Logo
Logo

प्यारापाइलट उत्पादन गर्न माछापुच्छ्रेमा खुल्यो प्याराग्लाइडिङ स्कुल


0
Shares

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका-५ रिभानमा प्याराग्लाइडिङ प्रशिक्षण केन्द्र (प्याराग्लाइडिङ स्कुल)सञ्चालनमा आएको छ । पोखरामा प्याराग्लाइडिङ व्यावसायिक उडान सुरु भएको करिब तीन दशकपछि दक्ष प्यारापाइलट उत्पादन गर्ने उद्देश्यले  जिल्लामै पहिलोपटक स्थापना गरिएको यस स्कुलले स्वदेशमै दक्ष प्यारापाइलट उत्पादनमा योगदान गर्नेछ ।

The current image has no alternative text. The file name is: pokhara-2.jpg

पोखरा साहसिक पर्यटनको विश्वप्रसिद्ध गन्तव्य हो । पोखरामा प्याराग्लाइडिङ पर्यटनलाई थप व्यवस्थित र विस्तार गर्ने उद्देश्यसहित एरोडाइनामिक प्याराग्लाइडिङ प्रालिले माछापुच्छ्रे गाउँपालिकासँगको सहकार्यमा रिभानस्थित मैँचेडाँडामा बिहीबारदेखि स्कुल सञ्चालनमा ल्याएको हो ।
 
पोखरामा व्यावसायिक प्याराग्लाइडिङ उडान सुरु भएको लामो समय बितिसक्दा पनि दक्ष पाइलट उत्पादन गर्ने औपचारिक प्रशिक्षण स्कुलको थिएन । प्याराग्लाइडिङका अन्तरराष्ट्रिय खेलाडीसमेत  रहेका विजय गौतम, विष्ण गौतम, किरण कार्की र अमृत अधिकारीले रु एक करोड ५० लाख लगानीमा स्कुल स्थापना गरेका हुन् ।  प्रशिक्षण केन्द्रका लागि अझै काम बाँकी रहेकाले लगानी अझै बढ्ने बताइन्छ ।

स्कुलका सञ्चालक विजय गौतमका अनुसार रिभानस्थित मैँचेडाँडाबाट उडान भरी मर्दीखोलाको किनारमा रहेको अनन्तठाँटीमा अवतरण गर्ने व्यवस्था मिलाइएको छ ।  समुद्री सतहबाट एक हजार ६८० मिटरको उचाइमा रहेको मैँचेडाँडा प्याराग्लाइडिङ उडानका लागि उपयुक्त स्थान मानिएको छ ।

यहाँबाट माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खलासँगै माछापुच्छ्रे गाउँपालिकाका लाहाचोक, ल्वाङ, अस्तामलगायतका पर्यटकीय क्षेत्र तथा पोखरा उपत्यकाको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । “हिमालको सुन्दर दृश्यसँगै उडानको अनुभव लिन सकिने भएकाले रिभानलाई प्याराग्लाइडिङ स्कुलका लागि छनोट गरेका हौँ । लामो प्रक्रियापछि यो सम्भव भएको हो । यसबाट विशेषगरी दक्ष पाइलट उत्पादनमा सहयोग पुग्नेछ भने आगामी दिनमा व्यावसायिक उडानको समेत ढोका खुल्नेछ”, सञ्चालक गौतमले भने ।

स्कुलले प्रारम्भिक १५ दिने तालिमदेखि इन्टरमिडियट, क्रस कन्ट्री तथा टेन्डमका टी-वान र टी-टु तहसम्मका प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । एक सत्रमा छ जनालाई प्रशिक्षण दिने व्यवस्था मिलाइएको गौतमले जानकारी दिए ।

हाल पोखरामा ५४ वटा प्याराग्लाइडिङ कम्पनी सञ्चालनमा छन् ।  ४०० जनाले पाइलटको लाइसेन्स लिएकामा २५० जना विभिन्न कम्पनीमा कार्यरत रहेको नेपाल हवाई खेलकुद संस्था (ना)का पूर्वअध्यक्ष कृष्ण भण्डारीले बताए । पोखराको प्याराग्लाइडिङ हाल सराङकोबाट सञ्चालन हुँदै आएको छ ।

प्याराग्लाइडिङका लागि अन्तरराष्ट्रियस्तरमा परिचित पोखरामा पाइलट उत्पादन गर्ने प्रशिक्षण स्कुल स्थापना हुनु यस क्षेत्रको दीर्घकालीन विकासका लागि महत्त्वपूर्ण उपलब्धि भएको भण्डारीको भनाइ छ ।
 
