Logo
Logo

२ बालकसहित ६ जना बोकेको अमेरिकी विमान आइल्यान्डको समुद्रमा बेपत्ता


0
Shares

अमेरिकाको मिसिसिपी राज्यमा मंगलबार दिउँसो विमान दुर्घटना हुँदा दुई बालकसहित ६ जना बेपत्ता भएका छन् । अमेरिकी तटरक्षक बलका अनुसार चार वयस्क र ८ देखि १० वर्ष उमेरका दुई बालक सवार सेस्ना २१० विमान हर्न आइल्यान्डको उत्तरपूर्वी क्षेत्रमा समुद्रमा खसेको हो ।

अमेरिकी तटरक्षक बलका प्रवक्ताका अनुसार मंगलबार स्थानीय समयअनुसार दिउँसो करिब ३ः४५ बजे विमानसँगको सम्पर्क टुटेपछि खोजी तथा उद्धार टोली परिचालन गरिएको थियो । संघीय उड्डयन प्रशासन (एफएए) ले विमानसँगको सञ्चार सम्पर्क गुमाएको जानकारी गराएपछि तटरक्षक बलले खोजी सुरु गरेको हो ।

उडानसम्बन्धी विवरणअनुसार विमान लुइजियानाको न्यू अर्लिन्सबाट फ्लोरिडाको फोर्ट मायर्सतर्फ जाँदै थियो । उडान ट्र्याकिङ वेबसाइट फ्लाइटराडार२४ का अनुसार उडान सुरु भएको करिब ३० मिनेटपछि ८ हजार ८ सय फिटको उचाइमा रहेको विमान एक्कासि तीव्र गतिमा समुद्रतर्फ झरेको थियो ।

ट्र्याकिङ विवरण बन्द हुनुअघिका अन्तिम सेकेन्डमा विमान प्रतिमिनेट १८ हजार फिटको गतिमा तल झरिरहेको देखिएको थियो । यो गति प्रतिघण्टा २०० माइलभन्दा बढी हो ।

दुर्घटनाबारे राष्ट्रिय यातायात सुरक्षा बोर्ड (एनटीएसबी) ले अनुसन्धानको नेतृत्व गर्नेछ । संघीय उड्डयन प्रशासनले पनि अनुसन्धानमा सहयोग गर्ने जनाएको छ । घटनास्थलमा अमेरिकी तटरक्षक बलसँगै मिसिसिपी डिपार्टमेन्ट अफ मरिन रिसोर्सेज र स्थानीय निकायका टोली परिचालन भएका छन् ।

हर्न आइल्यान्ड मिसिसिपीको बिलोक्सीबाट करिब १२ समुद्री माइल टाढा रहेको दुर्गम टापु हो । निजी डुङ्गाबाट मात्र पुग्न सकिने यो टापु गल्फ आइल्यान्ड्स राष्ट्रिय समुद्री तटीय क्षेत्रअन्तर्गत पर्छ । यो राष्ट्रिय निकुञ्ज क्षेत्रमा मिसिसिपीदेखि फ्लोरिडासम्म फैलिएका करिब एक दर्जन टापु समेटिएका छन् ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000