
‘दृष्टि’ साप्ताहिक स्थापनाका ४३ वसन्त पार गरेर अब यो प्रकाशन ४४औँ वर्षमा प्रवेश गरेका छ । ‘दृष्टि’को जन्म त्यो कालखण्डमा भयो, जुनबेला मुलुकको सत्ता प्रजातन्त्र र स्वतन्त्र मिडियाको बैरी थियो । अभिव्यक्ति र प्रेस स्वतन्त्रताका कुरा सत्तासीनका लागि आँखी थिए ।
निरंकुश पञ्चायतको जगजगीका बेला आमनागरिकको राजनीतिक र अरु सबैखाले अधिकारको वकालत गर्दै जोखिम उठाएर ‘दृष्टि’को प्रकाशन सुरु गरिएको थियो । निरंकुशताका विरुद्ध नेपालका राजनीतिक दलहरू, त्यसमा पनि वामपन्थीहरूले गरेको संघर्षको साक्षी हो, ‘दृष्टि’ । त्यसैले त्यो कालखण्डमा हामीले गरेको मिडिया अभ्यासलाई ‘मिसन पत्रकारिता’ भनियो । दल र जनताले मुलुकमा प्रजातन्त्र स्थापनाका लागि गरेको संघर्षमा हामी पनि जोडिएकाले त्यो ‘मिसन’ थियो ।
२०४६ सालको राजनीतिक परिवर्तनपछि हाम्रो भूमिका प्रजातन्त्र संस्थागत गर्न सघाउने दिशामा केन्द्रित रह्यो । प्रजातन्त्र प्राप्तिपछि पनि हामी प्रत्यक्ष–परोक्ष नेपालको वामपन्थी आन्दोलनको निकटको साक्षी नै बनिरह्यौँ ।
वामपन्थी आन्दोलनले अघि सारेका सामाजिक परिवर्तन र प्रगतिशील मुद्दाहरूको वकालत ‘दृष्टि’को मूल दृष्टिकोण रह्यो । निरंकुशताविरुद्ध आवाज उठाउने, प्रजातान्त्रिक मूल्यको पक्षपोषण गर्ने अनि सार्वजनिक र आमसर्वसाधारणका सरोकारका विषयमा निरन्तर पैरवी गरेकै कारण दृष्टिले आफ्नो परिचय र पहिचान निर्माण ग¥यो । त्यो हाम्रो इतिहासको पुँजी हो । जसप्रति ‘दृष्टि’ गौरव गर्छ ।
तर, इतिहासको गौरवले मात्रै भविष्यको बाटो निर्धारण गर्दैन भन्ने कुरा हामीले बुझेका छाैँ । भविष्यको बाटो तय गर्न समयको पदचाप पछ्याउन सक्नुपर्छ । अहिले सूचना प्रविधिले चरम विकास गरेको युग हो । समय बदलिएको छ, समाज बदलिएको छ, अनि पत्रकारिताको स्वरुप र शैली बदलिएको छ ।
हिजो हामीले लेटर प्रेसबाट पत्रकारिता गरेर समाजलाई सु–सूचित गर्यौँ । अग्रगामी राजनीतिक बाटोमा अघि बढ्न प्रेरित गर्नेगरी जनमत निर्माणको कार्यभार पूरा ग¥यौँ । आज हरेका मान्छेका हातहातमा मोबाइललगायतका डिजिटल डिभाइसहरू छन् । जसमा सूचनाका बहुस्रोतहरू उपलब्ध छन् । पाठकको रुचि, सूचना प्राप्त गर्ने गति र माध्यमप्रतिको अपेक्षा फेरिएको छ । यो बदलाव र परिवर्तनलाई बेवास्ता गरेर कुनै पनि सञ्चारमाध्यामले आफ्नो सान्दर्भिकता जोगाइराख्न सक्दैन ।
यो चुनौती र यथार्थलाई गहिरो गरी आत्मसात् गर्दै ‘दृष्टि’ले छापा पत्रकारितालाई निरन्तरता दिनुका साथै अनलाइन संस्करण र मल्टीमिडियामा पनि विस्तारित हुँदै गएका छौँ । तर, माध्यामको विस्तारमात्रै हाम्रो रुपान्तरण होइन । पत्रकारिताको शैली पनि परिस्कृत हुनु जरुरी छ । लोकतान्त्रिक प्रणालीको विकास र सुदृढीकरणका लागि सत्तालाई प्रश्न र खबरदारी गर्ने हाम्रो भूमिका निरन्तर रहनेछ । लोकतन्त्र र प्रेस स्वतन्त्रता एकअर्काका परिपूरक हुन् । त्यसैले यसको पक्षमा उभिने अठोटबाट हामी विमुख र विचलित हुँदैनौँ ।
बरु, असंख्य डिजिटल प्लेटफर्म र फेक न्यूजको बाढीका कारण पत्रकारिताको विश्वसनीयता दाउमा छ । तथ्य र खोजी पत्रकारिताको अझ बढी खाँचो महसुस हुँदै गएको छ । एकातिर प्रविधिगत संक्रमण, अर्कोतिर आर्थिक र विश्वसनीयताको संकट प्रेसजगत्ले भोगिरहेका बेला ‘दृष्टि’ जस्तो पुरानो विरासत बोेकेको मिडियाले आफूलाई परिमार्जन र परिस्कृत गर्दै लैजानु आवश्यक छ । हामी छापा र विद्युतीय दुवै माध्यमलाई एकीकृत पत्रकारिताको आयामका रुपमा विकास गर्दै लैजाने अभ्यासमा छौँ ।
कुनै दल वा राजनीतिक वादको संकिर्णताको सीमामा कैद नभई खोजमूलक र जवाफदेही पत्रकारिता दृष्टिको मूलमन्त्र हो । ४४ वर्षे यात्रामा आर्जन गरेको पहिचान र प्रतिष्ठालाई अब नयाँ उचाइमा पुर्याउने समय आएको छ । विगतको विरासत जोगाउने राम्रो उपाय पुरानै ढर्रा, चिन्तन र शैलीमा अडिग रहेन होइन, समयअनुरुप रुपान्तरण गर्नु हो । इतिहासप्रति गर्व गर्ने तर इतिहासको बन्दी नबन्ने प्रण गर्ने बेला हो यो । ४४ वर्षगाँठमा हामी नयाँ समयको चुनौती सामना गर्न दृष्टिकोण, पत्रकारिताको कार्यशैली र स्वरुप बदल्न संकल्प र प्रतिबद्धता जाहेर गर्छौँ ।
अन्त्यमा, हाम्रा पाठकहरू, शुभचिन्तक र विज्ञापनदाताप्रति हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।


















