Logo
Logo

‘नेपालको कूटनीति प्रतिबद्धतामा होइन, कार्यान्वयन र राष्ट्रिय स्वार्थमा केन्द्रित हुनुपर्छ’


डा. दिनेश भट्टराई, कूटनीतिज्ञ

0
Shares

प्रधानमन्त्री वालेन्द्र शाहको भ्रमणले नेपाल–भारत सम्बन्धका विभिन्न आयाम फेरि बहसको केन्द्रमा छन् । भर्खरै शाह भ्रमण सकेर फर्केका छन् । यो अवसर पारेर दृष्टिले एकजना कूटनीतिक विज्ञ डा. दिनेश भट्टराईसँग संवाद गरेको छ । पूर्व प्रधानमन्त्रीहरू शेरबहादुर देउवा र सुशील कोइरालाको परराष्ट्र मामिला सल्लाहकार भइसकेका भट्टराईसँग कूटनीतिक क्षेत्रमा काम गरेको लामो अनुभव छ । उनै पराराष्ट्र मामिलाविज्ञसँग दृष्टि प्रतिनिधि हिरेन्द्र शाहीले गरेको संवादको सम्पादित अंश :

बदलिँदो विश्वको भूराजनीतिक अवस्थामा नेपाल–भारत सम्बन्धलाई कसरी बुझ्ने ?
विश्वको शक्ति पश्चिमबाट एसियातिर सर्दै छ । यसका दुई प्रमुख केन्द्र चीन र भारत हुन् । चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र र विश्वको कारखानाका रूपमा स्थापित भइसकेको छ । भारत सबैभन्दा ठूलो जनसंख्या भएको लोकतान्त्रिक मुलुक र विशाल बजार हो । दुवै देशको राजनीतिक व्यवस्था फरक भए पनि आर्थिक विकासको गति तीव्र छ ।

सन् १९७८–७९ तिर चीनले सुधार र खुलापनको नीति लिँदा भारत र चीन लगभग समान आर्थिक अवस्थामा थिए । प्रविधिलगायत कतिपय क्षेत्रमा भारत अगाडि नै थियो । तर त्यसपछि चीनले विकासमा ठूलो फड्को मार्यो । सन् २००१ मा विश्व व्यापार संगठनको सदस्य बन्दा चीनको कुल गार्हस्थ्य उत्पादन करिब १.३ ट्रिलियन डलर थियो । अहिले त्यो २० ट्रिलियन डलर पुगेको छ । करिब दुई दशकसम्म चीनले दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्यो ।

भारतले पनि उल्लेख्य प्रगति गरेको छ । चीनले गरिबीको रेखामुनि रहेका धेरै मानिसलाई माथि उठाएको छ । अहिले विश्वकै तीव्रगतिमा आर्थिक वृद्धि गरिरहेका मुलुकमध्ये भारत पर्छ । अर्थतन्त्रको आकारका हिसाबले चौथो वा पाँचौँ स्थानमा रहेको भन्ने फरकफरक विवरण पनि सार्वजनिक भइरहेका छन् ।

चीनको विश्वव्यापी महत्वाकांक्षा छ भने भारतको दक्षिण एसियामा आफ्नो प्रभाव र अग्रणी भूमिका कायम राख्ने चाहना छ । तर दक्षिण एसियामा चीनको आर्थिक तथा कूटनीतिक उपस्थिति बढिरहेको छ । त्यसैले यी दुई मुलुकबीच प्रतिस्पर्धा पनि छ ।

रोचक के छ भने, भारत र चीनबीचको आर्थिक कारोबार निकै ठूलो छ । एक सय अर्ब डलरभन्दा बढीको व्यापार छ । भारतले चीनसँग ठूलो व्यापार घाटा पनि व्यहोर्दै आएको छ । तर उनीहरूबीचको घनिष्ठ आर्थिक सम्बन्ध कूटनीतिक र राजनीतिक सम्बन्धमा प्रतिविम्बित हुनसकेको छैन । सीमा विवाद र प्रतिस्पर्धा कायमै छ । सन् २०२० को गलवान घटनाले त्यसलाई फेरि उजागर गर्यो ।