“प्याराग्लाइडिङ व्यवसायलाई दिगो बनाउन बर्सेनि दक्ष पाइलट उत्पादन हुनु आवश्यक छ । पोखरामा यसअघि प्रशिक्षण केन्द्र थिएनन् । यहीँ स्कुल स्थापना भएपछि यस क्षेत्रलाई आवश्यक जनशक्ति उत्पादनमा विशेष सहयोग पुग्नेछ भने विदेशी पर्यटकसमेत यहाँ आएर प्रशिक्षण लिन सक्नेछन्”, भण्डारीले भने ।

गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले पोखराको सराङकोटपछि रिभान पनि प्याराग्लाइडिङको अर्को आकर्षक गन्तव्यका रूपमा विकास हुनसक्ने बताए । प्याराग्लाइडिङले पोखराको पर्यटन र समृद्धिमा पुर्‍याएको योगदान माछापुच्छ्रे गाउँपालिकासम्म विस्तार हुने उनको विश्वास छ ।
 
“प्रदेश सरकारले यहाँ पूर्वाधारलगायतका क्षेत्रमा लगानी गरेको छ । प्याराग्लाइडिङको विकास र विस्तारका लागि आवश्यक पूर्वाधार निर्माणमा आगामी दिनमा पनि सहयोग गर्नेछौँ”, उनले भने ।

माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले प्याराग्लाइडिङ प्रशिक्षण केन्द्र सञ्चालनले स्थानीय पर्यटन प्रवर्द्धनसँगै आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।  विगतमा पदयात्रा मार्गका रूपमा परिचित रिभान पछिल्लो समय ओझेलमा परेको उल्लेख गर्दै उनले यस क्षेत्रको विकासमा गाउँपालिकाले ध्यान दिने बताए । 

माछापुच्छ्रे गाउँपालिका–५ का वडाध्यक्ष नारायण पौडेलले रिभानको प्याराग्लाइडिङस्थलमा पर्यटन विकासको प्रशस्त सम्भावना रहेको बताए । वडाको पहलमा प्रदेश सरकारको सहयोगमा सहिद पार्क निर्माण गरिएको उल्लेख गर्दै उनले पर्यटकको बसाइ लम्ब्याउन ओदानेसम्मको पर्यटकीय मार्ग स्तरोन्नति गरी खुमैसम्म जोड्नुपर्ने आवश्यकता औँल्याए । 

“प्याराग्लाइडिङमा पर्यटकको आकर्षण बढिरहेको अवस्थामा दक्ष जनशक्ति उत्पादन, नयाँ उडानस्थलको विकास र ग्रामीण पर्यटन विस्तारका दृष्टिले रिभानमा खुलेको स्कुल महत्त्वपूर्ण छ ।  यसबाट समग्र माछापुच्छ्रे गाउँपालिकाले लाभ लिन सक्छ”, वडाध्यक्ष पौडेलले भने ।

माछापुच्छ्रे गाउँपालिका–८ का वडाध्यक्ष राम गुरुङले गाउँपालिका पदयात्रा पर्यटनसँगै साहसिक पर्यटनमा समेत सम्भावना बोकेको क्षेत्र भए पनि यसको विकासका लागि प्रदेश तथा सङ्घीय सरकारबाट अपेक्षित सहयोग प्राप्त हुन नसकेको बताए । 

स्थानीय समाजसेवी यामबहादुर गुरुङले प्याराग्लाइडिङ स्कुल सञ्चालनले पर्यटक आगमन बढाउनुका साथै रोजगारी र उद्यमशीलताका अवसर सिर्जना गर्ने विश्वासमा आफूहरू रहेको बताए । यसले गाउँ छाडेर बाहिरिएका स्थानीयलाई समेत गाउँ फर्किएर व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउन सक्ने उनको भनाइ छ । “गाउँका अधिकांश बजार झरेपछि अहिले रिभान गाउँ रित्तो भएको छ । अब गाउँमै सम्भावना बढेपछि गाउँ छाडेर गएका पनि आफ्नै थातथलोमा फर्केलान् भनेर खुसी भएका छौँ”, गुरुङले भने । 

रिभानको मैँचेडाँडा पुग्न पोखराबाट जीपमा एक घण्टा यात्रा गर्नुपर्छ । लाहाचोकको पातीखोला पुगेपछि डाँडा चढ्नुपर्छ । डाँडामा पुगेपछि देखिने दृश्यले सबैलाई मोहित पार्ने गरेको छ । 

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000