काठमाडौं । आगामी स्थानीय तहको निर्वाचनमा एमालेले उम्मेदवार छनौटको कार्यविधि फेर्ने तयारी गरेको छ । महासचिव शंकर पोखरेलले उम्मेदवार छनौटको कार्यविधि फेर्ने पस्ताव राख्न लागेका हुन् । आगामी मंसिर २ र ३ गते आयोजना गर्न लागेको दुईदिने राष्ट्रिय कार्यकर्ता भेलामा प्रस्तुत गर्ने कार्यपत्रमा स्थानीय तहका उम्मेदवार छनौटको कार्यविधि समेटिएको एक पदाधिकारीले बताए ।

कार्यकर्ता भेलामा महासचिव पोखरेलले प्रस्तुत गर्ने पार्टी शुद्धिकरण र सदृढिकरण अलग्गै प्रस्तावमा यो विषय समेटिएको स्रोतले जनाएको छ । सो प्रस्तावमा स्थानीय चुनावमा पार्टीले खेल्नु पर्ने भूमिका कार्यकर्ताको मनोविज्ञानको विषयलाई समेटिएको छ । ‘विगतमा पार्टीको शीर्ष तहबाटै तोकादेश हुनेमा यो पल्ट परम्परा तोड्न लागिएको हो कार्यकर्ताहरुले नै उम्मेदवार छान्नेछन्’, एमालेका एक पदाधिकारीले भने ।
महासचिवको प्रस्तावमा कार्यकर्ताकै तहबाट उम्मेदवार छनौट गर्नुपर्ने र नेताले छानेको उम्मेदवारले जित्दैन भन्ने विषयलाई उठाइएको छ । कायकर्ताले छानेको उम्मेदवारले जित्छ भन्ने प्रस्ताव गर्नेछन् । साथै कार्यकर्ता भेलामा सुझाव समेत माग्नेछन् । अर्थात अब नेताले उम्मेदवार छान्ने प्रकृयालाई फेर्नुपर्ने मुडमा महासचिव पोखरेल रहेका छन् ।
निर्वाचन आयोगले स्थानीय तह र प्रदेशसभा निर्वाचनको मिति तथा तयारीबारे राजनीतिक दलहरूसँग छलफल गर्ने तयारी गरिरहेका बेला प्रमुख प्रतिपक्षी नेकपा एमाले भने चुनावी अभियानमा होमिने रणनीतिसहित राष्ट्रिय भेला गर्न लागेको र त्यसमा निर्वाचनमा उम्मेदवार छनौट कार्यविधि नै परिवर्तन गर्न लागेको हो । राष्ट्रिय भेलामार्फत एमालेले स्थानीय तह र प्रदेशसभा निर्वाचनको तयारीलाई पार्टीको तत्कालीन मुख्य राजनीतिक कार्यभार बनाउने भएको छ ।
निर्वाचनमा लगातार कमजोर बन्दै गएको संगठनात्मक अवस्थालाई सुधार्ने, पार्टीभित्रको असन्तुष्टि व्यवस्थापन गर्ने र आगामी निर्वाचनमा पुनरागमन गर्ने रणनीतिसहित एमालेले राष्ट्रिय भेलालाई चुनावी तयारीको प्रस्थानबिन्दु बनाउन खोजेको देखिन्छ । गएको निर्वाचनमा व्यहोरेको पराजयबाट दबाबमा परेको एमालेले अब संगठनलाई पूर्ण रूपमा निर्वाचन केन्द्रित बनाउने सन्देश तल्लो तहसम्म पु¥याउन लागेको हो ।
राष्ट्रिय भेलामा अध्यक्ष केपी शर्मा ओलीले अघि सार्ने प्रमुख दुई कार्यभारमध्ये स्थानीय र प्रदेश निर्वाचनको तयारी एक हो । पछिल्लो केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार पार्टीका सम्पूर्ण शक्ति निर्वाचनको तयारीमा परिचालन गर्ने र संगठनलाई गतिशील बनाउने निर्णय भेलाले गर्नेछ ।
एमालेले स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै यसअघि नै अन्तरपार्टी निर्देशन जारी गरिसकेको छ । उक्त निर्देशनमा पार्टीविरुद्ध षड्यन्त्र भइरहेको दाबी गर्दै आगामी निर्वाचनमा जसरी पनि सफलता हासिल गर्न अहिलेदेखि नै योजनाबद्ध तयारीमा जुट्न नेता–कार्यकर्तालाई निर्देशन दिइएको छ ।