यी दुई शक्तिराष्ट्रको बीचमा रहेको नेपालका लागि भूराजनीतिक अर्थ के हो ?
हाम्रा दुवै छिमेकी अहिले विश्व राजनीतिका महत्त्वपूर्ण शक्ति केन्द्र हुन् । एउटा दक्षिणमा छ, अर्को उत्तरमा । विश्वका शक्तिराष्ट्रको ध्यान उनीहरूमाथि केन्द्रित छ । त्यसैले हामी पनि उनीहरूको रणनीतिक चासो राडारमा परिसकेका छौँ ।

सन् २००० को दशकको भारत र अहिलेको भारत एउटै छैन । चीन पनि आर्थिक रूपमा निकै परिवर्तन भइसकेको छ । नेपाल पनि परिवर्तन भएको छ । तीनवटै मुलुकको राजनीतिक, आर्थिक र भूराजनीतिक परिवेश बदलिएको छ ।

यस्तो अवस्थामा नेपालको भारतसँगको सम्बन्ध सर्वाधिक महत्वपूर्ण छ । यो सरकारबीचको सम्बन्धमा मात्र सीमित छैन । जनस्तरको सम्बन्ध, खुला सीमा, धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्बन्धले यसलाई बहुआयामिक बनाएको छ । भारतका तीर्थस्थल नेपालीका लागि महत्त्वपूर्ण छन् भने पशुपतिनाथ, मुक्तिनाथ र जनकपुरधाम भारतीयका लागि पनि उत्तिकै आस्थाका केन्द्र हुन् । हामी सांस्कृतिक, धार्मिक, राजनीतिक र भौगोलिक रूपमा गहिरोसँग जोडिएका छौँ ।

प्रधानमन्त्री वालेन्द्र शाहको पहिलो भारत भ्रमणलाई यही परिवेशमा कसरी हेर्नुभएको छ ?
यो अत्यन्त महत्त्वपूर्ण भ्रमण हो । प्रधानमन्त्री शाह ३६ वर्षका युवानेता हुनुहुन्छ । जेनजी विद्रोह र त्यसपछिको राजनीतिक परिवर्तनबाट दुईतिहाइ नजिकको सरकारको नेतृत्वमा पुग्नुभएको छ । अर्कोतिर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी उमेर पाका हुनुहुन्छ र लामो समयदेखि सरकारको नेतृत्व गरिरहनुभएको छ । उहाँले विश्वका धेरै राष्ट्रप्रमुख र सरकार प्रमुखसँग काम गरिसक्नुभएको छ ।

हाम्रा प्रधानमन्त्रीले काठमाडौँ महानगरपालिकाको नेतृत्व गर्नुभएको हो । तर उहाँको राष्ट्रिय र अन्तर्राष्ट्रिय दृष्टिकोण के हो भन्ने कुरा हामीले अझै पर्याप्त रूपमा बुझ्न पाएका छैनौँ । प्रधानमन्त्री भएपछि राष्ट्रका नाममा सम्बोधन गरेर आफ्नो सरकारको नीति र प्राथमिकता स्पष्ट पार्ने परम्परा पनि छ । त्यो हामीले सुन्न पाएका छैनौँ । त्यसैले उहाँको वास्तविक दृष्टिकोण के हो भन्ने कुरा अहिले नै भन्न सकिने अवस्था छैन ।

भारतसँगको भ्रमणमा प्रधानमन्त्रीले आफ्नो दृष्टिकोण र प्राथमिकता स्पष्ट पार्न सक्नुभयो भने त्यसबाट धेरै कुरा बुझ्न सकिन्छ । उहाँको भ्रमण सफल होस् भन्ने हाम्रो चाहना हो । प्रधानमन्त्रीको बोली राष्ट्रको बोली हो । उहाँले व्यक्त गर्ने विचारमा शक्ति, तौल र प्रभाव हुनुपर्छ । उहाँको बोलीमा तीन करोड नेपालीको आवाज प्रतिविम्बित हुन्छ ।

