो । तर नेताहरु संसदीय भासमा पस्नुभयो । लोभ, लालचबाट कसरी बच्ने केही पनि सावधानी नलिइकन पस्नु बाहेक अर्को बाटो दिन सकेनन् । जानेको के रहेछ भने कि त भरुवा बन्दुक लिएर लड्ने, होइन भने संसद जाने । त्यसकारण अब नेपालमा नयाँ सिद्धान्तकार आउनुप¥यो । अहिले कोही नेता छैनन्, जो सिद्धान्तकार बनोस् । त्यसैले अब युवाहरुको बिचबाट सिद्धान्तकार तयार पार्नुपर्छ । युवाहरु सिद्धान्तकार पनि बन्नुपर्छ । यिनीहरुले पार्टी पनि बनाउनुपर्छ ।

वाम आन्दोलनको पुनर्गठनको चर्चा भइरहेको छ, यसमा तपाईको मत के छ ?
दुई, तीन वर्ष अघिसम्म म ‘रेट्रोेफिटिङ’ को पक्षमा थिएँ । पार्टीको ‘रेट्रोेफिटिङ’ गर्ने भनेर । मैले सचिवालय बैठकमा प्रचण्डलाई तपाई नेतृत्व छोडिदिनुस् नेतृत्व ‘रोटेशन’ मा लैजाऔँ भनेको थिएँ । युवाहरुलाई छ, छ महिना दिउँ भनेको थिएँ । तर त्यसो भएन, पार्टी विघटन भयो । कुनै जीव मरिसक्यो, । गनाएपछि वरपरमा मानिसले कराएपछि मात्रै फाल्ने हो भने चेत भएन । चेतले मरिसकेपछि आफ्नो प्रिय चिज भएपनि राख्दैन । कम्युनिस्ट पार्टीहरुलाई जोड्ने कुरा नेताहरुको हो । कार्यकर्तालाई पनि बलियो भइन्छ कि भन्ने लाग्दो हो । यो कुरा उठ्नु नयाँ आउने पार्टीले हेप्दाखेरी आएको प्रतिक्रिया मात्रै हो । के जोड्ने ? के ले जोड्ने ? बिचार खोई ? टिकट त्यसैगरी दिने ? चुनावको टिकट मुख्य नेताले आफ्नो स्वेच्छाचारितामा बाँड्ने ?

यहि संस्कृति, चालचलन, नीति र कार्यक्रम ल्याउने हो ? संसदीय व्यवस्थालाई जिवन्त बनाउने के छ कार्यक्रम ? शिक्षा व्यवस्था, कृषि नीति प्रतिस्थापन गर्नुपर्ने छ । विदेश नीति परिवर्तन गर्नुपर्ने छ । त्यसको योजना के छ ? के को लागि एकता गर्ने भन्ने स्पष्ट हुनुपर्छ । अर्कोतर्फ, आ–आफ्नो पार्टीभित्र बसेर गर्ने प्रयासले पनि केही परिवर्तन भएको छैन । परिवर्तन गर्लान् भन्ने मलाई आशा छैन ।

मलाई के लाग्छ भने पहिला विभिन्न समूहबाट युवाहरुले घेरा तोडेर एकै ठाउँमा आएर छलफल सुरु गर्नुपर्छ । त्यस्तो छलफल औपचारिक तथा अनौपचारिक रुपमा पनि हुनसक्छ । कस्तो विचार, कार्यक्रम लिएर जाने हो ? लगायतका विभिन्न विषयमा छलफल गरेर नयाँ ढंगले जाने हो भने निकास निस्कन सक्छ ।

(नेपालको वाम आन्दोलनको समीक्षा र आगामी दिशाको बारेमा दृष्टिका लागि वामपन्थी नेता राम कार्कीसँग हिरेन्द्र शाहीले गरेको कुराकानीको सम्पादित अंश)

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000