
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा पूर्व सभापति शेरबहादुर देउवा समूहलाई कारबाही गर्नुपर्ने माग उठेको छ ।
पार्टीको वैधानिक महाधिवेशनको विपक्षमा उभिने र देउवा पक्षले आयोजना गर्ने महाधिवेशनमा सक्रिय हुने जनप्रतिनिधिलाई कारबाही गर्नुपर्ने माग उठेको हो ।
मंगलबारदेखि जारी कांग्रेस केन्द्रीय समिति बैठकमा बुधबार धारणा राख्दै केन्द्रीय सदस्य बलदेव तिमिल्सिनाले पार्टीको विधि र प्रक्रियाविपरीत गतिविधिमा संलग्न जनप्रतिनिधिलाई अनुशासनको कारबाही गर्नुपर्ने बताएका हुन् ।
पार्टीको टिकट, झण्डा र कार्यकर्ताको समर्थनमा निर्वाचित भएर पार्टीकै वैधानिक गतिविधिको विरोध गर्ने प्रवृत्ति स्वीकार्य नहुने उनको तर्क छ । यस्ता जनप्रतिनिधिको तथ्यगत छानबिन गरी विधानअनुसार कारबाही गर्न र आवश्यक प्रक्रिया पूरा गरेर निर्वाचन आयोगमार्फत पदमुक्त गर्नसमेत उनले माग गरेका छन् ।
यसअघि बैठकमा सभापति गगन थापाले पनि देउवा पक्षले गर्ने महाधिवेशनमा सहभागी हुने जनप्रतिनिधिलाई हटाउने संकेत गरेका थिए । त्यसपछि केन्द्रीय समितिमा उठेको यो मागले कांग्रेसभित्रको महाधिवेशन विवाद अब अनुशासन र पदको विषयमा समेत प्रवेश गरेको देखिएको छ ।
बैठकमा पार्टी संगठनलाई सक्रिय बनाउने विषयमा पनि तिमिल्सिनाले जोड दिएका छन् । नेविसंघ, तरुण दल, महिला संघ, किसान महासंघ, ट्रेड युनियन, दलित संघ तथा लोकतान्त्रिक खेलकुद संघलगायत भ्रातृ र शुभेच्छुक संस्थाको अधिवेशन तीनदेखि छ महिनाभित्र सम्पन्न गर्ने कार्यतालिका बनाउनुपर्ने उनको प्रस्ताव छ ।
त्यस्तै, बाढी प्रभावित परिवारलाई राहत, सुरक्षित आवास, शिक्षा, स्वास्थ्य र जीविकोपार्जनको व्यवस्था सुनिश्चित गर्न सरकारमाथि दबाब सिर्जना गर्नुपर्ने उनले बताएका छन् ।
सरकारका स्वेच्छाचारी गतिविधि, भ्रष्टाचार तथा राष्ट्रिय हित र कूटनीतिक मर्यादाविपरीतका गतिविधिमाथि पार्टीले स्पष्ट धारणा बनाएर संसद् र सडक दुवैबाट खबरदारी गर्नुपर्ने तिमिल्सिनाको भनाइ छ ।
महाधिवेशनको विवाद अब कांग्रेसभित्र नेतृत्वको प्रतिस्पर्धामात्र नभई जनप्रतिनिधिको पद, पार्टी अनुशासन र संगठनात्मक वैधताको संघर्षका रूपमा समेत अघि बढ्ने संकेत देखिएको छ ।


