ऊर्जा, कनेक्टिभिटी, पूर्वाधार, आर्थिक सहयोग र विपद्पछिको पुनर्निर्माणजस्ता विषयमा छलफल हुने अपेक्षा छ । विगतमा सहमति भएका तर कार्यान्वयन नभएका परियोजनाहरू पनि छन् । त्यसैले प्रतिबद्धताभन्दा कार्यान्वयन महत्त्वपूर्ण हुन्छ ।

नेपालले लामो समयदेखि माग्दै आएको हवाईमार्गको विषयमा भारत किन सकारात्मक हुनसकेको छैन, बागडोरा एयरपोर्टको प्रसंग के हो ?
भारतले सुरक्षाको कारण देखाउँदै आएको छ । हामीले भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाएका छौँ । थप हवाईमार्ग पाउन सक्यौँ भने नेपालको क्षेत्रीय र अन्तर्राष्ट्रिय हवाई सञ्जाल विस्तार हुन्छ । अहिले जहाजहरू मुख्यतः सिमरा रुटबाट आइरहेका छन् । महेन्द्रनगर हुँदै थप हवाईमार्ग उपलब्ध भयो भने भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय उडान सहज हुन सक्छन् ।

भारतले नेपालको प्रस्तावलाई आफ्नो सुरक्षा चासोसँग जोडेर हेरेको छ । चीनको संलग्नतालाई पनि उसले संवेदनशील रूपमा लिने गरेको छ । अहिले केही सकारात्मक संकेत देखिए पनि निर्णय कार्यान्वयन नभएसम्म विश्वास गर्ने आधार हुँदैन । विगतमा पनि प्रतिबद्धता व्यक्त भएका छन्, तर कार्यान्वयनमा गएका छैनन् । बागडोगराको प्रसंग पनि यही सुरक्षा संवेदनशीलतासँग जोडिएको हुनसक्छ । त्यो भारतको ‘चिकेन नेक’ भनिने अत्यन्त संवेदनशील भौगोलिक क्षेत्रमा पर्छ । कुखुराको घाँटीजस्तै साँघुरो र रणनीतिक रूपमा कमजोर भूभाग भएकाले भारत त्यसलाई निकै संवेदनशील रूपमा हेर्छ ।

जलविद्युत्मा तेस्रो मुलुकको संलग्नतालाई भारतले स्वीकार नगर्दा नेपालको विकासमा अवरोध देखिएको छ, यसलाई कसरी सम्बोधन गर्ने ?
नेपालको भौगोलिक अवस्थालाई हामीले स्वीकार गर्नुपर्छ । उत्तरतिर हिमाल छ । त्यहाँका नाकाहरू वर्षभरि सहज रूपमा खुला हुँदैनन् । हाम्रो सबैभन्दा सजिलो, छिटो र सुरक्षित पारवहन मार्ग दक्षिणतिर हो । हाम्रा नदीहरू पनि दक्षिणतिरै बग्छन् । त्यसैले नेपालको भूगोल दक्षिणमुखी छ । भारतसँगको सम्बन्ध राम्रो राख्नुपर्छ । भारतलाई विश्वासमा लिनुपर्छ । छिमेकीको सुरक्षा चासोलाई हामीले सम्बोधन गर्नुपर्छ । तर सुरक्षा चासो र निहित स्वार्थ फरक कुरा हुन् । वैध सुरक्षा चासोलाई सम्बोधन गर्नु हाम्रो दायित्व हो ।

नेपाल र भारतबीचको सुरक्षा सम्बन्ध अनुकरणीय छ । दुवै देशबीच अनौपचारिक समझदारीमा पनि विभिन्न विषयमा सहयोग हुँदै आएको छ । तर, भारतको सुरक्षा चासोमात्र होइन, नेपालको सुरक्षा चासोलाई पनि उसले उत्तिकै महत्त्व दिनुपर्छ ।

हामी दुई सार्वभौम मुलुक हौँ । भारत हामीभन्दा ५०–६० गुणा ठूलो होला, तर त्यसले नेपालको सार्वभौमिकताको महत्व घटाउँदैन । हामीले उनीहरूको संवेदनशीलतालाई सम्मान गर्नुपर्छ र उनीहरूबाट पनि हाम्रो संवेदनशीलताको पूर्ण सम्मान अपेक्षा गर्नुपर्छ । यही पारस्परिक सम्मान र पारस्परिक हितको आधारमा सम्बन्ध अघि बढ्नुपर्छ ।

