Logo
Logo

टिसर्टसँग किन डराए प्रधानमन्त्री ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १४ पुस । स्वास्थ्यको कारण देखाएर नौ महिनासम्म सिंहदरबार नपुगेका प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार धनगढी पुगे । सरकारको काममा होइन, आफु निकट पार्टीको गुटको भेलालाई सम्बोधन गर्न ।

आजभोलि जहाँपनि ओलीले भाषणमा चर्का भाषण गर्छन्, धनगढीमा नगर्ने कुरा भएन । भिम रावललाई होच्याउनेदेखि प्रचण्ड–माधव नेपाललाई गाली गर्नसम्म भ्याए । चुनावमा आफ्नो समूहले ठूलो जित हात पार्ने दाबी पनि गरे ।

भाष्णमा चर्का कुरा गर्ने प्रधानमन्त्री ओली न्यायका लागि ध्यानाकर्षण गर्ने केही युवा विद्यार्थीसँग भने डराए । कार्यक्रममा धनगढीका केही बिद्यार्थी ‘निर्मला पन्तका बलात्कारी खै ?’ लेखिएको टिसर्ट लगाएर गएका थिए । करिब ३० महिनाअघि महेन्द्रनगरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । निर्मलालाई न्याय दिन सिंगो सुदूरपश्चिम लाग्यो । तर, असफल भयो । प्रधानमन्त्री सुदुुरपश्चिम आएको बेला बिद्यार्थीले टिसर्टमार्फत ध्यानाकर्षण गर्न खोजेका थिए । उनीहरुले नारा पनि लगाएका थिएनन्, कार्यक्रमलाई कुनै अवरोध पनि गरेनन् । टिसर्ट लगाएर न्याय मागेकै आधारमा उनीहरुलाई प्रहरीले पक्राउ ग¥यो । यो घटनाले प्रधानमन्त्री ओलीको वास्तविक चरित्र थाहा हुन्छ । उनी आलोचना त के प्रश्न पनि सुन्न चाहदैनन् ।

दुई वर्षअघि निर्मलाको परिवार उनलाई भेट्न बालुवाटार पुग्दा ओलीले न्याय दिलाउने आश्वासन दिएका थिए । तर, सुदुरपश्चिम पुग्दा निर्मलालाई सम्झन पनि चाहेनन् । ताजा जनादेशका लागि चुनौती दिने ओली टिसर्टसँग समेत डराएको देखेर धनगढीका बासिन्दा समेत अचम्ममा परे ।

असक्षम गृहमन्त्री रामबहादुर थापा ‘बादल’को कारण यो घटना रहस्यमय भएको प्रहरी अधिकारी बताउँछन् । प्रहरीले घटनाको एक महिनामै अनुसन्धान सकेको थियो । स्थानीय दिलिपसिंह बिष्टले नै हत्या गरेको पुष्टि भएको थियो । तर, डिएनए म्याच नभएपछि घटनाले अर्काे मोड लियो । प्रहरी र गृह नेतृत्व भिडको आधारमा निर्देशित हुँदै गयो । आफ्ना निर्दाेष प्रहरीलाई कारबाही गरेर भिड शान्त बनाई उनीहरुले आफ्नो कुर्सी जोगाए ।

अहिलेको अनुसन्धानले पनि दिलिपनै हत्यारा भएको देखाउँछ । तर, सरकार आफ्नो गल्ती सुधार्ने हिम्मतमा छैन । सोहीकारण यो अनुसन्धान अधुरै बनेको हो । प्रधामन्त्री ओली तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले त सत्ताको मातमा यस्ता घटना बिर्सिसकेका छन् । त्यही कुरा सम्झाउन धनगढीका विद्यार्थीहरुले निर्मला पन्तका हत्यारा खोई ? भन्ने टिसर्ट लगाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्