Logo
Logo

सभामुखले भेटे राष्ट्रपति, के भयो कुराकानी ?


0
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डोलप्रसाद अर्यालबीच भेटवार्ता भएको छ । सभामुखले शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् । दुईबीचको भेटमा समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

अहिले विपक्षी दलहरूले संसद बैठक आव्हानका लागि सरकारलाई दबाब दिइरहेका छन् । सरकार एकपछि अर्को अध्यादेश ल्याउने बाटोमा लागिरहेको बेला राष्ट्रपति र सभामुखबीच भेट भएको हो ।

भेटका क्रममा सभामुख अर्यालले सङ्घीय संसद्ले आयोजना गर्न लागेको अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) अन्तर्गतको दिगो विकाससम्बन्धी स्थायी समितिको एसिया–प्रशान्त क्षेत्रीय सम्मेलनका बारेमा राष्ट्रपति पौडेललाई जानकारी गराएको सभामुखको सचिवालयले जनाएको छ ।

त्यसैगरी, तान्जानियाको अरुसामा सम्पन्न अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को १५३औँ महासभामा नेपालले प्रस्तुत गरेको जलवायुजन्य विपद्सम्बन्धी आपत्कालीन प्रस्ताव दुईतिहाइभन्दा बढी मतले पारित भएको विषयमा पनि राष्ट्रपति अवगत गराए ।

भेटमा संसद्को अधिवेशन आह्वान तथा संसद्लाई नियमित र प्रभावकारी रूपमा सञ्चालन गर्ने विषयमा समेत छलफल भएको थियो । सभामुख अर्यालले राजनीतिक दलहरूसँगको छलफलका क्रममा संसद् सञ्चालन गर्नुपर्ने सुझाव प्राप्त भएको जानकारी गराए ।

यसैगरी, सातवटै प्रदेशका सभामुख तथा उपसभामुखसहित प्रदेशसभाका पदाधिकारीहरूसँग राष्ट्रपति र सभामुखबीच सामूहिक भेटघाट तथा छलफल गर्ने योजनाका विषयमा पनि सभामुख अर्यालले सुनाए ।

भेटका क्रममा राष्ट्रपति पौडेलले संसद्मा जति धेरै बहस र छलफल हुन्छ, त्यति नै लोकतन्त्र बलियो हुने बताए । संसद्मा हुने विचारविमर्शले लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ बनाउने उल्लेख गर्दै उनले सरकारले गरेका कामकारबाहीका विषयमा समेत चासो राखेका थिए ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000