नेपालले भारतलाई बुझ्न नसकेको हो कि भारतले नेपाललाई बुझ्न नचाहेको हो ?
छिमेकी हुँदैमा हामीले छिमेकीलाई पूर्ण रूपमा बुझेका हुन्छौँ भन्ने हुँदैन । हामीले भारतलाई पनि राम्ररी बुझ्न सकेका छैनौँ, चीनलाई पनि पर्याप्त रूपमा बुझेका छैनौँ । भारतसँगको सम्बन्धलाई एउटै सरकार वा एउटा संस्थाका रूपमा मात्र बुझ्नु हुँदैन । त्यहाँ सरकारी तह छ, जनस्तरको सम्बन्ध छ, व्यापारी समुदाय छ, सुरक्षा निकाय छन् । यी सबैका आआफ्ना स्वार्थ र संवेदनशीलता छन् । भारतमा सरकारबाट नाकाबन्दी हुँदा पनि भारतीय जनताको एउटा हिस्साबाट नेपालले सहयोग र सद्भाव पाएको थियो । त्यसलाई बिर्सनु हुँदैन । नेपाल र भारतबीचको रोटीबेटीको सम्बन्ध पनि छ । त्यो सम्बन्ध मधेसमा मात्र सीमित छैन, पहाडमा पनि छ । सारमा, हामीले भारतलाई विश्वासमा लिन सक्नुपर्छ । हाम्रो सार्वभौमिकता, स्वतन्त्रता र भौगोलिक अखण्डतामा सम्झौता नगरी उसका वैध चासोलाई सम्बोधन गर्न तयार छौँ भन्ने स्पष्ट सन्देश दिनुपर्छ ।

प्रधानमन्त्रीको भारत भ्रमणमा देखिएको औपचारिकता र प्रोटोकलबारे पनि प्रश्न उठेका छन् । कूटनीतिमा यसको कति महत्त्व हुन्छ ?
प्रोटोकल डिप्लोमेसी भनेको शैली पनि हो र सारवस्तु पनि हो । प्रधानमन्त्रीको भ्रमणमा औपचारिकता कम गरिएको देखिन्छ । त्यसलाई पूर्ण रूपमा गलत भन्न मिल्दैन । लामो र भड्किलो प्रोटोकललाई सरल बनाउनु ठिकै हो । तर प्रधानमन्त्री एउटा सार्वभौम राष्ट्रको नेता हो । औपचारिक वैदेशिक भ्रमणमा जाँदा प्रोटोकल पालना गरेकै राम्रो मानिन्छ । विदेशमा रहँदा उहाँले उच्चस्तरको सम्मान पाउनुपर्छ । उहाँलाई गरिएको सम्मान समस्त नेपाली जनताको सम्मान हो ।

कूटनीतिमा शैली, औपचारिकता र प्रतीकहरूको पनि अर्थ हुन्छ । त्यसबाट सम्बन्धको अवस्थाबारे धेरै कुरा बुझ्न सकिन्छ । तर हामीले बाहिर गएर के भन्छौँ भन्नेमात्र होइन, आफ्नै देशभित्र के गर्छौँ भन्ने कुराले पनि हाम्रो कूटनीतिक प्रभाव निर्धारण गर्छ ।

