Logo
Logo

भिजिट भिसामा मानवतस्करी, अध्यागमनका कर्मचारीलाई उन्मुक्ति


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २१ पुस । भिजिट भिसामा मानवतस्करी गराउने गिरोहलाई सघाउने अध्यागमनका कर्मचारीहरुले उन्मुक्ति पाएका छन् । गृह मन्त्रालयले गठन गरेको छानबिन समितिले अध्यागमनका कर्मचारीलाई जोगाएको हो ।

उपसचिव रुद्र पण्डित नेतृत्वको छानबिन समितिले लकडाउन खुकुलो भएयता १० हजार भन्दा धेरै नेपाली भिजिट भिसामा संयुक्त अरब इमिरेट्स(यूएई) पुगेको र त्यसमध्ये ९० प्रतिशत नफर्किएकाले यसमा मानव तस्करी नै भएको निष्कर्ष निकालेको छ । अध्यागमन कर्मचारीकै सेटिङमा यसरी ठूलो संख्यामा नेपालीहरु भिजिट भिसामा विभिन्न देश पुगेका हुन् ।

अध्यागमन कार्यालयकै मिलेमतोमा भिजिट भिसामा मानवतस्करी भइरहेको सूचनाका आधारमा मन्त्रालयले छानबिन समिति गठन गरेको थियो । करिब तीन साता लगाएर समितिले प्रतिवेदन बुझाइसकेको छ ।

सो समितिले अन्तर्राष्ट्रिय उडानहरु खुलेयताको तथ्याङक नै लिएर छानबिन गरेको थियो । सेप्टेम्बर १ देखि नियमित रुपमा अन्तर्राष्ट्रिय उडानहरु सुचारु भएका थिए । सेप्टेम्बर १ देखि १८ डिसेम्बरसम्म २६ हजार ४९ नेपालीहरु भिजिट भिसामा विभिन्न देश गएको देखिन्छ । त्यसमध्ये ८ हजार ६ सय ७६ जना यूएई गएका थिए । यो भिजिट भिसा डेस्कबाट गएकाको मात्र तथ्याङक हो । कोरोना महामारीका कारण अन्य डेस्कबाट समेत भिजिट भिसामा जान दिइएको थियो । आफुहरुले साढे तीन महिनाको मात्र तथ्याङक संकलन गरेको र चार महिनाको अवधिमा १० हजार भन्दा धेरै यूएई गएको स्रोत बताउँछ ।

कर्मचारीलाई उन्मुक्ति

छानबिनमा अध्यागमनमा कार्यरत कर्मचारीको भूमिका शंकास्पद देखिएपनि प्रष्ट रुपमा उनीहरुलाई दोषी देखाइएको छैन । आफुहरुलाई यसबारे विस्तृत छानबिनको अधिकार नदिइएको समितिका एक अधिकारी बताउँछन् । गोप्य नम्बर र कोड भाषाबाट अध्यागमनबाट भिजिट भिसामा जानेहरुलाई पास गराइन्छ ।

बरु भिजिट भिसामा हुने मानव तस्करीमा नेपाल एयरलाइन्सका कर्मचारीको मिलेमतो देखाइएको छ । फ्लाई दुबई, एयर अरेबियाको समेत बोर्डिङ पासको जिम्मेवारी नेपाल एयरलाइन्सको भएको र उनीहरुले पर्याप्त कागजपत्र नहुँदा समेत सेटिङका आधारमा बोर्डिङपास दिने गरेको प्रतिवेदनमा औंल्याइएको छ । यात्रा शंकास्पद लागेमा र नियममा तोकिएअनुसार कागजपत्र नभएमा एयरलाइन्सले बोर्डिङ पास नै दिन नमिल्ने प्रावधान अध्यागमनको छ । तर, नेपाल एयरलाइन्सले दुईतर्फी टिकट नभएकालाई समेत बोर्डिङपास दिने गरिएको छानबिनमा देखिएको छ । विगतमा भएका छानबिनमा पनि भिजिट भिसामा हुने मानवतस्करीमा नेपाल एयरलाइन्सका कर्मचारीको मिलेमतो देखिएको थियो । अहिले पनि उनीहरुको शंकास्पद भूमिका देखिएको छ । तर, पनि यसबारे विस्तृत अनुसन्धान नै भएन । सिआईबीलाई अनुसन्धान गर्न दिएका अध्यागमन र नेपाल एयरलाइन्सका धेरै कर्मचारीको जागिर जाने निश्चित छ । विस्तृत छानबिन नभएपछि अध्यागमन प्रमुख गौंलोचन संैजुलाई पनि हाइसञ्चो भएको छ । भिजिट भिसामा हुने सेटिङमा उनकै मिलेमतो रहेको स्रोत बताउँछ ।

