काठमाडौं । पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन् । मलेसिया जाने नेपाली श्रमिकमाथि भएको ठगी प्रकरणमा अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएका अर्याललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनी कहाँबाट पक्राउ परेका हुन् भन्ने खुलाइएको छैन । यद्यपि उनलाई भारतको कलकत्ताबाट पक्राउ गरिएको समाचारहरू बाहिरिएको छ । अर्यालविरुद्ध मलेसिया जाने श्रमिकबाट गैरकानुनी रूपमा रकम असुली गरी विदेश पठाउने निर्णय प्रक्रियामा संलग्न रहेको आरोपमा जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिइएको थियो ।
अर्याल मुख्यसचिव बन्नुअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिवका रूपमा कार्यरत थिए । उनी मन्त्रालयको सचिव हुँदा भएको भनिएको निर्णय प्रक्रियामा उनको संलग्नता रहेको आरोपमा अनुसन्धान अघि बढाइएको हो ।
अर्याल २०८१ भदौमा मुख्यसचिव नियुक्त भएका थिए । त्यसअघि उनले गृहसचिवको जिम्मेवारी सम्हालेका थिए । मुख्यसचिवका रूपमा करिब १५ महिना काम गरेपछि २०८२ मङ्सिरमा उमेर हदका कारण अनिवार्य अवकाश पाएका थिए ।
मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणका नाममा अतिरिक्त शुल्क असुली गर्ने प्रणालीलाई निरन्तरता दिन सरकारी अधिकारीहरूले सहजीकरण गरेको आरोपमा अनुसन्धान भइरहेको छ ।


