दुवै देशका प्रबुद्ध व्यक्तिहरूले तयार पारेको ईपीजी प्रतिवेदन आठ वर्षदेखि अलपत्र छ । यसको सान्दर्भिकता सकिएको हो ?
ईपीजी अर्थात् प्रबुद्ध व्यक्ति समूह दुवै सरकारको सहमतिमा गठन भएको थियो । दुवै देशले चार–चार जना प्रबुद्ध सदस्य मनोनयन गरेका थिए । दुई वर्ष लगाएर तयार गरिएको प्रतिवेदन सन् २०१८ मा भारतका प्रधानमन्त्रीलाई बुझाउनेगरी तयार भयो । तर आठ वर्ष बितिसक्दा पनि त्यो बुझ्ने र कार्यान्वयन गर्ने प्रक्रिया अघि बढेको छैन । यसको मुख्य उद्देश्य सन् १९५० को सन्धिलाई समयानुकूल बनाउनु थियो । त्यो सन्धि अर्कै राजनीतिक र ऐतिहासिक परिवेशमा भएको थियो । त्यसैले बदलिँदो परिस्थितिअनुसार पुनरावलोकन र परिमार्जन गर्नुपर्छ भन्ने नेपालको प्रस्ताव थियो ।

भारतले प्रतिवेदन बुझ्न अनिच्छा देखाउनुको कारण के हो भन्ने एकिन गर्न सकिँदैन । तर सन् १९५० को सन्धिलाई छुन नचाहेको हो कि भन्ने आशंका छ । भारतका एक पूर्वविदेश राज्यमन्त्रीले उक्त सन्धिलाई भारत–नेपाल सम्बन्धको ‘मोनुमेन्टल एभिडेन्स’ भनेका थिए । त्यस अभिव्यक्तिलाई पनि हामीले अर्थपूर्ण रूपमा बुझ्नुपर्छ । प्रतिवेदन सार्वजनिक भएको छैन । नेपालतर्फको प्रतिवेदन परराष्ट्र मन्त्रालयमा सुरक्षित राखिएको छ । सार्वजनिक नभई त्यसमा के छ भनेर नहेरी निष्कर्ष निकाल्नु उचित हुँदैन ।

सन् १९५० को सन्धि नेपालको सार्वभौमिकतासँग पनि जोडिन्छ । यसलाई कसरी हेर्नुहुन्छ ?
यो सन्धि नेपाल–भारत सम्बन्धको एउटा जटिल विषय हो । यसलाई पूर्ण रूपमा खारेज गर्न पनि सकिएको छैन, परिमार्जन गर्न पनि सकिएको छैन । एकपटक हामीले यसलाई काँडाका रूपमा व्याख्या गरेका थियौँ । भारततर्फबाट त्यसको जवाफमा काँडा हो भने निकालेर फालिदिए भइहाल्यो नि भन्ने आशयको कुरा आएको थियो । तर व्यवहारमा त्यो त्यति सजिलो छैन । यस सन्दर्भमा सन् १९८९ को नाकाबन्दीको प्रसंग सम्झनुपर्छ । नेपालले चीनबाट केही हतियार खरिद गर्दा भारतले आपत्ति जनाएको थियो । त्यसबेला सन् १९६५ को एउटा सम्झौताको प्रावधान देखाएर नेपालले हतियार खरिद गर्दा भारतसँग समन्वय र परामर्श गर्नुपर्ने तर्क गरिएको थियो ।

तर अन्तरिम प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले भारत भ्रमणका क्रममा नेपाल सार्वभौम मुलुक भएकाले जहाँ सस्तो र उपयुक्त हुन्छ, त्यहीँबाट हतियार खरिद गर्ने जवाफ दिनुभएको थियो । उहाँले पञ्चायतकालीन सरकारको निर्णय भए पनि राज्यको निर्णयको बचाउ गर्नुभयो । यसबाट एउटा महत्त्वपूर्ण पाठ सिक्नुपर्छ– सरकार परिवर्तन हुन्छ, तर राज्य एउटा निरन्तर संस्था हो । राज्यको हित र निर्णयको रक्षा गर्नुपर्छ ।

लिपुलेक, कालापानी, लिम्पियाधुरा र सुस्ताजस्ता सीमा विवाद समाधानको बाटो के हो ?
कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपालको भूभाग हुन् । भारतले कोभिड महामारीका बेला आफ्नो नक्सामा नेपाली भूभाग समेटेर चीनको सीमासम्म जाने सडक निर्माण गर्यो । त्यसपछि नेपालले विरोध जनायो । हामीले धेरै पत्र लेख्यौँ, तर जवाफ पाएनौँ । भारतले कोभिडपछि वार्ता गर्न नसकिने भन्दै सार्वजनिक वक्तव्यसमेत दिएको थियो ।

