Logo
Logo

चीन भ्रमणबारे रविलाई महामन्त्री आचार्यको ब्रिफिङ


0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिन कुमार आचार्यले चीन भ्रमणबारे पार्टी सभापति रवि लामिछानेलाई ब्रिफिङ गरेका छन् । नोभेम्बर १५ देखि चीनका विभिन्न प्रान्त तथा सहर (सिचुवान, चच्याङ र बेइजिङ) को भ्रमण गरी महामन्त्री आचार्य नेतृत्वको २० सदस्यीय टोली बिहीबार नेपाल फर्किएको थियो ।

उक्त टोलीले नेपाल फर्किएको भोलिपल्टै सभापति लामिछानेलाई चीन भ्रमणबारे ब्रिफिङ गरेका हुन् । ब्रिफिङमा मुख्य राजनीतिक विषयमा चिनियाँ कम्युनिष्ट पार्टीका नेता ली शुलेईसँग भएको लामो तथा उच्चस्तरीय भेटवार्ताबारे आचार्यले विशेष जानकारी गराएको रास्वपाले जनाएको छ ।

साथै केन्द्रीय तहदेखि काउन्टीसम्मका अन्य नेताहरूसँगको संवादमा दुई पार्टीबीचको बहुआयामिक सम्बन्ध, आपसी राजनीतिक विश्वास अभिवृद्धि, नीतिगत तथा सांगठनिक अनुभव आदानप्रदान र सुशासन एवं विकासका सन्दर्भमा अन्तर–पार्टी सहकार्यलाई सुदृढ बनाउने विषयमा पनि गहन राजनीतिक छलफल भएको उनले बताए ।

भ्रमणका क्रममा विभिन्न उद्योग–व्यवसायको अवलोकन तथा अन्तरक्रियाका साथै विपद्पूर्व र विपद्पश्चात्को रणनीति एवं तयारीबारे गरिएको अवलोकन र छलफलबारे पनि महामन्त्रीले सभापतिलाई जानकारी गराए । भेटघाटका क्रममा नेपाल–चीन द्विपक्षीय सहकार्यका सम्भावनाहरूबारे खुलेर संवाद भएको समेत उनले बताए ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000