Logo
Logo

फूलबुट्टे सारी मेरो टर्निङप्वाइन्ट बन्यो- मिलन नेवार, गायिका


- दृष्टि न्युज/संवाददाता


हिजोआज सांगीतिक बजारमा ‘फूलबुट्टृ सारी’ चर्चित छ । गायिका मिलन नेवारले गाएको ‘फूलबट्टे सारीमा’ गीत सामाजिक सञ्जाल ‘टिकटक’लगायतमा भाइरल बनेको छ । छोटो समयमै यु–ट्युबमा करोड क्लवमा प्रवेश गर्ने सम्भवतः यो पहिलो नेपाली गीत हो । महिना दिनमै ‘फूलबुट्टे सारीमा’को भिडियोलाई यु–ट्युबमा एक करोड, ८६ लाख ३३ हजार बढीले हेरिसकेका छन् । यो गीत गायिका मिलनका लागि पनि ‘टर्निङ प्वाइन्ट’ सावित भएको छ । गीत लोकप्रियता भएसँगै मिलनले आफूलाई ‘मिलन नेवार’का रुपमा स्थापित गर्दैछन् । हालसम्म उनी अमात्यकै रुपमा चिनिन्छिन् । तर, उनी मिलन नेवारका रुपमा चिनिन चाहन्छिन् । मिलन नेवार भन्छिन्, ‘केही समययता आफ्नै पहिचान बनाउन चाहिरहेकी छु । मेरो पहिचान भनेको मिलन नेवार हो । यो प्रयासमा फूलबुट्टे सारीले प्लस गरेको छ ।’ करिब १२ वर्षअघि राजनराज सिवाकोटीले सिर्जना गरेको ‘फूलबुट्टे सारीमा’ अहिले आएर फिमेल भर्सनमा मिलनले गाएकी हुन् । ‘फूलबुट्टे सारीमा’ अहिले चाइल्ड भर्सनमा समेत आइसकेको छ । ‘फूलबुट्टे सारी’की गायिका मिलन नेवारसँग एमपी सुब्बाको जम्काभेट :

‘फूलबुट्टृ सारी’ले चर्चामा हुनुहुन्छ, कस्तो लागिरहेको छ ?

यो श्रोता÷दर्शकको म प्रतिको माया हो । अर्को अर्थमा भन्नुपर्दा मेरो संगीतप्रति निरन्तरताको प्रतिफल पनि हो ।

यो गीत कसरी तपाइँसम्म आइपुग्यो ?

यो गीत १२ वर्षअघि नै राजनराज सिवाकोटीले सिर्जना गर्नुभएको थियो । त्यसबेला मार्मिक लामाले गाउनुभएको थियो । त्यसपछि प्रतिक गुरुङले कभर सङ्स गर्नुभएको थियो । फिमेल भर्सनमा अहिले मैले गाएकी छु । भनिन्छ नि, १२ वर्षमा खोला पनि फर्कँन्छ ।

अहिले आएर ‘फूलबुट्टे सारी’ किन रुचाइयोजस्तो लाग्छ ?

सिर्जनाको पनि समय आउनुपर्ने रहेछ । १२ वर्षअघि सायद यो गीतको समय थिएन । नत्र त्यतिखेरै ‘फूलबुट्टे सारी’ सुपरडुपर हुने थियो । अहिले आएर यो गीत छोटो समयमै यु–ट्युबमा करोड क्लवमा प्रवेश गर्ने गीत सावित भएको छ ।

यो गीतमा खाश के छ ?

अहिलेका जेनेरेशनले सिम्प्ली मन पराउँछन् । ‘फूलबुट्टे सारी’ जति सिम्प्ली छ, त्यति नै भावनात्मक पनि । शब्दमा सरलता छ । गीतको भावअनुसार गितारिस्ट सञ्जिव बराइलीको संगीत संयोजन छ । मैले पनि शतप्रतिशत दिने प्रयास गरेकी छु । भिडियो मेकिङ, कलाकारको अभिनय सबै कुराले परिपूरक भएकाले पनि रुचाइयो जस्तो लाग्छ ।

गीतले उचाइ लिइरहेकै बेला ‘चाइल्ड भर्सन’ ल्याइएको छ । यसले ‘फिमेल भर्सन’लाई असर गर्दैन ?

सुरुमा मेल, त्यसपछि फिमेल भर्सनमा ल्याइएको गीत हो । एउटा सिर्जनालाई विभिन्न तरिकाले प्रस्तुत गर्न सकिन्छ भन्ने उद्देश्यले पछिल्लो समय चाइल्ड भर्सनमा ल्याइएको हो । यसमा कुनले कसलाई असर गर्छ भन्दा पनि यो गीतमा आ–आफ्नै जनरा छ । र, हरेक जनराका लागि तयार गरिएको हो ।

‘फूलबुट्टे सारी’ले तपाइँको सांगीतिक करिअरमा अर्को टर्निङ प्वाइन्ट ल्याएको हो ?

अवश्य पनि । म भाग्यमानी छु । आफूलाई मिलन नेवारको रुपमा चिनाउने प्रयास गरिरहेकी बेला यो गीत प्लस प्वोइन्ट भएको छ । यसअघि पनि हिट गीतहरु दिँदै आएकी हुँ । त्यो बेला मिलन अमात्य भनेर चिनिन्थे । तर, अब मेरो पहिचान भनेको मिलन नेवार हो ।

अन्य के गर्दैै हुनुहुन्छ ?

रेकर्डिङहरु गर्दैछु । कोरोना महामारीपछि भर्खरै सामान्य अवस्थामा आउँदैछ । कार्यक्रमहरुका लागि पनि अफरहरु आउन थालेको छ । कोरोना संक्रमणको त्रास कायमै रहेकाले विदेशबाट भने कार्यक्रममा लागि अफर आएको छैन । नेपालमा चाहिँ कन्सर्टहरु गर्न सुरु भएको छ । साथै, ‘फूलबुट्टे सारी–२’को पनि तयारी हुँदैछ ।

सिंगल हुनुहुन्छ । जीवनलाई कसरी अगाडि बढाउने सोचमा हुनुहुन्छ ?

मलाई गीतसंगीतमै चुनौती थपिएको छ । त्यसैले अझै धेरै गर्नुछ । केही वर्ष गीतसंगीतलाई निरन्तरता दिनेछु । नीजि जीवनको बारे भन्नुपर्दा समय नै आउनुपर्छ । अहिले त्यो समय आएको छैन ।

 

 

प्रतिक्रिया दिनुहोस्