सन् २०१५ मा भारतीय प्रधानमन्त्री चीन भ्रमणमा जाँदा लिपुलेकलाई व्यापारिक नाकाका रूपमा उल्लेख गरिएको थियो । त्यसबेला प्रधानमन्त्री सुशील कोइरालाले भारतीय प्रधानमन्त्रीलाई टेलिफोन गरेर नेपालको असहमति स्पष्ट पार्नुभएको थियो । नेपालले विरोधपत्र पनि पठाएको थियो । म त्यतिबेला प्रधानमन्त्रीसँगै थिएँ । हामीले आफ्नो भूभागमाथिको दाबी छोड्नु हुँदैन । एकपटक दाबी छोडियो भने अर्को पक्षले पहिले तिमीहरूले नै दाबी गरेका थिएनौँ भन्न सक्छ । त्यसैले भौगोलिक अखण्डताको विषयमा स्पष्ट रहनुपर्छ ।

तर, सीमा विवाद एकै दिन वा एउटा बैठकमा समाधान हुँदैन । कम्तीमा भारतले सीमा समस्या छ भन्ने स्वीकार गरेर वार्तामा बस्नुपर्छ । हामी प्रमाण र ऐतिहासिक दस्तावेजका आधारमा छलफल गर्न तयार हुनुपर्छ । भारतले अहिले सीमा समस्याको विषय नै उठाउन नचाहनु दुःखद् हो । यहीँ परिवेशमा हाम्रो प्रधानमन्त्रीले संसद्मा नेपालले पनि भारतको सीमा मिचेको छ भनेर बोल्नुभयो, यसले सीमा समस्याका बारेमा उनीहरूलाई पनि बलियो बनाएको छ ।

भारतको ‘नेबरहुड फस्र्ट’ नीतिले छिमेकी मुलुकसँगको सम्बन्ध सुधार्न सकेको देखिँदैन । यसको प्रभावकारितालाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
भारतले नेपाललाई आफ्नो ‘नेबरहुड फस्र्ट’ नीतिअन्तर्गत प्राथमिकताको साझेदार भन्दै आएको छ । तर यो नीति नयाँ होइन । प्रधानमन्त्री गुजरालका पालामा पनि छिमेकीसँग सम्बन्ध सुधार्ने दृष्टिकोण थियो । त्यसअघि नेहरू डक्ट्रिनले हिमालयलाई भारतको सुरक्षाको सीमाका रूपमा व्याख्या गरेको थियो । त्यसको प्रतिवाद नेपालका तत्कालीन प्रधानमन्त्री बीपी कोइरालाले गर्नुभएको थियो ।

अहिले पनि भारतले हिमालयको अखण्डता र गंगाको पवित्रताको कुरा गर्छ । यी अभिव्यक्तिको अर्थ र रणनीतिक सन्देश हामीले बुझ्न सक्नुपर्छ । भारतको सुरक्षा चासो अहिले अझ बढेको छ । जलविद्युत्मा तेस्रो मुलुकको लगानीबाट उत्पादित ऊर्जा नकिन्ने उसको नीतिलाई पनि त्यही संवेदनशीलताको सन्दर्भमा हेर्नुपर्छ ।

तर सुरक्षा चासो सम्बोधन गर्ने नाममा नेपालको सार्वभौमिकता, स्वतन्त्रता र भौगोलिक अखण्डतामा सम्झौता गर्न सकिँदैन । हाम्रो विदेश नीतिको केन्द्रमा जनता हुनुपर्छ । विदेश नीतिको मुख्य उद्देश्य जनताको जीवनस्तर उठाउनु हो । जनतालाई आर्थिक रूपमा बलियो, सचेत, स्वस्थ र शिक्षित बनाउन सकियो भने देश आफैँ बलियो हुन्छ । हाम्रा नेता र राज्यका संस्थाहरू पनि बलिया हुन्छन् । त्यसैले हाम्रो कूटनीतिक प्रयासको अन्तिम लक्ष्य जनताको जीवनस्तर सुधार्नु हुनुपर्छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000