काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको व्यापार वार्ताबाट क्यानाडाको अटो उद्योगको संरक्षण सुनिश्चित नभए चीनसहित अन्य मुलुकका सवारीसाधन निर्माता कम्पनीसँग सहकार्य गर्न सकिने प्रधानमन्त्री मार्क कार्नीले बताएका छन् ।

सोमबार कम्बोडियामा पत्रकारहरूसँग कुरा गर्दै उनले अमेरिकासँगको वार्ता आफ्नो प्राथमिकता भए पनि त्यसको परिणामले युरोपेली, चिनियाँ वा जापानी कम्पनीसँग सहकार्य गर्ने विकल्प तय गर्ने बताए । अमेरिकी व्यापार नीतिका कारण क्यानाडा, अमेरिका र मेक्सिकोबीचको एकीकृत अटो उद्योग प्रभावित भएको उनको भनाइ छ ।
कार्नीका अनुसार क्यानाडामा हुने चिनियाँ लगानी आयातित पार्टपुर्जा जोडेर सवारीसाधन बनाउनेमा मात्र सीमित हुनुहुँदैन । क्यानाडामै उत्पादन केन्द्र, रोजगारी, उचित श्रम मापदण्ड र स्वदेशी आपूर्ति शृङ्खला विकास हुनुपर्छ । विद्युतीय सवारीसाधनमा प्रयोग हुने क्यानाडाका महत्त्वपूर्ण खनिजलाई पनि उत्पादनमा समेट्नुपर्ने उनले बताए ।
गत जनवरीमा क्यानाडाले चिनियाँ विद्युतीय सवारीसाधनमा भन्सार शुल्क १०० प्रतिशतबाट घटाएर ६.१ प्रतिशत कायम गरेको थियो । सुरुमा वार्षिक ४९ हजार सवारीसाधन आयात गर्न दिने सहमतिअनुसार चीनले पनि क्यानाडाली क्यानोला लगायतका कृषि उत्पादनमा कर घटाउने प्रतिबद्धता जनाएको थियो । उक्त सम्झौताबाट चिनियाँ लगानी भित्र्याउन र रोजगारी सिर्जना गर्न सकिने कार्नीको अपेक्षा छ ।
तर, ओन्टारियोका मुख्यमन्त्री डग फोर्डले चिनियाँ विद्युतीय सवारीसाधनलाई प्रवेश दिँदा क्यानाडाली रोजगारी र अमेरिकी बजारमा पहुँच जोखिममा पर्न सक्ने भन्दै सम्झौताको आलोचना गरेका छन् । अमेरिकी कम्पनी फोर्ड, जनरल मोटर्स र स्टेलान्टिसका कारखाना तीनवटै मुलुकमा छन् र तिनको उत्पादन सीमापार आपूर्ति शृङ्खलामा निर्भर छ ।
ट्रम्पले क्यानाडाबाट उत्पादन अमेरिका सार्न अटो कम्पनीहरूलाई दबाब दिँदै आएका छन् । हालै स्टेलान्टिसले जीप कम्पासको उत्पादन ओन्टारियोबाट इलिनोइस सार्ने निर्णय गरेपछि क्यानाडाले कम्पनीविरुद्ध मुद्दा हाल्ने चेतावनी दिएको छ ।
यसै साता चीनको शेन्जेनमा राष्ट्रपति सी जिनपिङसँग हुने भेटमा पनि चिनियाँ अटो उद्योगबारे छलफल हुने अपेक्षा गरिएको छ । कार्नीले शनिबार ट्रम्प र अमेरिकी उच्च अधिकारीहरूसँग व्यापार सम्झौताबारे प्रगति भएको तर केही मतभेद बाँकी रहेको बताएका थिए ।


















