काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पाँचखाल-७ स्थित ह्वाइट पार्क रिसोर्टमा प्रहरीले छापा मारी ३६ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा ३१ पुरुष र ५ महिला छन् । उनीहरूको साथबाट केही थान ल्यापटप र मोबाइलसमेत बरामद गरिएको छ ।

रिसोर्टमा चिनियाँ नागरिकहरूको शंकास्पद गतिविधि भइरहेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको संयुक्त टोलीले छापा मारेको हो । जिल्ला प्रशासन कार्यालयका अधिकृत सुनिता थापा र जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी रबिन विष्टको नेतृत्वमा खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
छापा मार्ने क्रममा रिसोर्टका दुईवटा कोठा अत्यन्तै शंकास्पद देखिएपछि थप अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को विशेष टोलीसमेत बोलाइएको छ । घटनाबारे विस्तृत अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
पछिल्लो समय काभ्रेका विभिन्न रिसोर्टहरूमा चिनियाँ नागरिकको बाक्लो उपस्थिति देखिन थालेको छ । पाँचखालमा मात्र नभई धुलिखेलको देवीथानस्थित गन्तव्य रिसोर्ट, पनौतीस्थित थुम्की रिसोर्ट र बल्थली माउन्टेन रिसोर्टलगायतका स्थानमा समेत उनीहरू मासिक रूपमा ठूलो रकम भाडा तिरेर बस्दै आएको पाइएको छ ।


















