Logo
Logo

नाम कमाउनु पनि मेरो उपलब्धि हो- तायाहाङ्मा राई, गायिका


- दृष्टि न्युज/संवाददाता


गायिका तायाहाङ्मा राईले गीतसंगीतमै १३ वर्ष विताइसकेकी छन् । यहाँसम्म आइपुग्दा उनको स्वरमा दुई सयभन्दा बढी गीत रेर्कड भइसकेको छ । तर, उनको हातमा पहिलोपटक अवार्ड हात परेको छ । यसै साता आयोजित ‘स्पर्श म्युजिक भिडियो अवार्ड–२०२०’मा गायिका तायाहाङ्मा ‘मस्ट पपुलर सिंगर’ ठहरिइन् । ‘यो मेरो सांगीतिक जीवनकै पहिलो अवार्ड हो’, अवार्ड पाएपछि खुसी बाँड्दै भनिन्, ‘अत्यन्त खुसी छु ।’ त्यसो त पहिलेजस्तो अवार्डको गरिमा छैन । यहाँ दिनैजस्तो अवार्ड र सम्मान कार्यक्रमहरु भइरहेका छन् । साथै, ‘राम्रोलाई भन्दा हाम्रोलाई अवार्ड दिने’ प्रवृतिसमेत बढेको छ । तर, आफूले पाएको अवार्ड ‘निष्पक्ष’ भएको तायाहाङ्माको भनाइ छ । हुन त अहिले अवार्डलाई कलाकारको सफलता र लोकप्रियता मापन गर्ने अवस्थामा छैन । गायिका तायाहाङ्माको अधिकांश गीत लोकप्रिय छन् । हिजोका दिनसम्म अवार्ड नपाउँदासमेत उनी खुसी थिइन् । आफ्नो लोकप्रियताकै कारण उनी देश–विदेशका कार्यक्रममा व्यस्त थिइन् । ‘तिम्रो याद’, ‘तराना’ र ‘कान्छी’जस्ता तीन सोलो एल्बमकी गायिका तायाहाङ्माका ‘कता कता’, ‘कोही छ’, ‘मायाको गहिराई’, ‘तिमी मेरो’जस्ता गीत चर्चित छन् । उनै गायिका तायाहाङ्मासँग एमपी सुब्बाको जम्काभेट :

‘मस्ट पपुलर सिंगर’को अवार्ड पाउनुभएको छ, कस्तो लागिरहेको छ ?

एकदमै खुसी छ । यो मेरो सांगीतिक जीवनकै पहिलो अवार्ड हो । त्यसोे त म अवार्डहरुमा आवेदन नै दिन्न थिएँ । मैले आवेदन नदिइ पनि इमेज अवार्डमा मनोनयनमा परेकी थिएँ ।

अवार्ड निष्पक्ष हुन्न भन्ने बुझेर आवेदन नदिनुभएको हो ?

त्यस्तै सुन्दै आएकी हुँ । तर, सबै अवार्ड कार्यक्रम बाहिर हल्ला भएको जस्तो नहुन पनि सक्छ । यस पटक मैले भोटिङका आधारमा अवार्ड पाएकी हुँ । त्यसैले निष्पक्ष रुपमै मैले अवार्ड जितेजस्तो लाग्छ ।

हिजोआज अवार्ड पाउँदैछु भन्ने पहिल्यै थाहा हुन्छ रे । तपाइँलाई थाहा थियो कि थिएन ?

आयोजकले तयारी गरेर आउनु भन्नुभएको थियो । तर, अवार्ड नै पाउँछु भन्नेचाहिँ थाहा थिएन । मेरो क्याटगोरीमा परेका सबै चर्चित थिए । त्यसैले पनि मैले नै अवार्ड पाउँछु भनेर सोचेकी थिइनँ । आयोजकले तयार भएर आउन ुभन्नुको कारणचाहिँ नर्मल पहिरनमा आउनु भन्नुभएको हो ।

यो क्षेत्रमा तपाइँको संघर्ष कति भयो ?

गीतसंगीतमै फुलटाइमर भएर लागेको १३ वर्ष भयो । यो अवधिमा संघर्ष त कति गरियो, गरियो । अझैपनि संघर्षरत नै छु ।

गायन क्षेत्रलाई कसरी रोज्नुभयो ?

सुरुमा गायिका बन्छु भन्ने सोचेकै थिइनँ । म नर्सिङ पढ्दै थिएँ । त्यतिखेरै साथीहरुले तिमी राम्रो गाउँछौं भनेर हौसला दिए । साथीहरुको हौसलापछि एउटा गीत रेर्कड गरेर आफैँले सुनेँ । मेरो स्वर आफैलाई पनि रामै्र लाग्यो । त्यसपछि गीतसंगीतलाई निरन्तरता दिएकी हुँ ।

पहिलोपटक गाउनुभएको गीत थाहा छ ?

‘तिम्रो यादमा’ बोलको गीत हो । यो गीत मेरो पहिलो एल्बम ‘तिम्रो याद’मा समावेश छ । उक्त गीतमा सुरेन्द्र मुखियाको शब्द÷संगीत रहेको छ ।

संगीतको औपचारिक प्रशिक्षण लिनुभएको छ कि छैन ?

लिएकी छु । डाक्टर किरातसँग दुई वर्ष, चण्डी काफ्ले सरसँग एक वर्ष र दीपक जंगमसँग ६ महिना संगीत सिकेँ । अहिलेचाहिँ घरमै अभ्यास गर्दै आएकी छु ।

यो १३ वर्षमा संगीतलाई कसरी बुझ्नुभयो ?

संगीत हरेक व्यक्तिका लागि अभिन्न अंग जस्तै हो । दुःखमा होस् वा सुखमा मानिसलाई संगीत चाहिन्छ । संगीतको निश्चित परिभाषा खोजेर पाइन्न । हरेक बुझाई बेग्लाबेग्लै हुन्छ । संगीतमा त्यो शक्ति छ, जसले जस्तोसुकै अवस्थामा पनि मन्त्रमुध्न बनाउँछ ।

तपाइँले संगीत क्षेत्रबाट पाएको खाश उपलब्धी के हो ?

यो क्षेत्रमा लागेर उपलब्धी नै भएको छ । सबैभन्दा ठूलो उपलब्धी नाम हो । पैसा त हरेक क्षेत्रमा कमाइन्छ । तर, संगीतमा लागेर मैले नामसँगै पैसा पनि कमाएकी छु । देश विदेश घुम्ने अवसर पाएकी छु । यो नै मेरो लागि उपलब्धी हो ।

हिजोआज के गर्दै हुनुहुन्छ ?

कोरोना संक्रमणको महामारीका कारण अहिले स्टेज कार्यक्रमहरु भएको छैन । करिब ९ महिनापछि बल्ल सामान्य अवस्थामा फकिँदैछौँ । नयाँ गीतको तयारी गर्दैछु । चाँडै रेकर्डिङ सुरु गर्छु ।

प्रतिक्रिया दिनुहोस्