निर्देशनमा गएको निर्वाचनमा नराम्रो पराजय भोगेको स्वीकार गर्दै आगामी दिनमा पनि ठूलाठूला चुनौती सामना गर्नुपर्ने उल्लेख गरिएको छ । पराजयको कारण र संगठनात्मक कमजोरीको गम्भीर समीक्षा गर्नुपर्ने बेला आएको अवस्थामा एमालेले चुनावी सफलतालाई प्राथमिकतामा राखेको छ ।
तर राष्ट्रिय भेला निर्वाचनको तयारीमा मात्र सीमित हुने छैन । पार्टीभित्र नेतृत्व, संगठन र राजनीतिक कार्यदिशालाई लिएर देखिएको मतभेद व्यवस्थापन गर्ने तथा वर्तमान राजनीतिक परिस्थितिमा एमालेको भूमिका पुनः परिभाषित गर्ने प्रयास पनि भेलामा हुने देखिन्छ ।
राष्ट्रिय भेलामा पहिलोपटक पूर्वराष्ट्रपति एवं वरिष्ठ नेता विद्या भण्डारीले लिखित सम्बोधनमार्फत आफ्नो धारणा राख्ने तयारी गरेकी छन् । पार्टीको नीति र नेतृत्व पुनर्गठनको बहस चलिरहेका बेला भण्डारीको लिखित सम्बोधनलाई अर्थपूर्ण रूपमा हेरिएको छ । यसले एमालेभित्र नेतृत्व र भावी राजनीतिक दिशाबारे चलिरहेको बहसलाई थप सतहमा ल्याउने सम्भावना छ ।
उपाध्यक्ष विष्णु पौडेलले एमाले नेतृत्वका सरकारले गरेका आर्थिक, सामाजिक तथा भौतिक विकासका कामबारे प्रतिवेदन प्रस्तुत गर्नेछन् । अर्का उपाध्यक्ष रामबहादुर थापाले २३ भदौको जेन–जी आन्दोलन र २४ भदौको प्रदर्शनपछि विकसित राजनीतिक परिस्थितिमा संसद्भित्र एमालेले खेल्नुपर्ने भूमिकाबारे प्रतिवेदन पेस गर्नेछन् । आन्दोलनबारे संसदमा विवादित अभिव्यक्ति दिँदै आएका थापाको प्रतिवेदनलाई पनि चासोका साथ हेरिएको छ ।
भदौमा सम्पन्न केन्द्रीय कमिटी बैठकमा पार्टीको नीति र नेतृत्व पुनर्गठनको पक्षमा उभिएका महासचिव पोखरेलले भने पार्टी शुद्धीकरण, सुदृढीकरण र स्थानीय निर्वाचनको तयारीसम्बन्धी सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । भेलाले निर्वाचन केन्द्रित राजनीतिक अभियान र संगठन परिचालनको खाका तय गर्नेछ ।
यससँगै एमालेले संविधान र लोकतान्त्रिक प्रणालीको रक्षाका नाममा राजनीतिक अभियान अघि बढाउने रणनीति पनि बनाइरहेको छ । अध्यक्ष ओलीको प्रतिवेदनमा संसद्, न्यायपालिका, संवैधानिक निकाय, प्रेस, विद्यार्थी संगठन, ट्रेड युनियन, नागरिक स्वतन्त्रता र संघीय संरचनालाई लोकतन्त्रका आधारस्तम्भका रूपमा व्याख्या गर्दै ती संस्थाको रक्षामा पार्टी अग्रपंक्तिमा उभिनुपर्ने उल्लेख छ ।
यसरी हेर्दा एमालेको राष्ट्रिय भेला एकातिर आगामी स्थानीय र प्रदेश निर्वाचनको तयारीमा संगठन परिचालन गर्ने मञ्च बन्नेछ भने अर्कोतिर वर्तमान राजनीतिक परिस्थितिमा आफ्नो भूमिका र रणनीति तय गर्ने थलो पनि हुनेछ । राष्ट्रिय भेलामा देश तथा विदेशबाट गरी ३ हजार १६४ जना प्रतिनिधि सहभागी हुनेछन् । भेलामा ३४६ जना केन्द्रीय सदस्य, ८१ जना केन्द्रीय निकायका प्रतिनिधि, ५५ जना प्रदेश, भारत प्रवास तथा प्रवासी नेपाली मञ्चका प्रतिनिधि सहभागी हुनेछन् ।
त्यस्तै, जिल्ला तहबाट ४४० जना, पालिका कमिटीबाट १ हजार ५०६ जना, संघीय संसद् तथा राष्ट्रिय सभाबाट ३५ जना, प्रदेशसभाबाट १५५ जना, स्थानीय तहका प्रमुख तथा अध्यक्ष १९६ जना, उपप्रमुख तथा उपाध्यक्ष ३४२ जना र जनसंगठनबाट ९६ जना प्रतिनिधि सहभागी हुने एमालेले जनाएको छ ।


















