Logo
Logo

पत्रकार गिरफ्तारीप्रति क्रान्तिकारी पत्रकार महासंघको निन्दा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २२ पुस । क्रान्तिकारी पत्रकार महासंघले जनपत्रकार संगठन, नेपालका संयोजक शेरबहादुर विश्वकर्मा, सो संगठनका उपत्यका संयोजक मानध्वज लामा र नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सचिव मोहन पन्तलाई पुस २० गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)को टोलीले विनाकारण नियन्त्रणमा लिएर आतंकित बनाएको घटनाप्रति क्रान्तिकारी पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघका अध्यक्ष इन्द्र राउतले एक विज्ञप्ति प्रकाशित गरी ‘प्रेस तथा विचार अभिव्यक्ति स्वतन्त्रता विरोधी राज्यको यो फासिवादी चरित्र प्रदर्शनको हाम्रो संगठन घोर भत्र्सना गर्दै कडा शब्दमा निन्दा गर्दछ’ भनिएको छ ।

महासंघले अगाडि भनेको छ ‘पत्रकारहरु लामा र पन्तलाई २० गते साँझ छाडिए पनि जनपत्रकार संगठनका संयोजक शेरबहादुर विश्वकर्मालाई प्रहरी हिरासतमै राखिएको छ । हाम्रो संगठन पत्रकार विश्वकर्मालाई विना शर्त यथाशिघ्र रिहाई गर्न जोडदार माग गर्दछ । साथै, पत्रकारहरुको पेशागत र भौतिक सुरक्षाको प्रत्याभूति दिलाउने दायित्व बोकेको राज्य प्रशासनबाटै यसरी प्रेस तथा विचार अभिव्यक्ति स्वतन्त्रतामाथि ठाडो हस्तक्षेप गर्ने कार्यमा संलग्नहरुमाथि कडा कारबाही गर्न समेत माग गर्दछ ।’

मुलुकमा प्रतिगामी फासिवादी शासनले टाउँको उठाउँदै गएको वर्तमान स्थितिमा सिंगो प्रेस जगत, त्यसमा पनि जनपक्षीय मिडिया र पत्रकारहरु अझ बढी राज्यको प्रहारको निशानामा पर्दै गएका छन् र आगामी दिनमा यो क्रम अझ बढेर जाने देखिएको छ । राज्यको यस्तो निरंकुश तथा फासिवादी कदमको विरोध एवम् प्रतिरोधमा एकताबद्ध भएर आवाज उठाउन र आन्दोलित बन्न हाम्रो संगठन सम्बन्धित सबैमा हार्दिक आह्वानसमेत महासंघले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्