काठमाडौं । काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रुपैयाँभन्दा बढी रकमसहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बुधवार दिउँसो करिब १ बजे काठमाडौं महानगरपालिका-१७ ठमेलस्थित स्नो लाइन होटलमा अवैध रूपमा स्रोत नखुलेको रकम लुकाइछिपाइ राखिएको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो ।

प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले जाँच गर्दा ५० लाख ५० हजार रुपैयाँ नेपाली मुद्रा, ४ हजार २१५ ओमानी रियाल र ५५ अरब दिराम फेला पारेको जनाएको छ । पक्राउ पर्नेमा चितवन घर भई काठमाडौंको ठमेल बस्ने २० वर्षीया स्नेहा रिमाल र माल्दिभ्सका नागरिक युगीथ इब्राहिम रहेका छन् ।
बरामद रकम र विदेशी मुद्राको स्रोत खुल्न नसकेपछि दुवै जनालाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।


