अब नयाँ मापदण्ड बन्ने

भिजिट भिसामा विदेश जानेहरुका लागि नयाँ मापदण्ड बन्ने भएको छ । अब अनिवार्य रुपमा कम्तीमा १५ लाख रुपैयाँ कभर गर्ने गरी बीमा गर्नुपर्ने भएको छ । समितिले मन्त्रालयलाइ भिजिट भिसामा विदेश जानेहरुले कम्तीमा एक वर्षको यस्तो बीमा अनिवार्य गराउन सिफारिस गरेको छ । जून छिट्टै कार्यान्वायनमा लैजाने मन्त्रालयको तयारी छ । भिजिट भिसामा विदेश गएकाहरु बिरामी परे सोही बीमाबाट खर्च गर्न तथा मृत्यु भएमा समेत शव ल्याउन सहज होस् भनेर यस्तो बीमाको व्यवस्था लागू गर्न लागिएको छ । यसबाट घुम्नकै लागि विदेश जानेहरुका लागि अतिरिक्त भार पर्ने छ । हाल भिजिट भिसामा विदेश जाँदा ट्राभल इन्स्योरेन्स सबै देशमा अनिवार्य छैन ।

नेपालका बीमा कम्पनीले सामान्य ट्राभल भिसा जारी गरेपनि यस्तो किमिसको बीमा पोलिसी जारी नगरेकाले अब छलफल गरेर यस्तो बीमा पोलिसी लागू गर्न समेत सुझाव दिइएको छ ।

भिजिट भिसामा विदेश जानेमध्ये महिलाहरु धेरै समस्यामा परेकाले ४० वर्षभन्दा कम उमेरका महिलाहरुलाई विदेश जानलाई उनीहरुको अभिभावकको अनुमति अनिवार्य गराउन समेत सिफारिस गरिएको छ ।

‘भिजिट भिसामा विदेश जाँदा अनुहार हेरेर निर्णय गर्ने होइन, कागजपत्र हेरेर निर्णय गर्ने गरी मापदण्ड बनाउन भनेका छौं’ समितिका एक अधिकारीले भने,‘शंका लागेकै भरमा कसैलाई फर्काउने प्रवृत्तीले समेत अध्यागमनमा अनावश्यक चलखेल बढेको भन्ने समितको निष्कर्ष छ ।’ एक पटक विदेश गएर आइसकेको ‘ट्राभल हिस्ट्री’ भएकालाई सहज रुपमा जान दिन समेत सिफारिस गरिएको छ ।

भिजिट भिसामा विदेश जाँदा पासपोर्ट र भिसाबाहेक कम्तीमा एक हजार अमेरिकी डलर, दुईतर्फी टिकट, होटल बुकिङ तथा विदेशमा कोही भए स्पोन्सर वा नाता प्रमाणिकरणको कागजपत्र चाहिन्छ । डलरमा चलखेल हुने भएकाले बैंकबाटै डलर साटेको प्रमाणित गराउनुपर्ने सिफारिस समेत गरिएको छ ।

अध्यागमन कर्मचारीको हकमा गोलाप्रथाबाट डिउटीको डेस्क तोक्नुपर्ने सिफारिस समितिले गरेको गृह मन्त्रालयका प्रवक्ता बुढाले बताए । त्यस्तै धेरै जसो रातको उडानमार्फत भिजिट भिसामा विदेश जाने देखिएकाले यसमा नीतिगत निर्णय गरेर दिउँसो सार्न समेत सुझाव दिइएको छ । हाल श्रम स्वीकृती बन्द हुँदा मेनपावर कम्पनीहरुले नै यस्तो धन्दा चलाएको समेत समितिको आँकलन छ ।

भिजिट भिसामा मुख्य समस्या नेपालीको गरिबी नै भएको गृह मन्त्रालयका अधिकारीहरु बताउँछन् । देशमा रोजगारी नभएसम्म भिजिट भिसामा हुने चलखेल जारी रहने उनीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्